काठमाडौं । जारी युरोकप फुटबलअन्तर्गत गएराति भएको समूह डी को खेलहरुमा इंग्ल्यान्ड र क्रोएसिया विजयी भएका छन् । इंग्ल्यान्डले चेक रिपब्लिकलाई तथा क्रोएसियाले स्कटल्यान्डलाई हराएका हुन् ।
इंग्ल्यान्डले चेक रिपब्लिकलाई १-० गोलअन्तरले हराएको हो । इंग्ल्यान्डको जीतमा रहीम स्टर्लिङले पहिलो हाफमा गरेको गोल नै निर्णायक बनेको थियो ।
उनले १२औं मिनेटमा ज्याक ग्रिलिसको पासमा गोल गरेका थिए । त्यसपछि दुवै टोलीबाट थप गोल निस्कन नसक्दा इंग्ल्यान्ड अर्को साँघुरो जीतसहित ३ अंक बटुल्न सफल रह्यो ।
यसै समूहको अर्को खेलमा क्रोएसियाले स्कटल्यान्डमाथि ३-१ को जीत निकालेको छ । क्रोएसियाको जीतमा निकोला भ्लासिक, लुका मोड्रिच र इभान पेरिसिचले १-१ गोल गरेका थिए । स्कटल्यान्डका क्यालम म्याग्रेगरले १ गोल फर्काए ।
खेलको १७औं मिनेटमा भ्लासिकले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । ४२औं मिनेटमा म्याकग्रेगरले गोल फर्काएपछि पहिलो हाफ १-१ को बराबरीमा सकिएको थियो ।
दोस्रो हाफको ६२औं मिनेटमा कप्तान मोड्रिचले गोल गर्दै टोलीलाई पुनः अगाडि ल्याए । ७७औं मिनेटमा पेरिसिचले गोल थपेपछि क्रोएसियाको ३-१ को जीत सुनिश्चित भयो ।
जीतसँगै ३ खेलबाट ७ अंक भएको इंग्ल्यान्ड शीर्षस्थानमा रहँदै नकआउटमा प्रवेश गर्दा क्रोएसिया ४ अंकसहित दोस्रो बनेर नकआउटमा पुग्यो ।
पराजित चेक रिपब्लिक पनि ४ अंकसहित तेस्रो स्थानबाट नकआउटमा पुग्न सफल रह्यो । १ अंक मात्र भएको स्कटल्यान्ड भने समूह चरणबाटै घर फर्किएको छ ।