काठमाडौं, ८ असार । जारी युरोकप फुटबलअन्तर्गत गएराति भएको समूह बी को खेलमा डेनमार्कले शानदार जीत निकालेको छ । डेनमार्कले रसियालाई ४-१ गोलअन्तरले हराएको हो ।
डेनमार्कको जीतमा मिकेल डाम्सगार्ड, युसुफ पल्सेन, एन्द्रेस क्रिस्टेनसन र जोकिम मालेले १-१ गोल गरेका थिए । रसियाका आर्तेम जुबाले पेनाल्टीमार्फत एक गोल फर्काए ।
जीतसँगै डेनमार्क दोस्रो स्थानमा रहेर नकआउट चरणमा प्रवेश गरेको छ भने फिनल्यान्ड र डेनमार्कसँगै समान ३ अंक नै भएको रसिया भने हेड-टु-हेड र गोलअन्तरमा पछि पर्दै बाहिरिएको छ ।
गएराति नै भएको अर्को खेलमा बेल्जियमले फिनल्यान्डलाई २-० ले हराएको छ । बेल्जियमको जीतमा रोमेलु लुकाकुले १ गोल गर्दा १ गोल उपहार पाएको थियो ।
खेलको ७४औं मिनेटमा फिनल्यान्डका गोलरक्षक ह्राडिकेबाट आत्मघाती गोल भएपछि बेल्जियमले अग्रता लिएको थियो । ८१औं मिनेटमा लुकाकुलेे गोल गर्दै बेल्जियमको २-० को जीत सुनिश्चित गरे ।
जीतसँगै बेल्जियम शतप्रतिशत जीतसहित समूहविजेता बनेको छ । तेस्रो स्थानमा रहेको फिनल्यान्डले नकआउट पुग्न अन्य टोलीको नतिजा पर्खनुपर्ने छ ।