काठमाडौ।स्वावलम्बन लघुवित्तले जारी निशेधाज्ञाबाट प्रभाबीत दैनिक आय आर्जन गर्न नसकेका विपन्न परिवारलाई १४० वटा शाखा कार्यालयमार्फत खाद्य समाग्री राहत स्वरुप उपलब्ध गराएको छ।
वित्तीय संस्थाका सबै शाखा÷उपशाखा कार्यालयले न्यून आय भएका र हालको विषम परिस्थितिमा अप्ठ्यारोमा परेका सदस्यहरुलाई उनीहरुको घरदैलोमा राहत उपलब्ध गराउने योजना अनुरुप संस्थाका विभिन्न शाखा कार्यालयहरुले दैनिक रुपमा खाद्य सामग्री चामल, दाल, नुन र तेल उपलब्ध गराउने अभियान जारी राखेको संस्थाले जनाएको छ । यसका अतिरिक्त वित्तीय संस्थाले कार्यक्रममा आवद्ध ग्राहक सदस्यहरुलाई कोभिड–१९ पोजिटिभ देखिएका र आइसोलेसनमा बसेका सदस्यलाई आर्थिक लगायत औषधोपचारका राहत प्याकेज समेत ल्याउन लागेको बित्तिय संस्थाका प्रबन्धक राजेन्द्र धितालले बताएका छन।
राष्ट्रिय स्तरको कार्यक्षेत्र रहको स्वावलम्बन लघुवित्त वित्तीय संस्था लि.ले हाल ६१ जिल्लामा रहेका १४० वटा शाखा कार्यालय साथै ९ वटा इलाका कार्यालय मार्फत २ लाख ५१ हजार सदस्य तथा परिवारलाई प्रत्यक्ष लघुवित्त सेवा तथा विभिन्न गैर वित्तीय, दक्षता अभिवृद्धि लगायतका सेवा प्रदान गर्दै आएको छ ।
वित्तीय संस्थाले गत वर्ष समेत कोरोना भाइरस (कोभिड–१९) संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा जम्मा रु.१ करोड ५७ लाख २८ हजार १ सय २१ सहयोग उपलब्ध गराएको थियो । यसैगरी, सात वटै प्रदेशमा रहेका शाखा÷उपशाखा कार्यालय मार्फत १५० वटा स्थानीय निकायलाई रु.१० लाख आर्थिक सहयोग उपलब्ध गराएको थियो । वित्तीय संस्थाले कोभिड–१९ कारण समस्यामा परेका विपन्न ग्राहक सदस्यलाई विभिन्न शाखा कार्यालय मार्फत राहत सामग्री खाद्यान्न समेत वितरण गरेको थियो ।
