काठमाडौं(जस)–सरकारले कोरोना भाइरस बिरुद्धको खोपका लागि शुल्क तिरेर नलगाउन सर्वसाधारणलाई आग्रह गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले उमेर समूह र अत्यावश्यक क्षेत्र अनुसार खोप वितरण भइरहेकोले शुल्क तिरेर खोप नलगाउन आह्वान समेत गरे । मन्त्रालयले पैसा तिरेर खोप किन्न हतार नगर्न अनुरोध समेत गरेको छ । मन्त्रालयले शुल्क लिएर खोप उपलब्ध गराउनेलाई कारवाही गर्ने जनाएको छ ।
‘सरकारले कोरोना भाइरस विरुद्धको खोप निःशुल्क विवरण गर्दै आइरहेको छ’,सूचनामा भनिएको छ, ‘त्यसैले कसैले पनि शुल्क मागेर खोप उपलब्ध गराउने कुरा गरेमा वा त्यस्ता ठगी गर्नेको जानकारी तुरुन्तै स्थानीय प्रशासन वा मन्त्रालयमा उजुरी गरौँ ।’ नेपालमा हालसम्म २५ लाख ८७ हजार ८७३ जनालाई पहिलो मात्रा र सात लाख ५२ हजार ११० जनालाई दोस्रो मात्राको खोप प्रदान गरिरहेको छ । कोभिशिल्ड र भेरोसेल खोप लगाइएको छ । यही असार २२ गतेबाट पुनः ६० बर्षदेखि ६४ बर्ष उमेर समूहका ज्येष्ठ नागरिकलाई भेरोसेलको दोस्रो मात्राको खोप लगाइँदैछ ।
थप ४२ जनाको मृत्यु
नेपालमा पछिल्लो २४ घण्टामा थप ३,८५३ जना कोरोना संक्रमित उपचारपछि निको भएका छन् । नेपाल संक्रमित निको हुने दर ९२ दशमलब ६ प्रतिशत रहेको छ । यस्तै पछिल्लो २४ घण्टामा थप २,४४४ जना व्यक्तिमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार दिएको जानकारीअनुसार देशभरका प्रयोगशालामा ११ हजार ६४० जनाको पिसिआर र एन्टीजेट परीक्षण गर्दा २,४४४ जनामा कोराना पुष्टि भएको हो ।
मन्त्रालयका अनुसार ६,६४८ जनाको पिसिआर परीक्षण गर्दा १,५०९ र ४,९९२ जनाको एन्टीजेन परीक्षण गर्दा ९३५ जना संक्रमित पुष्टि भएका हुन् । पछिल्लो २४ घण्टामा देशभर ४२ जना संक्रमितको मृत्यु भएको छ । हालसम्म ९ हजार ५१ जना संक्रमितको मृत्यु भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार नेपालमा हालसम्म ५ लाख ८८ हजार १८७ जना संक्रमित निको भइसकेका छन् ।