काठमाडौ(जस)-पूर्व प्रधानमन्त्री डा.बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीले फेरि संसद विघटन गर्नु गणतन्त्र र संविधान खारेज गर्ने प्रपञ्च भएको बताएका छन् । सामाजिक सञ्जाल ट्वीटरमा प्रतिक्रिया लेख्दै भट्टराईले भित्री र बाहिरी प्रतिगामी शक्तिहरुको षडयन्त्रमा गएको पुस ५ गते भएको संसद विघटन फेरि दोहोर्याउनु गणतन्त्र र संविधान खारेज गर्ने प्रपञ्च भएको बताएका हुन् ।
‘भित्री/बाहिरी प्रतिगामी शक्तिहरूको षडयन्त्रमा गत पुस बाट जुन अलोकतान्त्रिक असंवैधानिक प्रतिक्रान्तिकारी हर्कत शुरू भएको थियो, त्यसैको कडी हो यो’, भट्टराईले ट्वीटमा लेखेका छन्, ‘यो’ कुनै मध्यावधि चुनाव होइन, संघीय लोकतान्त्रिक गणतन्त्र र संविधान खारेज गर्ने प्रपञ्च हो।’
राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानन्त्री ओलीको कुकर्मविरुद्ध एकजुट भएर प्रतिवाद गर्न पनि भट्टराईले सबैलाई आह्वान गरेका छन् । राष्ट्रपति भण्डारीले मन्त्रिपरिषदको सिफारिसमा मध्यरातमा प्रतिनिधि सभा विघटन गरी कात्तिक २६ र मंसिर ३ गते मध्यावधि चुनाव घोषणा गरेकी छन् ।