बिहिबार, असोज १ २०८३

बिहिबार, असोज १ २०८३

कतारका नेपाली व्यवसायीले पठाउने एक करोड २० लाख बराबरको स्वास्थ्य सामग्री आउँदैं, शुक्रबार नेपाल सरकारलाई हस्तान्तरण गरिने

सोमबार, असार ७ २०७८

काठमाडौं । नेपालीहरुको दुख सुखमा सारथीका रुपमा सधै क्रियाशील रहँदै आएका कतारमा रहेका नेपालीहरुले वर्तमान कोरोना संकटसँग जुध्न नेपाल सरकारलाई एक करोड बढीको स्वास्थ्य सामग्री सहयोगस्वरुप हस्तान्तरण गर्दैछन् ।

कतारस्थित नेपाली व्यवसायीहरुले छाता संस्थाका रुपमा रहेको नेपाली व्यवासायी संघ कतारले भेन्टिलेटर, अक्सिजन कन्सन्ट्रेटर र पल्स अक्सिमिटरलगायत एक करोड २० लाख रुपैयाँ बराबरको स्वास्थ्य सामग्री नेपाल पठाउन लागेको हो । यसमा हवाई भाडापनि व्यवसायीहरुले नै बहोरेका छन् । नेपालमा बिहीबार र शुक्रवार गरेर स्वास्थ्य सामाग्री आइपुग्ने र शुक्रवार स्वास्थ्य मन्त्रालयलाई हस्तान्तरण गर्ने कार्यक्रम रहेको छ । संघले खरिद गरेको स्वास्थ्य सामाग्री नेपाल ल्याउन केही ढिला भए पनि शुक्रवार हस्तान्तरणका लागि तयारी रहेको संघका अध्यक्ष तथा कोरोना राहत समितिका संयोजक महेन्द्रप्रसाद चौलागाईले जानकारी दिए ।

कतारका लागि नेपाली राजदूतावासको समन्वयमा संघले गैरआवासीय नेपाली संघ (एनआरएनए) कतारको समेत समन्वयमा उक्त स्वास्थ्य सामग्री नेपाल पठाउन लागेको हो । संघका अध्यक्ष महेन्द्रप्रसाद चौलागाईंका अनुसार १४ वटा भेन्टिलेटर, ५० वटा अक्सिजन कन्सन्ट्रेटर, तीन हजार वटा पल्स अक्सिमिटर र ५० वटा नसल क्याननुल पठाउन लागिएको हो । यी सामग्री २–३ दिनभित्र काठमाडौं आइपुग्नेछ । अध्यक्ष चौलागाईंले सामग्री स्वास्थ्य मन्त्रालयमार्फत आवश्यकताअनुसार सातै प्रदेशमा पठाइने बताए ।

अहिलेसम्म भेन्टिलेटर १४ थान, अक्सिजन कन्सन्ट्रेटर ४२ थान, पल्स अक्सिमिटर २१ सय थान र नोजल क्यानोला ५० थान खरिद गरिसकेको छ । संघले सातै वटा प्रदेशमा स्वास्थ्य सामाग्री समानढंगबाट वितरणका लागि स्वास्थ्य मन्त्रालयलाई अनुरोधसहितको पत्र पठाइसकेको छ । स्वास्थ्य सामाग्री हस्तान्तरणका लागि संघका नेपालमा रहेका प्रतिनिधि तथा सरकारी पक्षको सहभागी हुने जनाइएको छ ।

‘देशले चित्कार गरेको आजको असामान्य परिस्थितिमा यो महामारीको अनियन्त्रित संक्रमणले सृजना गरेको विपत्तिबाट बाध्यात्मकरुपमा गुज्रिनु परेका तथा दुख पीडामा छटपटाइ रहेको नेपालीहरुको अवस्था देख्दा हामी चुप लागेर बस्न सक्ने अवस्था रहेन । हामी कतारवासी नेपालीहरुले हिजोका दिनमा पनि देशले रसमाजले मागेको वखत विभिन्न तवरले हाम्रो तर्फबाट सकेसम्मको सहयोग गर्दै आएका थियौं । आजको यो विषम परिस्थिति तथा महामारीको चपेटामा परी छटपटाई रहेको नेपालीको अवस्था तथा ठूलो संख्यामा अकालमा ज्यान गुमाउनु परेको परिस्थितिले हरेक नेपालीलाई शोकको अवस्थामा पुर्याएको यस घडीमा जसले जे सक्छ जति सक्छ त्यस्तो सहयोग गर्नु हाम्रो कर्तव्य पनि हो , धर्म पनि हो र विदशमा रहेबसे पनि हरदिन मातृभूमि सम्झिने यस मनलाई शान्ति प्रदान गर्ने एउटा बाटो पनि हो ’, उनले भने ।

संघका महासचिव रमेश भट्टका अनुसार स्वास्थ्य सामग्री खरिदका लागि आव्हान गरिएको सहयोग अभियानमा ६८ जना व्यवसायीले १ लाखदेखि ८ लाख रुपैयाँसम्म सहयोग गरेका छन् । व्यवसायीहरुले यसअघि पनि ओमानबाट ५६० वटा अक्सिजन पठाउँदा पनि सहयोग गरेका थिए ।

कतारमा क्रियाशील नेपाली संस्थामध्ये नेपाली व्यवासायी संघ (नेपाल बिजनेस एसोसिएसन) मात्रै कानुनी मान्यता पाएको संस्था हो । कतारमा साढे तीन लाख बढी नेपाली विभिन्न क्षेत्रमा कार्यरत छन्भने नेपाली व्यवसायीहरुले रेष्टरेन्ट, मेडिकल, निर्माण कन्ट्रक्सन, ग्यारेज, किराना पसल, श्रमिक आपूर्ति कम्पनीहरुलगायत विभिन्न व्यवसायमा लगानी गरेका छन् ।

 

 

प्रतिक्रिया
सम्बन्धित समाचार