आइतबार, साउन १० २०८३

आइतबार, साउन १० २०८३

गण्डकीका मुख्यमन्त्रीले शुक्रबार विश्वासको मत लिने

बिहिबार, असार ३ २०७८

पोखरा(जस)–गण्डकी प्रदेशका नव नियुक्त मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले विश्वासको मत लिने भएका छन् । सरकार गठन भएको एक महिनाभित्र विश्वासको मत लिनुपर्ने प्रावधानअनुरुप असार ४ गते (शुक्रबार) नै विश्वासको मत लिने तयारी भएको सरकारका प्रवक्ता कुमार खड्काले बताए । विश्वासको मत लिने प्रस्ताव प्रदेश सभा सचिवालयमा दर्ता भइसकेको उनले बताए । विश्वासको मत लिएपछि मात्र मन्त्रिपरिषद विस्तार र मन्त्रालय बाँडफाँटका काम गर्ने तयारीमा मुख्यमन्त्री कृष्णचन्द्र पौडेल रहेका छन् । पौडेल जेठ २९ गते मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।
असार ४ गते नै विश्वासको मत लिएर मन्त्रालय बाडफाँट टुंग्याउने र प्रदेशसभामा बजेट छलफल अघि बढाउने पोखरेलको तयारी छ । जेठ २९ गते मुख्यमन्त्री नियुक्त भएका उनलाई विश्वासको मत लिन एक महिना समय भए पनि मन्त्रालय बाँडफाँटअघि नै विश्वासको मत लिएर ढुक्क हुन खोजेका हुन् । ‘४ गते नै विश्वासको मत लिएर मात्र बजेटमाथि छलफल र मन्त्रालय बाँडफाँटको टुंगो लाग्ने भएको छ,’ सरकारका प्रवक्ता समेत रहेका मन्त्री कुमार खड्काले भने, ‘यसका लागि प्रदेशसभा सचिवालयमा सूचना दर्ता भइसकेको छ ।’ नेपाली कांग्रेस प्रदेशसभा संसदीय दलका नेता पोखरेल नेकपा माओवादी केन्द्र, राष्ट्रिय जनमोर्चा, जनता समाजवादी पार्टी र एक स्वतन्त्र सांसदको समर्थनमा मुख्यमन्त्री नियुक्त भएका हुन् । गठबन्धनमा रहेको दलमध्ये राष्ट्रिय जनमोर्चाले सरकारमा सहभागी नहुने तर गुण र दोषको आधारमा समर्थन र विरोध गर्ने बताएको छ । अरु दलभित्र भने मन्त्री र मन्त्रालयका विषयमा विवाद छ ।
हाल विना विभागीय मन्त्री रहेका कांग्रेसका कुमार खड्का र जनता समाजवादी पार्टीका हरिशरण आचार्यले आर्थिक मामिला तथा योजना मन्त्रालय ताकेका छन् । आचार्यले आर्थिक मामिला नपाए भौतिक पूर्वाधार मन्त्रालय चाहिने अडान राखेका छन्, भौतिक पूर्वाधारमा नै स्वतन्त्र सांसद दीपक मनाङेको दाबी छ । मन्त्रालयको बाँडफाँटका कारण विवाद हुन सक्ने भएकाले त्यसअघि नै विश्वासको मत लिने तयारीमा मुख्यमन्त्री पोखरेल छन् । प्रदेशका ११ मन्त्रालयमध्ये कांग्रेस र माओवादीलाई ४–४, जनता समाजवादीलाई २ र एक स्वतन्त्र मनाङे गरी ११ मन्त्रालय बाँडफाँट हुने एक नेताले बताए ।

प्रतिक्रिया
सम्बन्धित समाचार