काठमाडौ(जस)-राष्ट्रिय जनमोर्चाका गण्डकी प्रदेशसभाका पदमुक्त सांसद कृष्ण थापा फेरि सर्वोच्च अदालत पुगेका छन्। पदमुक्त गर्ने गण्डकी प्रदेशसका सभामुखको निर्णयविरुद्ध थापाले आइतवार सभामुख, प्रदेशसभा सचिवालयलाई विपक्षी बनाई रिट दायर गरेका छन । उनको रिट न्यायाधीश सपना प्रधान मल्लको एकल इजलासमा पेशीमा चढेको छ। पाँचौं नम्बरमा थापाको रिटको पालो छ।
तत्काली विपक्षी गठबन्धनबाट मुख्यमन्त्रीका उम्मेदवार कृष्णचन्द्र नेपाली पोखरेललाई सहयोग नगरेको भन्दै पार्टीको सिफारिसमा सभामुख नेत्रनाथ अधिकारीले जेठ २८ गते दोस्रोपटक पदमुक्त गरेका थिए। पहिलोपटकको पदमुक्त निर्णय कार्यान्वयनमा सर्वोच्चले अन्तरिम आदेशमार्फत रोक लगाएर पुनर्वहाली गरेको थियो।
सभामुखले जबरजस्ती पदमुक्त घोषणा गरेकाले आफू फेरि अदालत पुगेको थापाले बताए। आफ्नो तर्फबाट ५ जना कानुन व्यवसायीले बहस गर्ने थापाले जानकारी दिए।
गण्डकी प्रदेश बाग्लुङ जिल्ला निर्वाचन क्षेत्र नं २ बाट प्रदेशसभा सदस्य पदमा निर्वाचित थापालाई यसअघि तत्कालीन विपक्षी गठबन्धनलाई समर्थन नगरेको भन्दै कारवाही गरिएको थियो। कारवाहीको प्रक्रिया नमिलेको भन्दै सर्वोच्चले पुनर्वहाली गरेको थियो।
उक्त आदेशविरुद्ध परेको पुनराबलोकन (भ्याकेट) निवेदनमा सर्वोच्चले थापालाई निरन्तरता दिनुपर्ने अन्तरिम आदेश खारेज गरेको थियो भने २८ गतेको पदमुक्त निर्णयलाई सदर गरेको थियो।