आइतबार, साउन १० २०८३

आइतबार, साउन १० २०८३

संसद विघटनविरुद्ध विपक्षी दलहरु आज अदालत जाने

सोमबार, जेष्ठ १० २०७८

चुनावी सरकारमा आउन प्रम ओलीको प्रस्ताव
काठमाडौँ । विपक्षी दलहरुले संसद विघटनविरुद्ध आज अदालत जाने भएको छ । आइतबार सर्वोच्च अदालत जानुअघि सिंहदरबारमा नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, जसपा र एमालेको माधवकुमार नेपाल पक्षका सांसदहरु हस्ताक्षर र नागरिकता संकलन भइरहेको भएपनि तयारी पुरा नभएको भन्दै सोमबार मात्र अदालत जाने भएका हुन् ।
नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आइतबार सबै कागजपत्र तयार गरेर सोमबार बिहान १० बजे सर्वोच्च जाने जानकारी दिएका छन् । आइतबार सिंहदरबारस्थित काँग्रेस संसदीय दलमा काँग्रेसका सांसद, माओवादी संसदीय दलको कार्यालयमा माओवादी र जसपा संसदीय दलका कार्यदलमा जसपाका सांसदहरु हस्ताक्षर र नागरिकता संकलन गरिएको थियो । त्यसपछि संसद भवन वानेश्वरमा विपक्षी दलका सांसदहरुसहित छलफल समेत गरिएको छ । विपक्षी दलहरु काँग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन परमादेशको माग गर्दै रिट दायर गर्ने तयारी गरेको काँग्रेस नेता रमेश लेखकले बताएका छन् ।
स्थानीय तहसम्मै कार्यगत एकता
राष्ट्रपति र प्रधानमन्त्रीको मिलेमतोमा गरिएको प्रतिनिधिसभा विघटन र मध्यावधि निर्वाचन घोषणाविरुद्ध एकजुट बनेको पाँच दलीय विपक्षी गठबन्धनले स्थानीय तहसम्मै कार्यकगत एकता गर्ने सहमति गरेको छ । आइतबार बानेश्वरमा भएको विपक्षी गठबन्धनका शीर्ष नेताहरुबीच बैठकमा केन्द्रमा जस्तै मातहतका सबै कमिटीमा एकजुट भएर ओलीको कदमविरुद्ध लागि पर्ने निर्णय भएको कांग्रेस नेता गगन थापाले जानकारी दिए । ‘केन्द्रमा पाँच शक्तिबीच जसरी मोर्चाबन्दी भएको छ, त्यस्तै मातहतका कमिटीमा पनि यी पाँच वटै शक्तिबीच मोर्चाबन्दी गरेर सरकारविरुद्ध राजनीति र न्यायिक लडाई लड्ने सहमति भएको छ’, थापाले भने, ‘सम्बन्धित पार्टीले आफ्ना मातहतका कमिटीलाई निर्देशन दिने शीर्ष नेताहरुबीच सहमति भएको छ ।’
सहमतिअनुसार आइतबार पाँच वटै दलका नेताहरुले आआफ्नो पार्टी कमिटीलाई निर्देशन गर्ने थापाको भनाइ छ । बैठकमा कांग्रेस, माओवादी केन्द्र, जसपाको उपेन्द्र यादव समूह, एमालेको माधवकुमार नेपाल समूह र जनमोर्चाका नेताहरुको सहभागिता थियो । जेठ ७ मा कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा प्रस्ताव गरेर विपक्षी गठबन्धनले राष्ट्रपतिसमक्ष १४९ सांसदको हस्ताक्षरसहित दावी पेश गरेको थियो । तर सो हस्ताक्षरलाई राष्ट्रपतिले वैधता दिइनन् ।
यस्तै एमाले अध्यक्ष केपी ओलीले पनि आफ्नो पक्षमा १५३ सांसद रहेको दावी पेश गरेका थिए । तर दुबै पक्षले बुझाएको हस्ताक्षरका कैफियत देखाउँदै राष्ट्रपतिले आफ्नो आह्वान अनुसार संविधानको धारा ७६(५) अनुसार सरकार बन्न नसकेको उल्लेख गरेकी थिइन् । लगत्तै प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद् बैठक राखेर संसद विघटनको सिफारिस गरेका थिए भने राष्ट्रपतिले पनि तुरुन्तै स्वीकृत गरेकी थिइन् । राष्ट्रपतिको कदमपछि शनिबार विपक्षी गठबन्धनको बैठक बसेर राष्ट्रपति र प्रधानमन्त्रीको निर्णयप्रति राजनीतिक र कानुनी लडाइँ लड्ने निर्णय भएको थियो । सोही अनुसार गठबन्धन सोमबार सर्वोच्च जाने भएको छ भने ओलीविरुद्ध देशभर नै एकजुट भएर लड्न लागेको हो ।
चुनावी सरकारमा आउन ओलीको प्रस्ताव
प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो नेतृत्वको सरकारलाई चुनावी सरकार बनाउन प्रस्ताव गरेका छन् । आइतबार ( पत्रकार सम्मेलन गरी एमाले अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीले यही सरकारलाई चुनावी सरकार बनाउन प्रस्ताव गरेका हुन् । उनले भने, ‘सात मन्त्रालय खाली नै छन् । संविधानले २५ भन्दा बढी बनाउन नपाउने भनेको छ । दलहरुको संसदको हैसियत अनुसार बाँडेर यही सरकारलाई राष्ट्रिय सरकार बनाउन सकिन्छ । यही सरकारलाई चुनावी सरकार बनाउन सकिन्छ ।’
प्रधानमन्त्री ओलीले चार जना ७० कटेका मान्छेको महत्वकांक्षाले देश बिग्रदै गएको बताएका छन् । ओलीले पूर्व प्रधानमन्त्री भइसकेका, पार्टी सभापति बनेका, १५ वर्ष पार्टी नेतृत्व गरेका मान्छे नै अहिले लडाइँ लडिरहेको भन्दै उनीहरुको अतृप्त भोकलाई कहिल्यै चित्त बुझाउन नसकिने भन्दै अगस्त्य शैली भएको बताएका हुन् । ‘कुनै भ्रममा नपर्नुहोस् । अहिले अस्वस्थता मच्चाउने को छन् ? चार पल्ट प्रधानमन्त्री भएका, पार्टी सभापति भइसकेका, ७० भन्दा माथि उमेर कटिसकेका, अब लिनु र दिनु केही नभएका मान्छे अस्तव्यस्तता मच्चाइरहेका छन् । युवाको भविष्य र बालबालिकाको भविष्य होइन। आफ्नो अहम् र आफ्नो इगोको चिन्ताका लागि लडेका छन्’, प्रधानमन्त्री ओलीले भने, ‘१५–१५ वर्ष पार्टी नेतृत्व गरेका र प्रधानमन्त्री भइसकेका भएका मान्छे । फेरि आफ्नो अहंकार र आफ्नो इगोको लागि अहिलेको लडाइँ लडिरहेका छन्। यो अस्तव्यस्तता तिनै चारजना मान्छेको स्वार्थ, अतिप्त भोक, कहिल्यै चित्त नबुझाउने, कहिल्यै पेट नभरीने, कहिल्यै तिर्खा नभेटिने अगस्त्य महत्वकांक्षा छ । त्यस महत्वकांक्षाले देश बिग्रदैछ ।’
ओलीले आफूविरुद्ध सक्रिय चार नेतालाई अगस्ति ऋषिको संज्ञा दिएका हुन् । पुराणमा वर्णित कथा अनुसार अगस्ति भनेका समुन्द्रको सम्पूर्ण जल पान गर्ने एक ऋषि हुन् । अगस्ति ऋषि मित्रावरुणले उर्वशीलाई देख्दा पतन भएको वीर्य कुम्भमा पर्दा जन्मेको मानिन्छ । ओलीले पूर्व प्रधानमन्त्री एवम् कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, एमाले वरिष्ठ नेता माधवकुमार नेपाल र डा.बाबुराम भट्टराईतर्फ लक्षित गर्दै अगस्तिको संज्ञा दिएका हुन् । ओलीले युवा पुस्तालाई सत्ताको पाइसकेकाको स्वार्थका पछाडि नलाग्न आग्रह गर्दै देश र जनताप्रति इमान्दार बन्न आग्रह गरे । ओलीले देशलाई बर्बाद नगर्न युवा पुस्तालाई अनुरोध समेत गरेका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार