काठमाडौ(जस)-सरकारले म्यानपावर कम्पनीहरुको अनिवार्य १०० जना कामदार पठाउनुपर्ने कानुनी प्रावधानले नविकरण हुन नसकेका ८ सय ५४ वटा म्यानपावर कम्पनी नविकरण हुने व्यवस्था गरेको छ । सोमबार राति बसेको मन्त्रिपरिषद बैठकले वैदेशिक रोजगार ऐन, २०६४ को दफा ८२ प्रयोग बाधा अड्काउ फुकाउ आदेश जारी गरी म्यानपावर कम्पनीहरुको ईजाजतपत्र नवीकरण हुने व्यवस्था गरेको हो । बैदेशिक रोजगार ऐनमा २०७५ फागुन २८ गते संशोधन गरि अनिबार्य १०० जना कामदार बैदेशिक रोजगारमा पठाउनुपर्ने प्रावधान कायम गरिएको थियो ।
नियमित प्रक्रियाबाट म्यानपावर नवीकरण गर्नको लागि वैदेशिक रोजगार विभागले सूचना प्रकाशन गरिसकेको छ जसअनुसार म्यानपावर कम्पनीले प्रत्येक वर्ष असार मसान्त भित्र नवीकरण गराउनुपर्ने व्यवस्था रहेको छ । साथै प्रत्येक महिना दश हजार शुल्क तिरेर असोज मसान्तसम्म ईजाजतपत्र नवीकरण गराउन सक्ने व्यवस्था रहेको छ । यो व्यवस्था अन्तर्गत म्यानपावर नवीकरण गराउन आर्थिक वर्ष २०७६/७७ र आर्थिक वर्ष २०७७/७८ मा गरि कुल २ सय जना श्रमिक विदेश पठाएको प्रमाणित गर्नुपर्ने व्यवस्था छ । तर कोभिड–१९ महामारीले वैदेशिक रोजगारमा देखिएको समस्याका कारण ७ सय भन्दा धेरै म्यानपावर कम्पनीहरुले २ सयको संख्या पुर्याउन सकेका थिईनन् ।
वैदेशिक रोजगार ऐनको दफा ८२ अनुसार ऐनको उदेश्य कार्यन्वयन गर्न कुनै बाधा अड्काउ परेमा नेपाल सरकारले सो बाधा अड्काउ फुकाउनको लागि नेपाल राजपत्रमा सूचना प्रकाशित गरि आवश्यक आदेश जारी गर्नसक्ने उल्लेख छ । सोहि व्यवस्था अनुसार मन्त्रिपरिषद्ले अड्काउ फुकाउ फुकाएर म्यानपावर कम्पनीको नवीकरण गर्न सहजीकरण गरिदिएको जानकारी प्राप्त गरेको नेपाल वैदेशिक रोजगार व्यवसायी संघका महासचिव सुजित श्रेष्ठले जानकारी दिए ।
वैदेशिक रोजगार ऐन २०६४ ले लगातार २ वर्षसम्म वार्षिक एक सयजना पनि कामदार पठाउन नसकेका इजाजतपत्र नवीकरण नहुने व्यवस्था गरेको छ । तर गत वर्ष पनि मन्त्रिपरिषदले बाधा अड्काउ फुकाएर १ सय जना कामदार नपठाउने म्यानपावर कम्पनीहरुको इजाजत आर्थिक वर्ष २०७८।०७९ को असारसम्मका लागि नविकरण गराउने व्यवस्था गरिदिएको थियो । तत्कालीन समयमा आर्थिक वर्ष २०७८।८९ असार सम्मका लागि नवीकरण गराउँदा २ सय जना कामदार पठाएको हुनुपर्ने सर्त राखिएको थियो । तर कोरोनाका कारण पछिल्लो १ वर्षमा पनि म्यानपावर कम्पनीले तोकिएको संख्यामा श्रमिक विदेश पठाउन नसकेपछि बाधा अड्काउ फुकाउने निर्णय गरिएको हो ।
बैदेशिक रोजगार ब्याबसायी संघका महासचिब सुजित श्रेष्ठले सरकारको यस कार्यको लागी धन्यवाद व्यक्त गर्दै बैदेशिक रोजगार ऎन नै परिमार्जन गर्नुपर्ने बताए उनले यस अभियानमा साथ दिने श्रम मन्त्रालयका पदाधिकारी, ब्याबसायी र ब्याबसायिक संघ सँस्था तथा संचारकर्मीहरुलाई धन्यवाद व्यक्त गरे सरकारले बैदेशिक रोजगारमा एक बर्षमा एक सय नउडाउने मेनपावर पनि नबिकरण गर्ने निर्णय गरेपछि धेरै मेनपावर ब्याबसायीहरु खुशी छन भने केहि मेनपावर ब्याबसायी दुखि छन उनीहरुले यस ब्याबसायमा आफ्नो एकतर्फी राज चलाउन मध्यम ब्याबसायी हरुलाई दुख दिने गरेका छन ।मन्त्रीपरिषदले हिजो गरेको निणर्य अधिकांश वैदेशिक रोजगार ब्यवसायीहरुले स्वागतयोग्य रहेको प्रतिक्रिया दिएका छन ।