सर्लाही । सर्लाहीको ईश्वरपुर नगरपालिका–३, भक्तिपुरका वडाध्यक्ष सूर्यकुमार श्रेष्ठको हत्या भएको छ ।शुक्रबार राती जेसिबी चालकसँग विवाद चर्किदा जेसिबीले ठक्कर दिई वडाध्यक्ष श्रेष्ठको हत्या गरिएको प्रहरीले जनाएको छ ।जिल्ला प्रहरी कार्यालय मलङ्गवाका अनुसार भक्तिपुरमा केही दिनदेखि पुरानो सरकारी पोखरी खनेर स्तरोन्नति गर्ने काम भइरहेको थियो । राती अबेरसम्म वडाध्यक्ष श्रेष्ठ, जेसिबीका ठेकेदार प्रेमराज दाहाल र जेसिबी चालक रविन भन्ने हर्कबहादुर तामाङले नजिकैको होटलमा सँगै खाजा खाएर बसेका थिए ।
शुक्रबार राती १० बजेपछि खाजा खाएर फर्किने क्रममा जेसिबीका चालक तामाङसँग वडाअध्यक्ष ५५ वर्षीय श्रेष्ठको विवाद भएको थियो । विवाद गर्दा गर्दै पोखरी खनेको स्थानमा पुगेपछि चालक तामाङले जेसिबी चलाएर वडाध्यक्ष श्रेष्ठलाई जेसिबीको बकेटले ठक्कर दिएर लडाएको र त्यसपछि माटोले पुरेको पाइएको सर्लाहीका प्रहरी उपरीक्षक सन्तोष सिंह राठौरले बताए ।पूर्व योजनाअनुरुप नभई आवेशमा आएर घटना गराएको देखिएको उनले बताए ।
प्रहरीले घटनामा संलग्न भएको आरोपमा जेसिबीका ठेकेदार ईश्वरपुर नगरपालिका–३, कै ३५ वर्षीय प्रेमराज दाहाल र जेसिबीका चालक बरहथवा नगरपालिका–१, का ३८ वर्षीय रविन भन्ने हर्कबहादुर तामाङलाई नियन्त्रणमा लिएको छ ।