आइतबार, साउन १० २०८३

आइतबार, साउन १० २०८३

युरोकप फुटबल : पोर्चुगलमाथि जर्मनीको शानदार जीत, फ्रान्स र स्पेन बराबरीमा रोकिए

आइतबार, असार ६ २०७८

काठमाडौं, ६ असार । जारी युरोकप फुटबलअन्तर्गत शनिबार मध्यराति सम्पन्‍न खेलमा जर्मनी विजयी भएको छ । समूह एफ को खेलमा जर्मनीले पोर्चुगललाई ४-२ गोलअन्तरले हराएको हो ।

जर्मनीको जीतमा काइ हाभेर्ट्ज र रोबिन गोसेन्सले १-१ गोल गर्दा दुई गोल उपहार पाएको थियो । पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डो र डियोगो जोटाले १-१ गोल गरे ।

खेलमा सुरुवाती अग्रता लिएको भएपनि खराब डिफेन्सका कारण पोर्चुगलले लगातार गल्ती दोहोर्‍यायो । १४औं मिनेटमा रोनाल्डोको गोलमार्फत पोर्चुगलले अग्रता लिएको थियो ।
काउन्टर मुभमा बर्नार्डो सिल्भाले डिओगो जोटालाई लामो क्रस फिल्ड पास दिएपछि जोटाले पेनाल्टी क्षेत्र भित्रबाट अनमार्क रहेका रोनाल्डोलाई पास दिएपछि रोनाल्डोले खाली पोस्टमा गोल गरेका थिए ।

खेलको ३५औं मिनेटमा जर्मनी खेल बराबरीमा ल्याउन सफल भयो । गोसेन्सले पेनाल्टी क्षेत्रको बायाँ भागबाट गरेको क्रसबाट काइ हाभेर्ट्जले गरेको शक्तिशाली प्रहार पोर्चुगलका रुबेन डियासलाई लाग्दै गोल भएको थियो ।

त्यसको ३ मिनेटपछि नै जर्मनीले अर्को आत्मघाती गोलमार्फत अग्रता लियो । जोशुवा किम्मिचको क्रस राफायल गुएरेरोलाई लागेर गोल भएको थियो ।

दोस्रो हाफको ५१औं मिनेटमा हाभेर्ट्जले गोल गर्दै पोर्चुगललाई ३-१ ले अघि बढाए । ६०औं मिनेटमा रोबिन गोसेन्सले हेडिङ गोल गर्दै जर्मनीलाई ४-१ को अग्रता दिलाए ।
६६औं मिनेटमा जोटाले गोल गर्दै गोलअन्तर घटाएपनि पोर्चुगलले हार भने टार्न सकेन । जीतसँगै २ खेलबाट ३ अंक भएको जर्मनी हेड टु हेडमा पोर्चुगललाई पछि पार्दै दोस्रो स्थानमा उक्लिएको छ । पोर्चुगल तेस्रो स्थानमा झरेको छ भने फ्रान्स ४ अंकसहित शीर्षस्थानमा छ ।

स्पेन पोल्यान्डसँग बराबरीमा रोकियो
युरोकप फुटबलअन्तर्गत गएराति भएको खेलमा स्पेन र पोल्यान्डले बराबरी खेलेका छन् । समूह ‘इ’ को खेलमा स्पेनलाई पोल्यान्डले १-१ गोलको बराबरीमा रोकेको हो ।

स्पेनका लागि अल्भारो मोराटाले १ गोल गर्दा पोल्यान्डका रोबर्ट लेवान्डोस्कीले १ गोल गरे । बल पोसेसनमा ७५ प्रतिशतभन्दा बढी पकड जमाएको स्पेनले पेनाल्टीसहितका अन्य अवसरहरुलाई सदुपयोग गर्न सकेन ।

खेलको २५औं मिनेटमा जेरार्ड मोरेनोको पासमा मोराटाले गोल गर्दै स्पेनी टोलीलाई अग्रता दिलाएका थिए । पहिलो हाफमा १-० ले अगाडि रहेको स्पेनले दोस्रो हाफमा थप गोल गर्ने प्रयास जारी राख्दा सफल हुन सकेन ।

दोस्रो हाफको ५४औं मिनेटमा लेवान्डोस्कीले गोल गर्दै खेल बराबरीमा ल्याए । ५८औं मिनेटमा प्राप्त पेनाल्टीमा जेरार्ड मोरेनो चुक्दा स्पेन अग्रता लिने सुवर्ण अवसर गुमायो । त्यसपछि थप गोल नहुँदा दुवै टोलीले अंक बाँडे ।

बराबरीपछि २ खेलबाट २ अंक भएको स्पेन तेस्रो स्थानमा छ भने पोल्यान्ड १ अंकसहित चौथोमा छ । यस समूहमा स्वीडेन शीर्षमा रहँदा स्लोभाकिया दोस्रोमा छ ।

विश्‍वविजेता फ्रान्सको हंगेरीसँग बराबरी
। जारी युरोकप फुटबलअन्तर्गत शनिबार बेलुका सम्पन्‍न पहिलो खेलमा फ्रान्स र हंगेरीले बराबरी खेलेका छन् । विश्‍वविजेता एवम् उपाधि दाबेदार समेत रहेको फ्रान्सले हंगेरीसँग १-१ को बराबरी खेलेको हो ।

हंगेरीका लागि अतिला फियोलाले गोल गरेका थिए भने फ्रान्सका एन्टोइन ग्रीजम्यानले बराबरी गोल फर्काए । खेलमा सुरुवाती अग्रता हंगेरीले लिएको थियो ।

पहिलो हाफको इन्जुरी समयमा अतिला फियोलाले मध्यभाग कटेपछि पाएको पासमा एक्लै बल अघि बढाएर दुई डिफेन्डर र गोलरक्षकलाई छक्याएर गोल गरेका थिए ।

पहिलो हाफमा १-० ले पछि परेको फ्रान्सले गोल फर्काउन थुप्रै प्रयास गरेपनि हंगेरीको डिफेन्सलाइन बाधक बनेको थियो । यद्यपि ६६औं मिनेटमा एमबाप्पेको पासमा ग्रीज्म्यानले ट्‍याप इन गोल गर्दै खेल बराबरीमा ल्याए । तर उक्त एक गोलले मात्र टोलीलाई ३ अंक भने दिलाउन सकेन ।

बराबरीपछि हंगेरीले महत्वपूर्ण एक अंक जोडेको छ । यस ग्रुपलाई ‘ग्रुप अफ डेथ’ मानिएकाले १ अंक पनि महत्वपूर्ण हुन्छ । फ्रान्स २ खेलबाट ४ अंकसहित शीर्षस्थानमा रहँदा हंगेरी तेस्रोमा छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार