बुधबार, जेष्ठ २६ २०७८
काठमाडौं(जस)–स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिड–१९ को उपचार शुल्क सरकारले तोकेभन्दा बढी लिने स्वास्थ्य संस्थामाथि उजुरी गर्न अनुरोध गरेको छ । मन्त्रालयले कोरोना उपचारका क्रममा सरकारले तोकेको भन्दा बढी लिएको पाइएमा त्यस्ता स्वास्थ्य संस्थामाथि मन्त्रालय, उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्रालय, प्रदेशका सामाजिक विकास मन्त्रालय, जिल्ला प्रशासन कार्यालय र स्थानीय तहमा उजुरी गर्न अनुरोध गरेको छ ।
मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले सरकारले तोकेको भन्दा बढी शुल्क लिन गरेको जनगुनासो आएकोले उजुरी गर्न अनुरोध गरिएको बताए । उनले उजुरीको आधारमा त्यस्ता स्वास्थ्य संस्थालाई नियमानुसार कारवाही गरिने बताए । सरकारले सङ्क्रमितको उपचार व्यवस्थापनका लागि सामान्य बिरामीलाई रु तीन हजार ५०० प्रतिदिन, मध्यमबिरामीका लागि रु सात हजार प्रतिदिन र गम्भिर प्रकृतिका बिरामीलाई रु १५ हजार प्रतिदिन तोकेको छ ।
उक्त शुल्क सरकारी अस्पताल र सरकारले तोकेका अस्पतालमा सङ्क्रमित बिरामीको उपचार गरेवापत मन्त्रालयले ती अस्पताललाई शोधभर्ना दिने गरेको छ । सरकारले सबै सरकारी अस्पताल र मन्त्रालयले सार्वजनिक गरेको सूचिअनुसार सेवा सम्झौता गरेका नीजि अस्पतालमा सङ्क्रमितको भने निःशुल्क उपचारको व्यवस्था गरेको छ । मन्त्रालयले कुनै बिरामीले आफ्नै खर्चमा उपचार गर्न चाहेमा सरकारले तोकेको शुल्कमा ५० प्रतिशत थप शुल्क लिन सक्ने जनाएको छ । यसैगरी स्वास्थ्य मन्त्रालयले उद्योग मन्त्रालयले सरकारले तोकेको शुल्कअनुसार सङ्क्रमितको उपचार भए वा नभएकोबारे लिएका अनुगमन गर्न अनुरोध गरेको छ । मन्त्रालयका सहप्रवक्ता डा अधिकारीले सरकारले तोकेभन्दा बढी लिने अस्पताललाई कारवाही गर्न उद्योग मन्त्रालयले अनुरोध गरिएको जानकारी दिए ।
अक्सिजनका खाली सिलिण्डर उपलब्ध गराउन मन्त्रालयको अनुरोध
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले अक्सिजनका खाली सिलिण्डर उपलब्ध गराउन अनुरोध गरेको छ । मन्त्रालयले अक्सिजन सिलिण्डरको अभावले अस्पतालमा कोभिड–१९ सङ्क्रमितको उपचारमा समस्या भएकोले जतिसक्दो चाँडो सिलिण्डर सम्बन्धित उद्योगलाई उपलब्ध गराइदिनु आग्रह गरेको छ । मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले मंगलबार सूचना जारी गर्दै व्यक्ति, संस्था वा निकायलाई अक्सिजनको सिलिण्डर सम्बन्धित उद्योगलाई उपलब्ध गराउनु अनुरोध गरेका हुन् । उनले खाली सिलिण्डर समयमै भर्नका लागि उद्योगमा नपुग्दा अक्सिजनको आपूर्तिमा असर पर्ने भएकोले ति सिलिण्डर उपलब्ध गराउनु अनुरोध गरेका हुन् ।
“उपचारका लागि अत्यावश्यक हुने अक्सिजन सिलिण्डर विभिन्न कारणले देशमा विभिन्न भागमा व्यक्तिका घर, टोल र आइसोलेसन तथा अस्पतालमा पुगेका छन” उनले सूचनामा भनेका छन्, “ती सिलिण्डर समयमै र्नका लागि सम्बन्धित उद्योगमा नपुग्दा अक्सिजनको आपूर्ति प्रणालीमा असर गर्ने हुन्छ र अस्पतालमा जटिल उपचारमा रहेका व्यक्तिलाई अप्ठयारो हुन्छ । त्यसैले जुनसुकै व्यक्ति संस्था वा निकायले जुनसुकै वहानामा लैजानु भएका अक्सिजन सिलिण्डर यथासक्य चाँडो जुन उद्योगको हो सोही उद्योगमा भर्नका लागि उपलब्ध गराइदिनुहुन अनुरोध छ ।” उनले अस्पतललाई पनि अधिकतम मात्रामा अक्सिजन सिलिण्डर भनेर राख्नु हुन, अक्सिजन प्लान्ट वा टङ्याक मर्मत, जडान जतिसक्दो चाँडो गरी पूर्णक्षमतामा अक्सिजन सञ्चालनसमेत गर्न अनुरोध गरेका छन् । सहप्रवक्ता डा अधिकारीले सङ्ख्यात्मकरुपमा सङ्क्रमण केही कम भएको जस्तो लक्षण देखिएपनि महामारीको उच्च जोखिम कायमै रहेको उल्लेख गरेका छन् । अहिलेसम्म नेपालमा पाँच लाख ९१ हजार ४९४ सङ्क्रमण, चार लाख ९७ हजार ९६० निको र सात हजार ९९० सङ्क्रमणबाट निधन भइसकेका छन् ।
जर्मनीबाट प्राप्त भयो स्वास्थ्य उपकरण
कोभिड–१९ महामारीविरुद्ध लड्न नेपाल सरकारले गरेको अनुरोधअनुरूप सङ्घीय गणतन्त्र जर्मनीको सरकारले स्वास्थ्य उपकरण तथा सामग्री प्रदान गरेको छ । नेपालका लागि जर्मनीका राजदूत रोलाण्ड सेफेरले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा मंगलबार एक सङ्क्षिप्त कार्यक्रममा स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री शेरबहादुर तामाङलाई ६२ वटा भेन्टिलेटर, २७ हजार ५०० थान एफएफपीटू मास्क, ३० हजार सर्जिकल मास्क, १०० जोर गम बुट, पाँचवटा एकन्तबास त्रिपाल, २०० थान बडी ब्याग, २५ हजार लिटर निर्मलीकरण झोल हस्तान्तरण गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ । स्वास्थ्य उपकरणलगायत सामग्री प्रदान गरेकामा नेपाली जनता र नेपाल सरकारका तर्फबाट मन्त्री तामाङले जर्मन नागरिक र सरकारप्रति कृतज्ञता ज्ञापन गरे ।
पाँच हजार एक सय ५३ जना कोभिड–१९ का संक्रमित थपिए
मुलुकभरि पछिल्लो २४ घण्टामा पाँच हजार एक सय ५३ जना कोभिड–१९ का संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबार जारी गरेको तथ्याङ्कमा १७ हजार ६७६ नमूना परीक्षणमा पाँच हजार १५३ जनामा संक्रमण पुष्टि भएको हो । तीमध्ये १२ हजार ६५ पिसिआर परीक्षण गर्दा तीन हजार ८७० र पाँच हजार ६११ एन्टिजेन परीक्षण गर्दा एक हजार २८३ जनामा संक्रमण देखिएको छ । योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको संख्या पाँच लाख ९५ हजार ३६४ पुगेको छ । नेपालमा पिसिआर परीक्षण गरेकामध्ये संक्रमण दर १८.८ प्रतिशत रहेको छ ।
यस्तै मंगलबार छ हजार ५७० जना संक्रमित निको भएर घर फर्किएका छन् । नेपालमा निको हुने दर ८४.७ प्रतिशत रहेको छ । अहिलेसम्म निको भएर घर फर्किनेको संख्या पाँच लाख चार हजार ५३० पुगेको छ ।
मन्त्रालयका अनुसार विगत २४ घण्टामा कोरोना भाइरस संक्रमणबाट १०८ जनाको निधन भएको छ । योसँगै कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या आठ हजार ९८ पुगेको छ । नेपालमा प्रति दश लाखमा २७७.९ जनाको संक्रमणका कारणले निधन हुने गरेको मन्त्रालयले जनाएको छ । यसैगरी कोरोना भाइरस संक्रमितमध्ये एक हजार ३२१ जना सघन उपचार कक्ष (आइसियु) र ३७२ जना भेन्टिलेटरमा छन् । आइसियुमा प्रदेश नं. १ मा २०२, प्रदेश नं. २ मा ७२, वागमतीमा ७३८, गण्डकीमा ११४, लुम्बिनीमा १३७, कर्णालीमा ३४ र सुदूरपश्चिम प्रदेशमा २४ जना रहेका छन् ।
त्यस्तै भेन्टिलेटरमा प्रदेश नं. १ मा ३४, प्रदेश नं. २ मा २१, वागमतीमा २५४, गण्डकीमा २८, लुम्बिनीमा १९, कर्णालीमा ९ र सुदूरपश्चिम प्रदेशमा सात जना रहेका छन् । होम आइसोलेसनमा ७६ हजार ५५० र संस्थागत आइसोलेसनमा ६ हजार १८६ जना रहेका छन् । काठमाडौँ उपत्यकामा पछिल्लो २४ घण्टामा १२२६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयले दिएको पछिल्लो २४ घण्टाको अपडेट अनुसार काठमाडौँ जिल्लामा ८३६ जना, भक्तपुरमा १२१ र ललितपुरमा २६९ जनामा कोरोनामा कोरोना पुष्टि भएको छ । त्यस्तै काठमाडौँ उपत्यकामा अहिले १९ हजार ३७८ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जानकारी दिएको छ । जसमा काठमाडौँ जिल्लामा ११ हजार ४२३ सक्रिय संक्रमित रहेका छन् भने भक्तपुरमा ३ हजार ४५४ र ललितपुर जिल्लामा ४ हजार ५०१ सक्रिय संक्रमित रहेका छन् ।
जनसवाल दैनिक
दर्ता प्रमाणपत्र नंः १४३८/०७६-७७
ठेगाना: दरबारमार्ग-1- काठमाडौँ, नेपाल
ईमेल: [email protected]
मोबाईल नम्बर: 9851095345
© 2026 All right reserved | Site By : sobij