आइतबार, साउन १० २०८३

आइतबार, साउन १० २०८३

पहिरो र बाढीको अझै जोखिम, तत्काल मनसुन कमजोर हुने अवस्था छैन : मौसमविद्

आइतबार, असार ६ २०७८

काठमाडौं(जस)–मनसुनजन्य विपद्मा परेर पछिल्लो एक सातामा १७ व्यक्तिको मृत्यु भएको छ । अविरल वर्षापछि आएको बाढी, पहिरो र डुबानमा परी जेठ ३० यता १० पुरुष, ४ महिला, २ बालक र १ बालिकाको ज्यान गएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । मृत्यु हुनेमा सिन्धुपाल्चोकका ३, डोटीका ३, सप्तरी, काभ्रे, गोरखा, जुम्ला, अर्घाखाँची, पाल्पा, कास्की, कालिकोट, बाजुरा, बझाङ र प्युठानका १–१ जना रहेका छन् । यस्तै बाढी, पहिरो र डुबानमा परी १७ जना घाइते भएका छन् । घाइतेमध्ये १० पुरुष, ४ महिला, १ बालक र २ बालिका रहेका छन् । बाढी, पहिरोमा परी अहिलेसम्म २२ बेपत्ता भएका छन् । जसमध्ये १५ पुरुष, ५ महिला र २ बालक छन् । उनीहरूमध्ये सिन्धुपाल्चोकका मात्रै २० र बाजुरामा १ र रुपन्देहीमा १ जना छन् । वेपत्ताको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।
बाढी तथा पहिरोमा परेका सिन्धुपाल्चोकमा ९४ सल्यानमा ८, दाङका ४ र कञ्चनपुरका ३ गरी १०९ जनाको उद्दार गरिएको छ । उक्त घटनाबाट प्रभावित स्थानमा भएको क्षति न्यूनीकरण र उद्दारमा सम्बन्धित प्रहरी कार्यालयबाट प्रहरी कर्मचारी उद्धारमा सक्रिय रूपमा संलग्न छन् । बाढी पहिरोको जोखिममा रहेका विभिन्न जिल्लाका विभिन्न घर परिवारलाई सुरक्षित स्थानमा राख्ने, पहिरोमा पुरिएका धनमाल निकालेर सुरक्षा गर्ने, अवरोध सडक हटाउने काम जारी रहेको छ । गएको वैशाख यता भने विपद्जन्य घटनामा ७१ जनाको मृत्यु भएको छ भने २४ जना वेपत्ता भएका छन् । ती घटनाबाट ४१ करोड बढीको क्षति भएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ ।
पहिरा र बाढीको अझै जोखिम छ
हेलम्बु गाउँपालिकाले अझै पहिरो र बाढीको जोखिम रहेको जनाएको छ ।
शनिबार एक सूचना जारी गर्दै सो गाउँपालिकाले यही असार १ गते साँझ मेलम्ची खोलामा आकष्मिक बाढी आउनुको कारण वडा नं १ मा अवस्थित सेमेसिदाङ हिमाल मुनि रहेको भेमाथाङ्ग चौरमा पहिरो गएको जनाएको छ । सूचनामा सो ठाउँको चौरको हाल २५ प्रतिशत भाग पहिरो गएको र बाँकी मध्ये के कति भागमा पहिरो जान सक्ने भन्ने हालसम्म एकीन नभएकोले थप बाढी जान सक्ने जनाउँदै उच्च साबधानि तथा सतर्कता अपनाउन गाउँपालिकाले आग्रह गरेको छ ।
सेती नदीले खतराको सतह पार ग¥यो
सेती नदीले यहाँ खतराको सतह पार गरेको छ । सेती नदीस्थित पानकोटमा राखिएको जलमापन केन्द्रमा पानीले खतराको सतह पार गरेको हो । नदीमा पानीको बहाव बढेसँगै किनारामा कटान शुरु गरेको छ । कटानका कारण नदी किनाराका बस्ती र उर्वर भूमि जोखिममा परेका छन् । नदीको बहाव बढी आएकाले भर्खरै निर्माण सम्पन्न गरिएको चैनपुर–पानकोट जोड्ने मोटरेबल पुलसहित पानकोटमा रहेका ओम शान्ति र जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रको भवन पनि जोखिममा परेका छन् । पुल र दुवै भवनको मुनिबाट नदीले कटान गरिसकेको छ । केही ठूला ढुङ्गाका कारण मात्रै भवनसम्म पहिरो फुट्न सकेको छैन । जिल्ला प्रशासन कार्यालयले नदीको बहाव बीचमा लगाउन मेशिन खोज्दा नभेटिएको प्रमुख जिल्ला अधिकारी मोहन अधिकारीले बताए । उनका अनुसार जिल्लाका जयपृथ्वी नगरपालिका, छबिसपाथीभेरा गाउँपालिका, थलारा गाउँपालिका, दुर्गाथली गाउँपालिका र केदारस्युँ गाउँपालिकाका नदी किनाराका बस्तीलाई सतर्क रहन अनुरोध गरिएको छ ।
मस्र्याङ्दी नदी थुनियो, जोखिम झन् बढ्यो
चामे गाउँपालिका वडा नं ४ र ५ जोड्ने मस्र्याङदी नदीमा पहिरो खस्दा पूर्णरूपमा थुनिएको छ । वडा नं ४ र ५ जोड्ने मस्र्याङ्दी नदी थुनिँदा चामेबजार जाने ठूलो पुल जोखिममा रहेको प्रमुख जिल्ला अधिकारी विष्णु लामिछानेले जानकारी दिए । उनले भने, “अहिले यहाँ निरन्तर वर्षा भइरहेको छ, चामेबजार जाने ठूलो पुल नजीक पहिरो खस्दा मस्र्याङ्दी नदी थुनिएको छ, नदी थुनिँदा पानीको सतह झन्झन् बढ्दै गएको छ, जोखिम झनै बढेको छ ।”
चामेको बजार क्षेत्र हुँदै झरेको घट्टेखोलाले ढुङ्गामाटो र काठदाउरा बगाएर ल्याएपछि नदी थुनिएको हो । माथिबाट झरेको पहिरो ढुङ्गामाटो र काठदाउराले मस्र्याङ्दी नदी थुनिँदा पानी जमेर ठूलो ड्याम बनेको छ । थुनिएको भागबाट मस्र्याङ्दी बगे पनि पानी निरन्तर परिरहेकाले बहाव बढेको छ । यसबाट चामेको पारिपट्टिको भाग डुबानमा छ । सिङ्गो चामेबजार जोखिममा परेको छ । बाढीले चामेबाट माथिल्लो मनाङतर्फ जाने एकमात्र बेलीब्रिजसमेत कटान गरेको छ । नदीमा बाढी बढ्दै गएकाले चामेबजार उच्च जोखिममा परेको छ ।
प्रजिअ लामिछानेका अनुसार नदीको बहाव बढ्दै गएको र यसले चामेबजार थप जोखिममा परेको छ । उनले नेपाली सेनामार्फत बम विस्फोट गराई मस्र्याङ्दी खुलाउने भनिएकामा पानी निरन्तर परिरहेकाले समस्या भएको बताए । सुरक्षाका सबै निकायसँग समन्वय गरी अहिले खुलाउने प्रयास भइरहेको उनले बताए । लगातारको वर्षातले पानीको बहाव बढेकाले जोखिम उच्च रहेको प्रजिअ लामिछानेले बताए । त्यही कारण चामे क्षेत्रका स्थानीयवासीलाई सतर्क रहन भनिएको उनले जानकारी दिए ।
ङिस्याङ गाउँपालिकामा रहेको हुम्रे प्रहरी चौकी बाढीपहिराको जोखिममा परेको छ । गत सोमबारदेखि परेको अविरल वर्षाका कारण पालिकाको हुम्रे प्रहरी चौकी जोखिममा परेको हो । चौकी जोखिममा परेपछि सबै सामान सुरक्षित स्थानमा सारिएको छ । चौकीका साथै पाँच घर पूर्णरूपमा विस्थापित भएका छन् । विस्थापितलाई सुरिक्षत स्थानमा राखिएको गाउँपालिकाका जनस्वास्थ्य प्रमुख श्रीनारायण यादवले जानकारी दिए । जिल्लामा प्राकृतिक प्रकोप झनै बढ्दै गएपछि अब के गर्ने भन्ने विषयमा राष्ट्रिय विपद् व्यवस्थापन समितिको आकस्मिक बैठक बसिरहेको प्रमुख जिल्ला अधिकारी लामिछानेले बताए ।
नासो गाउँपालिकाका भौतिक संरचनामा ठूलो क्षति
गत मङ्गलबार मस्र्याङ्दी नदीमा आएको बाढीले मनाङको नासो गाउँपालिकाको भौतिक संरचनामा ठूलो क्षति पु¥याएको छ । पालिकाको वडा नं २ बाहेक सबै वडाहरूमा बाढीले ठूलो क्षति पु¥याएको हो । नासो गाउँपालिकाका अध्यक्ष चन्द्र घलेका अनुसार १, ३, ४, ५, ६, ७ र ८ वडा पूर्णरूपमा बाढीपहिराबाट क्षति भएका छन् । नासो गाउँपालिका–३ धारापानीमा बाढीले पुल र भवनहरू बगाएको छ । गाउँपालिकाका अध्यक्ष घलेका अनुसार ताचै जाने बेलिब्रिज, थोंचे–तिल्चेतिर जाने झोलुङ्गे पुल, नासो गाउँपालिकाको कार्यालय, सीमा प्रहरी चौकी बगेका छन् । यस्तै, प्रभु बैंक र प्राइम कमर्सियल बैंकका भवन, वडा नं ५ को कार्यालय, थोंचे स्वास्थ्य चौकी, लघु जलविद्युत् आयोजनाका साथै धारापानीका पाँचवटा होटेल बगेका छन् । वडा नं १, ताल गाउँको बस्ती डुबानमा परेको छ ।
मस्र्याङ्दीमा उर्लिएको बाढीले भानु माविसहित ताल गाउँको बस्ती डुबानमा परेको नासो गाउँपालिकाका उपाध्यक्ष कमलमाया गुरुङले बताउनु भएको छ । करीब ५६ घरधुरी रहेको उक्त गाउँका बासिन्दा पहरामुनि गएर बसेको र केही लमजुङ सीमा क्षेत्र म्यार्दीभिरतर्फ गएको उपाध्यक्ष गुरुङले बताए । बाढीले विस्थापित धारापानीका स्थानीय बासिन्दा नजीकैको ओडार गाउँमा गएर बसेका छन् । यहाँ अहिले बिजुली र सञ्चार क्षेत्र अवरुद्ध छ भने खाद्यान्नको अभावसमेत भएको छ । गाउँपालिकामा बाढीपहिराले अहिलेसम्म के कति क्षति पु¥याएको छ भन्ने तथ्याङ्क सङ्कलन भइनसकेको अध्यक्ष घलेले बताउनु भएको छ ।
तत्काल मनसुन कमजोर हुने अवस्था छैन ः मौसमविद्
केही दिनदेखि सक्रिय मनसुन तत्काल कमजोर नहुने मौसमविद्ले बताएका छन् । यस वर्ष शुरुमै मनसुन सक्रिय भएर भित्रिएकाले तत्काल कमजोर हुने अवस्था नरहेको जल तथा मौसम विज्ञान विभागका मौसमविद् शान्ति कँडेलले जानकारी दिइन । “यस वर्ष मनसुन सक्रिय भएर भित्रिएकाले यो वायुको प्रभाव अझै केही दिन कायम रहने देखिन्छ”, मौसमविद् कँडेलले रासससँग भनिन, “त्यसैले केही दिन वर्षाको सिलसिला निरन्तर जारी रहन सक्छ ।” केही दिनपछि भने यो वायुको प्रभाव निस्तेज हुने उनको भनाइ छ ।
मनसुन शुरु हुने औसत मितिभन्दा तीन दिनअघि नै यस वर्ष सक्रिय मनसुनले लगातार पानी पारिरहेको छ । विभागका अनुसार, अहिले पनि देशभर आंशिकदेखि सामान्य बदली भइरहेको छ भने प्रदेश नं १ र सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भूभागका केही स्थानमा मनसुनी वायुले हल्का पानी पारिरहेको छ । शनिबार दिउँसो भने देशभर सामान्यदेखि पूर्ण बदली रहने र देशका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको प्रक्षेपण महाशाखाले गरेको छ । प्रदेश नं १, गण्डकी, लुम्बिनी र वाग्मती प्रदेशका थोरै स्थानमा भने मेघगर्जनसहित भारी वर्षाको सम्भावना महाशाखाले औँल्याएको छ । त्यसैले महाशाखाले यी क्षेत्रमा सतर्कता अपनाउन भनेको छ । महाशाखाका अनुसार वर्षाको यो सिलसिला आगामी आइतबार र सोमबार पनि जारी रहनेछ ।

प्रतिक्रिया
सम्बन्धित समाचार