आइतबार, साउन १० २०८३

आइतबार, साउन १० २०८३

कांग्रेसको १४औँ महाधिवेशन सर्यो, आगामी भदौ १६ देखि १९ गतेसम्म आयोजना हुने

आइतबार, जेष्ठ ३० २०७८

काठमाडौँ(जस)–नेपाली काँग्रेसको १४ औँ महाधिवेशनको मिति नौ दिन पछि सर्ने भएको छ । सभापति शेरबहादुर देउवा निवास बूढानिलकण्ठमा पार्टी पदाधिकारी र पूर्व पदाधिकारीको शनिबारको बैठकले महाधिवेशन आगामी भदौ १६ देखि १९ गतेसम्म गर्ने निर्णय गरेको सहमहामन्त्री डा प्रकाशशरण महतले जानकारी दिए ।
उक्त निर्णय काँग्रेस केन्द्रीय कार्यसमितिको आगामी असार ३ गते बस्ने बैठकले पारित गर्ने उनले बताए । काँग्रेसले यसअघि केन्द्रीय महाधिवेशन आगामी भदौ ७ देखि १० गतेसम्म काठमाडौँ गर्ने तालिका निर्धारण गरेको थियो । सोही अनुसार क्रियाशील सदस्यता सम्बन्धी कार्य टुङ्ग्याउने र अन्य तहका अधिवेशन गर्ने मिति तोकिएको थियो । महामारीको विषम परिस्थितिका कारण यसअघिको निर्धारित महाधिवेशन कार्यतालिका प्रभावित भएको भन्दै काँग्रेसले नयाँ कार्यतालिका निर्धारण गर्नुपरेको जनाएको छ ।
कांग्रेसले १४औँ महाधिवेशनअन्तर्गत आगामी असारदेखि विभिन्न तहका अधिवेशनको मिति तय गरिसकेको र अझै केही जिल्ला तथा क्षेत्रको क्रियाशील सदस्यता विवरण टुङ्गिनसकेको अवस्था छ । यही जेठ २५ गतेसम्म कांग्रेसको वेबसाइटमा जम्मा आठ लाख ३१७ क्रियाशील सदस्यता विवरण ‘इन्ट्री’ भइसकेको केन्द्रीय कार्यालयका सचिव केशव रिजालले जानकारी दिए । अब सप्तरी र सिन्धुपाल्चोकको पूरै तथा बाराका केही क्रियाशील सदस्यता विवरण आउन बाँकी रहेको उनले बताए । त्यसमध्ये सिन्धुपाल्चोक जिल्ला कार्यसमितिले भने शनिबार विवरण पेश गर्ने बताइएको थियो । क्रियाशील सदस्यता विवरण बुझाउन बाँकी जिल्ला र क्षेत्रका लागि अतिरिक्त समय थप गर्ने तयारी छ ।
कांग्रेसले १४औँ महाधिवेशनका लागि पार्टीको गाउँ–नगर वडा अधिवेशन आगामी असार २० गते, गाउँ–नगरपालिका अधिवेशन असार २२ गते, प्रदेशसभा क्षेत्रीय अधिवेशन असार २५ गते, प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन–एक मात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन असार २७ गते तोकेको छ । यसैगरी एकभन्दा बढी प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन असार ३० गते, प्रदेश अधिवेशन आगामी साउन ६ गते र केन्द्रीय महाधिवेशन आगामी भदौ ७ देखि १० गतेसम्म काठमाडौँ गर्ने तालिका निर्धारण गरेको थियो ।
‘महाधिवेशन हुँदैन भनेर अल्मलिने अवस्था छैन’
नेपाली काँग्रेसका नेता डा मीनेन्द्र रिजालले पार्टीले क्रियाशील सदस्यता टुङ्ग्याएर महाधिबेशनमा लाग्नुपर्ने बताएका छन् । नेपाल तरुण दल अर्घाखाँची पाणिनी काठमाडौँ सम्पर्क समितिले ।शनिबार यहाँ आयोजना गरेको ‘नेपाली काँग्रेसको १४ औँ महाधिवेशनमा तरुण विद्यार्थीको भूमिका विषयक भर्जुअलकार्यक्रममा’ उनले मतदाता नामावली छिटोतय गरी महाधिवेशनमा लाग्नुपर्छ भने । ‘काँग्रेसले लामो समयसम्म क्रियाशील सदस्यता नदिएको कारण क्रियाशील सदस्यता लिनेक्रम बढेको छ, न्यायोचित रुपमा क्रियाशील सदस्यता विवाद टुङ्गाउनुपर्छ,’–उनले भने ।
पार्टीका केन्द्रीय सदस्य मानबहादुर विश्वकर्माले पार्टीको विधानअनुसार पार्टी सञ्चालन भएको भए काँग्रेसभित्र अहिलेको समस्या नआउने बताए । ‘पार्टी सभापतिले नै समयमा महाधिवेशन हुने विज्ञप्ती जारी गरिसकेको अवस्थामा महाधिवेशन हुँदैन भनेर अल्मलिने अवस्था छैन,’– उनले भने । काँग्रेस केन्द्रीय सदस्य पुष्पा भुसालले वर्तमान सरकारबाट लोकतन्त्र र संविधानमाथि प्रहार हुन खोजेको आरोप लगाउँदै यसको रक्षाका लागि काँग्रेस जुट्नुपर्ने बेला आएको बताइन । ‘लोकतन्त्र र संविधानको रक्षाका लागि काँग्रेसले अरु दलसँग सहकार्य गर्न लागेको हो,’– उनले भनिन ।
अर्का केन्द्रीय सदस्य जीवन परियारले निर्धारित समयमा नै काँग्रेसको १४ औँ महाधिवेशन सम्पन्न गर्नुपर्ने बताए । उनले अहिले काँग्रेस अप्ठ्यारो अवस्थामा भएको जनाउँदै यसबारे पार्टी नेतृत्व गम्भीर हुनुपर्ने उल्लेख गरे । काँग्रेसका पूर्व केन्द्रीय सदस्य रेवतीप्रसाद भुसाल, अर्घाखाँचीका जिल्ला सभापति विष्णुप्रसाद खनाल, नेपाल चिकित्सक सङ्घको पूर्व अध्यक्ष मुक्ति श्रेष्ठ, विद्यार्थी नेता शिवलाल पौडेललगायतले पार्टी बलियो बनाउन तरुण युवाको सक्रिय सहभागीताको आवश्यक रहेको बताएका थिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार