शनिबार, साउन ९ २०८३

शनिबार, साउन ९ २०८३

राष्ट्रपतिबाट नयाँ सरकार बनाउन दिएको आज ५ बजेसम्मको समयमा नयाँ सरकार बन्ला ?

शुक्रबार, जेष्ठ ७ २०७८

काठमाडौं(जस)–राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारले विश्वासको मत लिन सक्ने राजनीतिक आधार नभएको भनी प्रधानमन्त्रीका आग्रहका आधारमा नेपालको संविधानको धारा ७६ को उपधारा ५ बमोजिम नयाँ सरकार गठनका लागि आह्वान गरेकी छन् । राष्ट्रपति भण्डारीले २४ घण्टाको समय दिदैं प्रधानमन्त्री नियुक्तिको प्रयोजनका लागि यही जेठ ७ गते साँझ ५ बजेभित्र प्रतिनिधिसभामा विश्वासको मत प्राप्त गर्न सक्ने आधार प्रस्तुत गर्न प्रतिनिधिसभाका सदस्यलाई आह्वान गरेकी हुन् ।
गत वैशाख २७ गते विश्वासको मत लिने प्रधानमन्त्री ओलीको प्रस्ताव प्रतिनिधिसभाको बहुमतबाट अस्वीकृत भएपछि संविधानको धारा ७६ को उपधारा २ बमोजिम प्रतिनिधिसभाका दुई वा दुईभन्दा बढी दललाई नयाँ प्रधानमन्त्रीमा दावी गर्न आह्वान गरिएकामा पेश नभएपछि वैशाख ३० गते राष्ट्रपतिले संविधानको धारा ७६ (३) बमोजिम प्रतिनिधिसभामा सबैभन्दा बढी सदस्य भएको संसदीय दल नेकपा (एमाले) का अध्यक्ष ओलीलाई प्रधानमन्त्रीमा पुनः नियुक्त गरेकी थिइन ।
यसरी नियुक्त प्रधानमन्त्रीले एक महिनाभित्र विश्वासको मत लिनुपर्ने व्यवस्था रहेकामा ‘हाल विकसित राजनीतिक परिस्थितिमा वर्तमान सरकारलाई विश्वासको मत प्राप्त हुने दह्रो राजनीतिक आधार नदेखिएको, वैशाख २७ गतेको भन्दा स्थितिमा तात्विक अन्तर नदेखिएको र मुलुकलाई अन्योलमा राख्न उचित नभएको हुँदा वैकल्पिक सरकार गठनका लागि मार्गप्रशस्त गर्न उपयुक्त देखिएका’ले प्रधानमन्त्री नियुक्तिसम्बन्धी प्रक्रिया आरम्भ गर्न नेपाल सरकार मन्त्रिपरिषद्को बिहीबारको बैठकबाट निर्णय भएको र सोबमोजिम प्रधानमन्त्रीले आग्रह गरेको राष्ट्रपतिले उक्त आह्वान गरेको राष्ट्रपतिको कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेले जारी गरेको विज्ञप्तिमा जनाइएको छ । नयाँ आह्वानबमोजिम सरकार गठन हुन नसकेमा मुलुकमा मध्यावधि निर्वाचनका मिति तोक्नुपर्ने हुन्छ ।
बिहीबार बसेको मन्त्रीपरिषद बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत नलिने जानकारी गराएका थिए । प्रधानमन्त्री नियुक्त भएको ३० दिनभित्र विश्वासको मत लिने प्रक्रियामा नगई ओलीले संविधानको धारा ७६ को उपधारा ५ बमोजिमको सरकार गठन गर्न मार्ग प्रशस्त गर्ने निर्णय गरेको कानुन, न्याय तथा संसदीय मामिला मन्त्री लिलानाथ श्रेष्ठले बताए । मन्त्रिपरिषद्को बिहीबारको बैठकले जेठ ९ गते प्रतिनिधिसभा बैठक बोलाउन राष्ट्रपतिलाई सिफारिस गर्ने निर्णय गरेको थियो ।
वैशाख २७ गते संसदमा भएको मतदानमा ओलीले विश्वास गुमाएका थिए । तर कसैले बहुमतको सरकार दाबी नगरेपछि वैशाख ३० गते संसदमा रहेको सबैभन्दा ठूलो दलको हैसियतमा ओली प्रधानमन्त्री नियुक्त भएका थिए । उनले जेठभित्र संसदबाट विश्वासको मत लिनुपर्ने थियो । बिहिबारको मन्त्रीपरिषद्को बैठकमा विश्वासको मत नलिने र धारा ७६ (५) अनुसार सरकार बनाउन दिनेबारे आफूले सोचिरहेको ओलीले बताएका थिए । ‘अब संसदमा विश्वासको मत लिएर काम छैन जस्तो लागेको छ । यसअघि पनि विश्वासको मत आएको थिएन अब नआउने विश्वासको मतका लागि किन प्रयास गर्ने ? धारा ७६ को उपधारा ५ अन्तर्गतको सरकार गठनका लागि आह्वान गर्न राष्ट्रपतिलाई आग्रह गर्नुपर्ला,’ ओलीका भनाई उदृत गर्दै एक मन्त्रीले बताए ।
संविधान फाल्ने षड्यन्त्र भयो : रामचन्द्र पौडेल
नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले संविधानको धारा ७६ को उपधारा ५ वमोजिम नयाँ सरकार गठनको प्रक्रिया शुरु गर्न आह्वान गर्नु संसद विघटन गरेर संविधान फाल्ने षड्यन्त्र भएको बताएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ सरकार गठनको आव्हान गरेपछि प्रतिक्रिया दिदै नेता पौडेलले यस्तो टिप्पणी गरेका हुन् ।
‘राष्ट्रपतिले २४ घण्टाको पनि समय नदिइकन संविधानको धारा ७६ को उपधारा ५ वमोजिम नयाँ सरकार गठनको प्रक्रिया शुरु गर्न आह्वान गर्नु भनेको संसद विघटन गरेर संविधान फाल्ने षड्यन्त्र हो । सामान्यतया नयाँँ सरकार गठनका लागि न्यूनतम तीन दिनको समय दिने प्रचलन हो । तर एकाएक २४ घण्टाको पनि समय नदिइ सरकार गठनको आह्वान गर्नु भनेको संसदलाई विघटन गरेर संविधान फाल्ने षड्यन्त्र भन्दा अरु केहि हुन सक्दैन् । यो अवस्थामा सम्पुर्ण राजनीतिक दलहरुलाई नेपाली जनताको ७० वर्षको त्यागबाट आएको संविधान जोगाउने प्रयासमा लाग्न हार्दिक अपिल गर्दछु ।’
कांग्रेसले बोलायो आकस्मिक बैठक
नेपाली कांग्रेसले आकस्मिक बैठक बोलाएको छ । बैठक शुक्रबार विहानका लागि बोलाइएको हो । प्रधानमन्त्री केपी शर्मा ओलीको इच्छा मुताविक विहीबार साँझ राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको ७६ (५) अनुसार सरकार बनाउने समय आव्हान गरेको कांग्रेसको ठहर छ ।
जसपा नयाँ सरकारका लागि दौडधुपमा
जनता समाजवादी पार्टीले नयाँ सरकारको नेतृत्व आफुले लिने गरि नयाँ सरकारका लागि दौडधुप थालेको छ । जसपाका अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतो प्रधानमन्त्री निवास बालुवाटार पुगेका थिए । मन्त्रिपरिषद् बैठकबाट प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानको ७६ को उपधारा ५ बमोजिमको सरकार गठनका लागि राष्ट्रपतिलाई मार्ग प्रशस्त गर्ने निर्णय गराएसँगै उनीहरू बालुवाटार पुगेका हुन् ।
अहिलेसम्म तटस्थ बस्दै आएका ठाकुर र महतो मन्त्रिपरिषद्को निर्णयलगत्तै बालुवाटार पुग्नुलाई अर्थपूर्ण रूपमा हेरिएको छ । अरुको सरकारमा नजाने तर आफ्नै पार्टीको नेतृत्वमा सरकार बन्ने सम्भावना भए त्यसको बारेमा छलफल गर्ने निर्णय गरेसँगै प्रधानमन्त्री ओलीले छलफलका लागि जसपा नेपालका महन्थ ठाकुरलाई बालावाटार बोलाएको स्रोतले बताएको छ । अध्यक्ष ठाकुरका साथमा जसपा नेपालका वरिष्ठ नेता राजेन्द्र महतो पनि बालुवाटार पुगेका हुन् । अध्यक्ष ठाकुर र अर्का अध्यक्ष उपेन्द्र यादवबीच गत जेठ ४ गते आफ्नै पार्टीको नेतृत्वमा सरकार बन्ने सम्भावना भए त्यसको बारेमा छलफल गर्नेलगायत आठ बुँदे सम्झौता भएको थियो ।
सरकारको नियत संसद विघटन : माओबादी केन्द्र
नेकपा माओवादी केन्द्रले सरकारको नियत संसद विघटन गरेर निर्वाचनमा जाने देखाएको बताएका छन् । मन्त्रिपरिषद्को सिफरिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले बिहीबार साँझ संविधानको धारा ७६ अन्तर्गतको उपधारा ५ बमोजिम बहुमतको सरकार बनाउन आह्वान गरेपछि माओबादीका प्रमुख सचेतक देव गुरुङले गुरुङले सरकारको निर्णयप्रति आपत्ति प्रकट गरेका हुन् । प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानको धारा ७६ को उपधारा ३ अन्तर्गत विश्वासको मत लिनुपर्ने उनको भनाइ छ ।
‘प्रधानमन्त्रीले संविधानको धारा ७६ को उपधारा ३ अन्तर्गत विश्वासको मत लिनुपर्ने थियो । विश्वासको मत प्राप्त हुन नसकेपछि राजीनामा दिएर उपधारा ५ को लागि आह्वान गर्नुपर्ने हो, ’ उनले भने, ‘संविधानको धारा ७६ को उपधारा ५ को लागि २४ घण्टाभन्दा कम समय दिइएको छ । त्यो समय नपुग्नेगरी दिएको छ । बहुमत पु¥याउन नसकुन भन्नका लागि खाली औपचारिका लागि समय दिएको देखिन्छ ।’ तर, संसद विघटन नहोस् भन्नका लागि विभिन्न विकल्प प्रयोग गर्न दलहरुसँग छलफल गर्ने गुरुङले बताए ।
अर्को सरकार गठनको सिफारिश असंवैधानिक : कानूनविद
वरिष्ठ अधिवक्ता भीमार्जुन आचार्यले प्रधानमन्त्रीले राजीनामा वा विश्वासको मतबाट प्रधानमन्त्री पदमुक्त नभएसम्म अर्को सरकार गठनको सिफारिश हुन नसक्ने बताएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले संबिधानको धारा ७६ को उपधारा ५ बमोजिम सरकार बनाउन आव्हान गरेपछि सामाजिक सञ्जालमा यस्तो टिप्पणी गरेका हुन् ।
उनले नियत नै ७६ (३) को प्रधानमन्त्रीले संसद् विघटन गर्न खोजेको जस्तो देखिएको बताएका छन् । उनले भनेका छन्–‘विश्वासको मत लिने प्रक्रिया प्रारम्भ हुनु पूर्व नयाँ सरकार गठनको आब्हान् गर्न सक्ने संवैधानिक ब्यवस्था छैन । राजीनामा वा विश्वासको मतबाट प्रधानमन्त्री पदमुक्त नभए सम्म अर्को सरकार गठनको सिफारिश हुन सक्दैन । नियत नै ७६.३ को प्रधानमन्त्रीले संसद् विघटन गर्न खोजेको जस्तो देखियो ।’
राष्ट्रपतिद्वारा शपथसम्बन्धी अध्यादेश जारी
यसैबीच बिहीबार सरकारले थप दुई अध्यादेश ल्याएको छ । मन्त्रिपरिषदको सिफारिशमा राष्ट्रपति विद्यादेवी भण्डारीले विहिबार दुई अध्यादेश जारी गरेकी हुन् । राष्ट्रपति भण्डारीले शपथ सम्बन्धि अध्यादेश, २०७८ र कोभिड–१९ संकट व्यवस्थापन अध्यादेश २०७८ जारी गरेकी हुन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार