काठमाडौं(जस)–लुम्बिनी प्रदेशमा प्रदेश प्रमुख फेरिएसँगै सरकार परिवर्तनको पहल पनि शुरु भएको छ । सोमबार विपक्षी दलहरुले संविधानको धारा १६८ (२) अनुसारको सरकार गठनको आह्वानका लागि प्रदेश प्रमुख अमिक शेरचनलाई निवेदन दिएका हुन् । निवेदनमा ४१ सांसदको हस्ताक्षर रहेको छ ।
नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी (जसपा) र राष्ट्रिय जनमोर्चाले प्रदेश प्रमुख शेरचनालाई निवेदन दिएका हुन् । उनीहरुले संबिधानको धारा १६८ (२) अनुसारको सरकार गठन आह्वानको लागि निवेदन दिएका छन् । प्रदेश सरकारले वैधता गुमाइसकेको दाबी गर्दै प्रतिपक्षी दलहरुले धारा १६८ (२) अनुसारको सरकार गठन आह्वानको लागि निवेदन दिएको बताएका छन् ।
लुम्बिनीका मुख्यमन्त्री शंकर पोखेरलले अल्पमतमा पर्दा पनि राजीनामा नदिएको भन्दै विपक्षी दलले आक्रोश पोख्दै आएका छन् । सरकारलाई साथ दिदै मन्त्री बनेका जसपाका तीन जना सांसदलाई जसपाले पार्टीबाट निस्कासन गरेपछि उनीहरुको सांसद पद खारेज भएपछि मुख्यमन्त्री पोखरेलको सरकार अल्पमतमा परेको प्रतिपक्षका दलहरुको दाबी रहेको छ । उनीहरुले हाल कायम रहेका ८० जना सांसद मध्ये एमालेसँग केबल ३८ सांसद रहेको पत्रमा उल्लेख गरेका छन् ।