बुधबार, भाद्र ३१ २०८३

बुधबार, भाद्र ३१ २०८३

एमबाप्पेले पेनाल्टी मिस गरेपछि विश्‍वविजेता फ्रान्स युरोकपबाट बाहिरियो, स्वीजरल्याण्ड अघिल्लो चरणमा

मंगलबार, असार १५ २०७८

काठमाडौं । विश्‍वविजेता टोली फ्रान्स जारी युरोकप फुटबलको अन्तिम १६ बाटै बाहिरिएको छ । स्वीट्जरल्यान्डसँग टाइब्रेकरमा हार व्यहोर्दै फ्रान्सको यात्रामा पूर्णविराम लागेको हो ।

निर्धारित ९० मिनेट र थप गरिएको अतिरिक्त समयमा ३-३ को बराबरीमा सकिएपछि खेल टाइब्रेकरमा धकेलिएको थियो । टाइब्रेकरमा स्वीट्जरल्यान्ड ५-४ ले स्तब्ध बन्यो ।

निर्धारित समयको खेलमा स्वीट्जरल्यान्डका लागि हारिस सेफेरोभिचदे २ गोल गरेका थिए भने मारियो गाब्रानोभिचले १ गोल गरेका थिए । फ्रान्सका करिम बेन्जेमाले २ र पल पोग्बाले १ गोल गरे ।

१५औं मिनेटमा सेफेरोभिचले गोल गर्दै पहिलो हाफमा स्वीट्जरल्यान्डलाई १-० ले अगाडि राखे । दोस्रो हाफमा बेन्जेमाले २ मिनेटको अन्तरमा दुई गोल गर्दै फ्रान्सलाई अगाडि ल्याए । उनले ५७औं र ५९औं मिनेटमा गोल गरेका थिए ।

७५औं मिनेटमा पोग्बाले गोल गरेपछि फ्रान्स ३-१ ले अघि बढ्यो । ८१औं मिनेटमा सेफेरोभिचले व्यक्तिगत दोस्रो गोल गर्दै खेलमा फर्काउने प्रयास गरे । ९‍०औं मिनेटमा गाब्रानोभिचले गोल गरेपछि खेल ३-३ को बराबरीमा आयो र अतिरिक्त समयमा धकेलिएको थियो ।

अतिरिक्त समयमा पनि निर्णायक गोल नआएपछि खेल टाइब्रेकरमा पुगेको थियो । टाइब्रेकरमा एमबाप्पेको पेनाल्टी मिस फ्रान्सलाई महङ्गो पर्‍यो ।

सुरुवाती चार प्रहारमा दुवै टोलीले लगातार गोल गरेका थिए । पाँचौं प्रहारमा स्टार युवा खेलाडी एमबाप्पेको प्रहारलाई स्वीस गोलरक्षक सोमरले बचाएपछि स्वीट्जरल्यान्ड अन्तिम ८ मा स्थान पक्का गर्न सफल रह्‍यो ।

क्‍वाटरफाइनलमा स्वीट्जरल्यान्डले स्पेनको सामना गर्ने छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार