काठमाडौं। आयोजक राष्ट्र ब्राजिल कोपा अमेरिका फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । मङ्गलबार विहान सम्पन्न सेमिफाइनल खेलमा पेरुलाई हराउँदै ब्राजिल उपाधि नजिक पुगेको हो ।
ओलम्पिक स्टेडियममा भएको खेलमा ब्राजिलले पेरुलाई १-० गोलअन्तरले हराएको हो । ब्राजिलको जीतमा लुकास पाकेटाले गरेको एकमात्र गोल नै निर्णायक बनेको थियो ।
पहिलो हाफको ३५औं मिनेटमा नेयमारको सहायतामा पाकेटाले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । त्यसपछि दोस्रो हाफमा कुनै टोलीबाट थप गोल निस्कन सकेन ।
पहिलो हाफको झिनो अग्रता अन्त्यसम्मै जोगाउन सक्दा ब्राजिल लगातार दोस्रोपटक उपाधि जित्ने अभियान पूरा गर्नबाट अब एक कदम मात्र टाढा छ ।
उपाधिका लागि ब्राजिलले अर्जेन्टिना र कोलम्बियाबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ ।