काठमाडौं । इटाली युरोपका विभिन्न सहरहरुमा जारी १६औं संस्करणको युरोकप फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ । गएराति भएको खेलमा अस्ट्रियालाई अतिरिक्त समयमा २-१ गोलअन्तरले हराउँदै इटालीले अन्तिम आठमा स्थान सुरक्षित गरेको हो ।
निर्धारित ९० मिनेटको खेलमा दुवै टोलीबाट कुनै गोल हुन नसकेपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो । इटालीका फेडेरिको चिजा र मातियो पेसिनाले गोल गरे भने अस्ट्रियाका सासा कालाजिकले सान्त्वना गोल फर्काए ।
९५औं मिनेटमा चिजाले गोल गर्दै इटालीलाई अग्रता दिलाए । अतिरिक्त समयको पहिलो हाफ सकिनै लाग्दा पेसिनाले गोल गरेपछि इटालीले अग्रता दोब्बर बनायो ।
११४औं मिनेटमा कालाजिकले गोल गर्दै अस्ट्रियालाई खेलमा फर्काउने प्रयास गरेपनि त्यसपछि गोल हुन नसक्दा इटाली अघि बढ्यो ।
इटालीले क्वाटरफाइनलमा पोर्चुगल र बेल्जियमबीचको विजेतासँग खेल्ने छ ।
वेल्सलाई लज्जास्पद हार चखाउँदै डेनमार्क युरोकपको क्वाटरफाइनलमा
युरोपमा जारी युरोकप फुटबलअन्तर्गत गएराति सम्पन्न अन्तिम १६ को पहिलो खेलमा डेनमार्कले शानदार जीत निकालेको छ । डेनमार्कले वेल्सलाई ४-० को फराकिलो अन्तरले हराएको हो ।
डेनमार्कको जीतमा कास्पर डोलबर्गले दुई गोल गर्दा जोकिम माहल र मार्टिन ब्राथवेटले १-१ गोल गरे । पहिलो हाफमा १ गोल गरेको डेनमार्कले दोस्रो हाफमा ३ गोल थप्यो ।
खेलको २७औं मिनेटमा डोलबर्गले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । दोस्रो हाफको सुरुवाती दुई मिनेटमै डोलबर्गले नै व्यक्तिगत दोस्रो गोल गर्दै डेनमार्कको अग्रता दोब्बर पारे ।
८८औं मिनेटमा माहलले गोल गर्दै टोलीलाई ३-० ले अघि बढाए । इन्जुरी समयमा ब्राथवेटको गोल अफसाइड ठहर भएपनि भिएआरले मान्यता दिँदा डेनमार्क ४-० ले विजयी भयो । त्यसअघि ९०औं मिनेटका वेल्सका ह्यारी विल्सनले खराब फलका कारण रातो कार्ड पाएका थिए ।
जीतसँगै डेनमार्कले क्वाटरफाइनलमा स्थान सुरक्षित गरेको छ । सेमिफाइनल प्रवेशका लागि अब उसले नेदरल्यान्ड्स र चेक रिपब्लिकबीचको खेलको विजेतासँग खेल्ने छ ।