आइतबार, साउन १० २०८३

आइतबार, साउन १० २०८३

प्रतिनिधिसभा विघटनविरुद्ध यस्तो छ विपक्षी दलको रणनिती

आइतबार, जेष्ठ ९ २०७८

संविधान रक्षाका लागि एकजुट बनौं : देउवा
प्रतिनिधिसभा विघटन अजरानीतिक : अध्यक्ष दाहाल
राजनीतिक र कानूनी उपचार खोज्ने माओवादी केन्द्रको निर्णय

काठमाडौं(जस)–नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा(एमाले)को नेपाल समूह र जनता समाजवादी पार्टी नेपालको उपेन्द्र यादव समूहले प्रतिनिधिसभा विघटनविरुद्ध संवैधानिक र राजनीतिक प्रतिवाद गर्ने निर्णय गरेका छन् । संघीय संसद् भवन नयाँ बानेश्वरमा शनिबार बसेको ती राजनीतिक दलको संयुक्त बैठकले नयाँ सरकार गठन हुने अवस्था रहँदारहँदै असंवैधानिक तरिकाले प्रतिनिधिसभाको विघटन गरिएको जनाउँदै विपक्षीले संयुक्त रुपमा प्रतिवाद गर्ने निर्णय गरेको हुन् ।
बैठकपछि ती राजनीतिक दलले जारी गरेको संयुक्त प्रेस विज्ञप्तिमा प्रतिनिधिसभा रातारात विघटन गर्ने राष्ट्रपति र प्रधानमन्त्रीको कार्य असंवैधानिक, अलोकतान्त्रिक र स्वेच्छाचारी भएको जनाउँदै निन्दा गरिएको छ । प्रतिनिधिसभा विघटनपछि मुलुकमा राजनीतिक अनिश्चय, अन्योल र अराजकता सिर्जना भएको जनाउँदै ती दलले एकताबद्ध भई राजनीतिक र कानूनी रुपमा प्रतिवाद गर्न आफूहरु प्रतिबद्ध रहेको बताएका छन् । विज्ञप्तिमा भनिएको छ, ‘राष्ट्रपति र प्रधानमन्त्रीबाट प्रतिनिसभाको विघटन गर्ने प्रतिगमनकारी कार्यका विरुद्ध एकजुट भई नेपाली जनताको लामो आन्दोलन, संघर्ष र बलिदानबाट स्थापित नेपालको संविधानमा अन्तरनिहित संघीय लोकतान्त्रिक गणतन्त्र, समावेशी लोकतन्त्र एवम् नेपालको सर्वोपरी राष्ट्रिय हितको रक्षाका लागि दृढतापूर्वक अगाडि बढ्न हामी सम्पूर्ण राजनीतिक दल तथा जनसमुदायमा हार्दिक आह्वान गर्दछाँै ।’
नयाँ प्रधानमन्त्रीमा नियुक्तिका लागि आफूहरुका तर्फबाट प्रतिनिधिसभाका १४९ सदस्यको हस्ताक्षरसहित राष्ट्रपतिसमक्ष दावी गरिए पनि अस्वीकार गरिनु गलत भएको उनीहरुको ठहर छ । जारी संयुक्त वक्तव्यमा कांग्रेसका सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, एमालेका नेता माधवकुमार नेपाल, जसपाका अध्यक्ष उपेन्द्र यादव र राष्ट्रिय जनमोर्चाका उपाध्यक्ष दुर्गा पौडेलले हस्ताक्षर गरेकी छन् ।
बैठकपछि माओवादी केन्द्रका अध्यक्ष दाहालले राष्ट्रपति र प्रधानमन्त्रीको कदमविरुद्ध राजनीतिक, संवैधानिक प्रतिरोध गरिने बताए । उनले भने, ‘हामी हिजोका सबै १४९ जनाको हस्ताक्षर लिएर सर्वोच्च अदालतमा रिट निवेदन हाल्न जान्छौंँ र राजनीतिक रुपमा समेत प्रतिवाद गर्छौँ ।’ उनले आगामी कात्तिक–मंसिरमा घोषणा गरिएको निर्वाचन वास्तविक रुपमा गराउनका लागि नभएको आरोप पनि लगाए ।
संविधान रक्षाका लागि एकजुट हुन सभापति देउवाको आह्वान
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सङ्घीय लोकतान्त्रिक गणतन्त्र र नेपालको संविधानको रक्षाका लागि सबै लोकतन्त्रवादी शक्तिलाई एकजुट हुन आह्वान गरेका छन् । उनले शनिबार वक्तव्यमार्फत सङ्घीय लोकतान्त्रिक गणतन्त्र र संविधानको रक्षार्थ राजनीतिक र न्यायिक लडाइँ लड्ने प्रतिबद्धतासमेत व्यक्त गरेका छन् । उनले एकपटक प्रतिनिधिसभाबाट विश्वासको मत लिन असफल भई संसद्मा स्पष्ट अल्पमतमा परिसकेका र अर्को पटक बहुमत देखाउन नसक्ने स्वयं घोषणा गरिसकेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई पुनःप्रधानमन्त्री नियुक्त गरिएकामा आपत्ति जनाउँदै संविधानको व्यवस्था र भावनानुसार प्रधानमन्त्री ओलीले प्रधानमन्त्रीका लागि दावी गर्न नसक्ने जिकिर गरेका छन् । उनले त्यस्तो दावीलाई स्वीकार गरी पुनः उनलाई नै प्रधानमन्त्री तोक्ने कार्य असंवैधानिक भएको आरोप लगाएका छन् । राष्ट्रपति र प्रधानमन्त्रीेले नेपालको संविधान समाप्त गर्न उद्दत रहेको आरोप पनि उनले लगाएका छन् ।
प्रतिनिधिसभा विघटन अजरानीतिक : अध्यक्ष दाहाल
नेकपा(माओवादी केन्द्र)ले नयाँ सरकार गठन हुने अवस्था कायम रहेको जिकिर गर्दै प्रतिनिधिसभाको विघटन गरी नयाँ निर्वाचनको मिति तोकिएकामा आपत्ति जनाएको छ । सो पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शनिबार विज्ञप्ति जारी गरी प्रतिनिधिसभाका १४९ जना सदस्यको हस्ताक्षरसहित नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालाई नयाँ प्रधानमन्त्रीमा दाबी गरिएको उल्लेख गरेका छन् । संविधानको धारा ७६ (५) बमोजिम नयाँ प्रधानमन्त्रीा दाबी गर्ने दुवै पक्ष (केपी शर्मा ओली र देउवा) को आधार बलियो नभएको भन्दै शनिबार राष्ट्रपति विद्यादेवी भण्डारीले आगामी कात्र्तिक २६ र मङ्सिर ३ गते निर्वाचनको मिति तोकेकी छन् ।
अध्यक्ष दाहालले प्रतिनिधिसभाको विघटनविरुद्ध उभिन सबै राजनीतिक दल तथा नागरिक समाजलाई आग्रह गर्दै मुलुक कोरोना महारमारीबाट आक्रान्त भएको अवस्थामा सबैको ध्यान महामारी नियन्त्रणमा हुनेपर्नेमा पनि जोड दिएका छन् । यसैगरी विभिन्न राजनीतिक दल सम्बद्ध युवा संगठनले प्रतिनिधिसभाको विघटनको विरोध गरेका छन् । राष्ट्रपतिको आव्हानकै आधारमा तोकिएकै समयमा सभापति देउवालाई प्रधानमन्त्रीमा प्रस्ताव गर्दै १४९ संसदले दाबी पेश गरेको भन्दै उनीहरुले सरकारले संवैधानिक संकट निम्त्याएको आरोप लगाएका छन् । विरोध गर्नेमा नेपाल तरुण दलका अध्यक्ष जितजंग बस्नेत, वाइसिएलका अध्यक्ष रामप्रसाद सापकोटा, युवा संघ नेपालका नरेशकुमार शाहीलगायत छन् ।
राजनीतिक र कानूनी उपचार खोज्ने माओवादी केन्द्रको निर्णय
नेकपा (माओवादी केन्द्र)ले नयाँ सरकार गठन हुने अवस्था रहँदारहँदै प्रतिनिधिसभा विघटन गरिएको जनाउँदै त्यसविरुद्ध राजनीतिक एवम् कानूनी उपचार खोज्ने भएको छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा शनिबार बसेको स्थायी समितिको बैठकले प्रतिनिधिसभा विघटनविरुद्ध सबै राजनीतिक दल, नागरिक समाज तथा सरोकार पक्षसँग मिलेर संयुक्त संघर्ष गर्ने निर्णय गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।
प्रवक्ता श्रेष्ठले प्रतिनिधिसभा विघटन र कोरोना कहरमा गरिएको चुनाव घोषणा असंवैधानिक र निरंकुश भएको बैठकले ठहर गरेको जानकारी दिए । उनले गत पुस ५ गतेजस्तै प्रधानमन्त्रीले संविधानको मर्म र भावना विपरीत प्रतिनिधिसभा विघटन गरेको र नयाँ सरकार बन्ने अवस्था रहँदारहँदै पनि राष्ट्रपतिले त्यसलाई ध्यान दिन नसकेको आरोप लगाउँदै त्यसविरुद्ध अग्रगमनका पक्षधरसँग एकताबद्ध भई राजनीतिक र कानूनी संघर्ष अगाडि बढाउने निर्णय गरिएको बताए ।

प्रतिक्रिया
सम्बन्धित समाचार