काठमाडौं, २० असार । डेनमार्क १६औं संस्करणको युरोकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । केहीबेरअघि सम्पन्न क्वाटरफाइनलमा चेक रिपब्लिकलाई २-१ गोलअन्तरले हराउँदै डेनमार्क अन्तिम चारमा प्रवेश गरेको हो ।
डेनमार्कको जीतमा थोमस डेलानी र कास्पर डोलबर्गले १-१ गोल गरे । चेक रिपब्लिकका प्याट्रिक स्किकले सान्त्वना गोल फर्काए ।
खेलको पाँचौं मिनेटमा नै डोलबर्गले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । जेन्स लार्स्सनको कर्नरबाट आएको बललाई डेलानीले हेडरमार्फत जाली चुमाएका थिए ।
४२औं मिनेटमा जोकिम माह्लको पासमा डोलबर्गले गोल गर्दै टोलीको अग्रता दोब्बर पारेपछि पहिलो हाफमै डेनमार्क २-० ले अघि रह्यो ।
दोस्रो हाफको ४९औं मिनेटमा स्किकले गोल गर्दै चेक रिपब्लिकलाई खेलमा फर्काउने प्रयास गरे । यद्यपि त्यसपछि थप गोल निस्कन सकेन र डेनमार्क २९ वर्षपछि सेमिफाइनलमा पुग्न सफल भयो ।
यसअघि डेनमार्क सन् १९९२ को युरोकपमा सेमिफाइनलमा पुगेको थियो । फाइनल प्रवेशका लागि डेनमार्कले युक्रेन र इंग्ल्यान्डबीचको विजेतासँग खेल्ने छ ।