आइतबार, साउन १० २०८३

आइतबार, साउन १० २०८३

ओलीको नयाँ प्रस्ताव अलमलाउने अस्त्र : नेपाल पक्ष

शुक्रबार, जेष्ठ २१ २०७८

काठमाडौं(जस)–नेकपा एमालेको माधवकुमार नेपाल निकट नेताहरुको केन्द्रीय कमिटी बैठकले प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले आफुहरुलाई अलमलमा पार्न नयाँ कार्ड खेलेको निष्कर्ष निकालेको छ । बिहीबार नेपाल–खनाल पक्षले आयोजना गरेको भर्चुअल बैठकमा अध्यक्ष ओलीको चर्को आलोचना भएको छ । बैठकमा बोल्ने अधिकांश नेताहरुले ओलीले सहमतिका नाममा अलमलाउन खोजेको निष्कर्षसमेत निकालेका छन् ।
पार्टी विधि र विधानलाई समेतको धज्जी उडाएर ओलीले एकपछि अर्को कदम चालिरहेको भन्दै नेताहरुले कुनै कार्डबाट अलमलिन नहुने समेत बताएका छन् । पूर्वप्रधानमन्त्री झलनाथ खनालले कुनै अलमल नगरी नयाँ दल खोल्ने तयारीमा लाग्नुपर्नेमा जोड दिएको बैठकमा सहभागी एक नेताले बताए । उनले ओलीसँग सहमति हुन नसक्नेमा निश्चिन्त हुन समेत आग्रह गरे ।
नेता सुरेन्द्र पाण्डेले सहमतिका लागि भइरहेको वार्तामा कुनै ठोस नतिजा आउने संकेत नदेखिएको स्पष्ट पारे । उनले वार्ता अलमलाउने अस्त्र मात्र देखिएको बताउँदै पटक–पटक वार्ता गर्दा पनि २ जेठ २०७५ मा फर्कन ओली तयार नभएको उल्लेख गरे । अधिकांश नेताहरुले अब अलमलिए कम्युनिस्ट आन्दोलनलाई झन् ठूलो क्षति पुग्नेतर्फ सचेत गराए । उनीहरुले कम्युनिस्ट आन्दोलनलाई जिवित राख्न पनि कठोर कदम चाल्नुपर्नेमा जोड दिए ।
हामी बुढा भयौँ, क्रान्तिको नेतृत्व युवाहरूले गर्नुस् ः झलनाथ खनाल
एमालेका वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले पार्टीका पहिलो पुस्ताका नेतालाई बिदा दिन आग्रह गरेका छन् । इतिहास, समाज र देशको वस्तुगत आवश्यकताले कम्युनिस्ट आन्दोलनलाई पुनर्गठन गर्नुपर्ने अवस्था रहेको भन्दै खनालले नेतृत्व लिन आग्रह गरेका हुन् । विहिबार नेपाल–खनाल समूहको केन्द्रीय सदस्यहरूको भर्चुअल बैठकलाई सम्बोधन गर्दै खनालले विश्व कम्युनिस्ट आन्दोलनलाई जसरी युवा पुस्ताले आँट र साहस गरेर अगाडि बढाए त्यसैगरी अब नेपाली कम्युनिष्ट आन्दोलनलाई पनि युवाले अघि बढाउनु पर्ने बताए । भने, ‘हामी बुढा पनि भयौँ । तपाईंहरू आराम गर्नुस् भन्नुहुन्छ भने हामी तयार छौँ । तपाईंहरूले भन्नु पनि पर्छ । विश्व कम्युनिस्ट जसरी युवा पुस्ताले आँट, साहस गरे र क्रान्तिलाई अघि बढाए, अब तपाईंहरूले पनि आँट गर्नुपर्छ । तपाईंहरू भन्नुहुन्छ भने हामी अझै केही समय लतारिन तयार त छौँ तर अब तपाईंहरूले नै आँट गर्नुपर्छ ।’
खनालले अध्यक्ष केपी शर्मा ओली जेठ २ मा फर्कन तयार भए सकारात्मक नभए कम्युनिस्ट आन्दोलन पुनर्गठनका लागि तयारी गर्न आग्रह समेत गरे । भने, ‘अर्को पक्षसँग जे वार्ता, छलफल भइरहेको छ, यदि अनौपचारिक ढंगले भइरहेको छलफलहरू पनि २ जेठको सांगठनिक संरचनामा पुगेर अगाडि बढ्नका लागि केपी ओली तयार छन् भने सकारात्मक कुरा हो । कम्युनिस्ट आन्दोलनलाई विभाजन, विखण्डन गरेर क्रम बढिरहेको वेला २ जेठमा उभिएर पार्टीलाई सांगठनिक रूपले एकताबद्ध बनाएर त्यहीँभित्र वैचारिक रूपले संघर्ष गर्ने ठाउँ रहन्छ, विमतिलाई बिस्तारै निष्कर्षमा लैजान सकिन्छ । तर, त्यसो हुँदैन भने कम्युनिस्ट आन्दोलन पुनर्गठनका लागि तयारी गर्नुस् ।’
उनले विश्व कम्युनिस्ट आन्दोलनमा पहिलो चरणमा कार्ल माक्र्स, दोस्रो र तेस्रो चरणमा लेनिनले आँट गरेर क्रान्तिलाई नयाँ दिशा दिएकाले नेपालमा पनि दोस्रो र तेस्रो पुस्ताका युवाहरूले आँट गरेर कम्युनिस्ट आन्दोलनलाई नयाँ दिशा दिनुपर्नेमा जोड दिए । ओलीबाट भने कम्युनिष्ट आन्दोलन नबच्ने उनको भनाई छ । ‘केपी ओली कम्युनिष्ट नै होइनन् । उनीबाट आन्दोलन जोगिंदैन,’ खनालले भने ।
ओलीले पार्टी र आन्दोलन विसर्जन गर्न खोजे हामी पुनर्गठन गर्छौं
नेकपा (एमाले) को वरिष्ठ नेता माधवकुमार नेपाल समूह निकट जनसंगठनहरुले पार्टीको, जनसंगठन र पेशागत सगठनका सबै संरचनाहरुलाई २०७५ जेठ २ गतेको स्थितिबाट सक्रिय नबनाए पार्टी र आन्दोलन विर्सजनको बाटोमा जाने बताएका छन् । उनीहरुले पार्टी र आन्दोलनलाई विसर्जनलाई रोक्न फागुन २८ यता अध्यक्ष ओलीले गरेका निर्णय सच्याउन पनि माग गरेका हुन् । विहिबार १७ जनसंगठनका प्रमुख तथा प्रतिनिधिहरुले सामूहिक विज्ञप्ति जारी गर्दै पार्टी र आन्दोलन विर्सजनको बाटोमा जाने अवस्था भए पार्टी पुन गठन गर्ने चेतावनी समेत दिएका छन् । ‘जनताको लामो र कठोर संघर्षबाट प्राप्त उपलब्धिहरुको रक्षाको निम्ति, गौरवमय इतिहास बोकेको पार्टी र आन्दोलनको रक्षाको निम्ति पार्टीलाई नयाँ शिराबाट एकताबद्ध गरेर क्रान्तिको नयाँ झन्डा उठाउनुपर्नेछ । इतिहासको यो आदेश र आबश्यकता निम्ती नयाँ प्रतिबद्धता र दृढताकोसाथ उभिन हामी तयार रहेको पनि जानकारी गराउन चाहन्छौं,’ विज्ञप्तिमा छ ।
उनीहरुले आफूहरु पार्टी एकताको पक्षमा रहेको पनि प्रष्ट पारेका छन् । उनीहरुले भनेका छन्, ‘हामी चाहन्छौं, आम नेता तथा कार्यकर्ता चाहन्छन्, ‘एकताबद्ध नेकपा (एमाले)कै नेतृत्वमा कम्युनिष्ट आन्दोलन सृदृढ बनोस् ।’ हामी चहान्छौं, ‘नेकपा (एमाले) कै नेतृत्वमा नेपाली जनताको समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकांक्षा पूरा होस् ।’ यसको निम्ति पार्टी, जनसंगठन र पेशागत सगठनका सबै संरचनाहरुलाई २०७५ जेठ २ गतेको स्थितिबाट केन्द्रदेखि स्थानीयतहसम्म क्रियाशील बनाइयोस् ।’

प्रतिक्रिया
सम्बन्धित समाचार