बुधबार, भाद्र ३१ २०८३

बुधबार, भाद्र ३१ २०८३

नेदरल्यान्ड्स युरोकप फुटबलबाट बाहिरियो, चेक रिपब्लिकसँग २–० ले पराजित

सोमबार, असार १४ २०७८

काठमाडौं, १४ असार । समूह चरणमा उत्कृष्ट प्रदर्शन गरेको नेदरल्यान्ड्स जारी युरोकप फुटबलको अन्तिम १६ बाटै बाहिरिएको छ । आइतबार राति सम्पन्न खेलमा १० खेलाडीमा सीमित नेदरल्यान्ड्स चेक रिपब्लिकसँग २-० ले स्तब्ध बन्यो ।

चेक रिपब्लिकको जीतमा टोमस होल्स र प्याट्रिक स्किकले १-१ गोल गरेका थिए । दुवै गोल दोस्रो हाफमा नेदरल्यान्ड्स १० खेलाडीमा सीमित भएपछि भएका थिए ।

५५औं मिनेटमा माथिउस डे लिग्टले हातले बल छोएपछि पहेंलो कार्ड पाएका थिए । भिएआरबाट सम्भावित रातो कार्डको परीक्षण गर्दा उनलाई रातो कार्ड दिइएको थियो ।

६८औं मिनेटमा होल्सले हेडरमार्फत गोल गर्दै नेदरल्यान्ड्सविरुद्ध सुनौलो अग्रता दिलाए । ८०औं मिनेटमा स्किकले गोल गरेपछि नेदरल्यान्ड्सको यात्रा समाप्त हुने पक्कापक्की भएको थियो ।

नेदरल्यान्ड्सले समूह चरणका तीनवटै खेलमा जीत निकालेर समूहविजेता बनेको थियो । समूह चरणको जस्तो प्रदर्शन भने आजको खेलमा हुन सकेन र नेदरल्यान्ड्सको उपाधि जित्ने सपना अधुरै रह्यो ।

चेक रिपब्लिकले अब सेमिफाइनल प्रवेशका लागि डेनमार्कसँग प्रतिस्पर्धा गर्ने छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार