काठमाडौं(जस)–सर्वोच्च अदालतले राष्ट्रिय जनमोर्चाका गण्डकी प्रदेशका सांसद कृष्ण थापालाई पुनर्बहाली गर्न अन्तरिम आदेश दिएको छ । थापाले दायर गरेको रिटमा सुनुवाई गर्दै न्यायाधिश डा. कुमार चुडालको एकल इजलासले पदमुक्त भएका कृष्ण थापालाई सांसद पदमा पुनर्बहाली गर्न अन्तरिम आदेश दिएको हो । सर्वोच्चले मुद्धाको अन्तिम किनारा नलागेसम्म पदमा कायम राख्न आदेश दिएको छ ।
थापाले सर्वोच्च अदालतमा पार्टीले असंबैधानिक तरिकाले कारवाही गरेको भन्दै शुक्रबार रिट दायर गरेका थिए । थापालाई पार्टीले कारवाही गरेपछि प्रदेशको संसद सचिवालयले विहिबार थापालाई पद मुक्त भएको जानकारी गराएको थियो ।
जनमतको कदर भयो
गण्डकी प्रदेशसभाका सदस्य कृष्ण थापाले आफ्नो पद पुनः बहाली गराउने सर्वोच्च अदालतको अन्तरिम आदेशले जनताको भावनाको कदर भएको बताएका छन् । राष्ट्रिय जनमोर्चाबाट निर्वाचित बागलुङ क्षेत्र नम्बर १ (क) का सांसद थापालाई पार्टीको निर्देशन नमानेको भन्दै पदमुक्त गरिएको विरुद्धमा परेको रिटमा आइतबार अन्तरिम आदेश भएको हो । पद खारेज नगर्न अन्तरिम आदेश आएपछि कुरा गर्दै थापाले जनताको भावनामाथि अदालतले कदर गरेको भन्दै थप ससक्त भएर आफ्नो जिम्मेवारी पूरा गर्ने बताए ।
“विपक्षी नेपाली काँग्रेसलाई सरकार बनाउन मेरै पार्टीले कारबाही गर्यो, जनताको भावनाविपरित जादिनँ भन्ने अडान कायमै थियो” सांसद थापाले भने, “अदालतले पुन ःबहाली गरेको छ, मैले आफ्नो अठान फेरि पनि छोड्दिन, अब पनि काँग्रेसको गठबन्धनलाई सहयोग गर्दिनँ ।” थापाले आफ्नो क्षेत्रमा विकास निर्माणले गति लिएकोमा सांसद पद जाँदा जनातामा निराशा छाएको भन्दै विकासका बाँकी काम पुरा हुनेमा आशावादी भएको बताए ।उनले पार्टीले समेत कारबाही फुकुवा गर्ने आशा व्यक्त गरे । ‘जनमोर्चा अझै हिमालको डाँफेको जस्तै छाती भएको पार्टी हो भन्ने लाग्छ, फिस्टे चराको जस्तो छाती हुनु हुदैन’ थापाले भने । उनले कम्युनिष्टहरु मिल्नुको विकल्प नभएको स्पष्ट गरे ।