स्कटल्याण्ड – गैरआवासीय नेपाली संघका महासचिव हेमराज शर्माले एनसीसी यूके अन्तर्गतको स्कटल्याण्ड राज्य समन्वय परिषदको आसन्न निर्वाचनमा अध्यक्ष पदका एक प्रत्यासीलाई निर्वाचन प्रक्रियामा नै सहभागी हुन नदिने प्रपन्च रचेको खुलासा भएको छ । अहिले शर्माले आफ्नो पदको मर्यादालाई भुलेर धेरै एनआरएनए एनसिसिमा मनोपोली गरिरहेको एनआरएनए अभियन्ताहरु संघकै पदाधिकारीहरु बताउछन ।
स्कटल्याण्ड राज्य समन्वय परिषदका अध्यक्षका प्रत्यासी काशीराम भण्डारीलाई उम्मेदवार नै बन्न नपाउने गरी नियमावली बनाउन महासचिव शर्माले स्कटल्याण्ड राज्य समिति, एनसीसी यूके अध्यक्ष, आइसीसीका केही मनोनित सदस्यहरु र निर्वाचन समितिका संयोजक तथा सदस्यहरुलाई निर्देशन दिएका हुन् ।
स्कटल्याण्ड राज्य समिति, एनआरएनए यूके निर्वाचन समिति र सम्बन्धित केही व्यक्तिहरुसँगको बैठकमा शर्माले स्कटल्याण्ड राज्यमा लोकप्रिय काशिरामलाई उम्मेदवार नै बन्न नपाउने गरी नियमावली बनाउन र आफूँ पक्षीय उम्मेदवारलाई विजयी गराउने गरी तयारी गर्न निर्देशन दिएका हुन् । महासचिव शर्माले दिएको निर्देशन सुनेका एक सहभागीले आइसीसीका महासचिव जस्तो व्यक्तिले राज्य समन्वय परिषदको निर्वाचनमा समेत अवैधरुपमा हात हालेको बताए ।
महासचिव शर्माले ‘हाल राज्य समितिमा रहेका पदाधिकारी र सदस्यहरुले मात्रै आसन्न निर्वाचनमा अध्यक्ष पदमा उम्मेदवारी दिन सक्ने’ नियमावली बनाउन निर्देशन दिएका हुन् ।
एनआरएनएको विधान विपरीत नियमावली बनाउन निर्देशन दिने शर्मालाई आइसीसीकै केही मनोनित सदस्यहरु, एनसीसी यूके अध्यक्ष पूनम गुरुङ, महासचिव फडिन्द्र भट्टराई र निर्वाचन समितिका संयोजक महेन्द्र कँडेलले पनि साथ दिएका छन् ।
एनसीसी यूके र यस अन्तर्गतका चार वटा राज्य परिषदको २०२१–२०२३ कार्यकालका लागि नेतृत्व चयन गर्न यही जुलाई ३१ मा निर्वाचन हुँदै छ । स्कटल्याण्ड राज्यमा मात्रै एनआरएनका ८ सय ६२ पञ्जीकृत सदस्य रहेका छन् ।
को हुन् काशीराम ?
नेपालको गुल्मी, खैरेनीका काशीराम भण्डारी सन् २००४ देखि स्कटल्याण्डमा बस्दै आइरहेका छन् ।
स्कटल्याण्ड पुगेदेखि नै नेपाली समाज र समुदायसँग सम्बन्धित विभिन्न सामाजिक संस्थामा सक्रिय भण्डारीसहितका सामाजिक अगुवाहरुकै पहलमा सन् २०१७ मा स्कटल्याण्डमा एनआरएनको राज्य समन्वय परिषद स्थापना भएको हो ।
स्कटल्याण्ड क्षेत्रका नेपालीहरु र नेपाली विद्यार्थीहरुको सेवामा निरन्तर सक्रिय भण्डारी सो क्षेत्रमा लोकप्रिय सामाजिक अगुवाका रुपमा परिचित छन् ।
तीन वटा रेष्टुरेन्ट र दुई वटा होटल सन्चालन गरिरहेका भण्डारीलाई सो राज्यकै प्रतिष्ठित व्यवसायीका रुपमा धेरैले चिन्ने गरेका छन् । सन् २०१५ को भूकम्प र हाल व्याप्त कोभिड महामारीका क्रममा पनि स्कटल्याण्ड क्षेत्रबाट सहयोग संकलन गरी मातृभूमिमा पीडितहरुका लागि आर्थिक सहयोग तथा राहत सामग्री उपलब्ध गराउन सक्रिय भण्डारीलाई शुभेच्छुकले एनआरएनको राज्य परिषदको अध्यक्षको उम्मेदवार बन्न दबाब दिइरहेका छन् ।
भण्डारी राज्य समन्वय परिषद स्कटल्याण्डका संस्थापक उपाध्यक्ष हुन् । संस्थाको संस्थापकलाई नै सोही संस्थाको नेतृत्वमा पुग्न बाधा पर्ने गरी नियमावली बनाउन एनआरएनए आइसीसीका महासचिव शर्माले निर्देशन दिएपछि भण्डारीले आश्चर्य व्यक्त गरेका छन् ।
‘आइसीसीका महासचिवले मेरो बारेमा यति धेरै चिन्ता र चासो राख्नु हुन्छ जस्तो लागेको थिएन’, भण्डारीले भने, ‘महासचिव जस्तो व्यक्तिले वैधानिक र नियमसंगत तरिकाले चासो व्यक्त गर्नुपर्दथ्यो ।’
अनावश्यक हस्तक्षेप र विवादास्पद क्रियाकलापका कारण महासचिव शर्मा पछिल्लो समयमा विवादमा तानिएका छन् । अमेरिकामा गत साता उत्पन्न विवाद र यूकेमा निर्वाचन समिति गठनमा देखिएको विवादमा पनि महासचिव शर्मा मुछिएका छन् । बिहीबार बसेको आइसीसी पदाधिकारीको बैठकमा त उपाध्यक्ष सोनाम लामासहित अधिकांश पदाधिकारीहरुले विधान विपरीत काम नगर्न र एनसीसीहरुमा अनावश्यक हस्तक्षेप नगर्न शर्मालाई चेतावनी दिएका थिए ।