शनिबार, साउन ९ २०८३

शनिबार, साउन ९ २०८३

कोरोनाबारे बिहीबार के–के भयो ?

शुक्रबार, बैशाख ३१ २०७८

काठमाडौं उपत्यकामा चार एकीकृत आइसोलेसन केन्द्र प्रस्ताव
निजी अस्पताललाई १५ दिनभित्र अक्सिजन प्लान्ट जडान गर्न पुनः निर्देशन
युरोपेली सङ्घद्वारा २८ अर्बको सहायता परिचालन
अमेरिकासँग खोप र स्वास्थ्य सामग्री सहयोगको आग्रह

काठमाडौं(जस)–नेपालमा बिहीबार आठ हजार ९६० जना कोभिड १९ का संक्रमित थपिए । कूल २० हजार २४५ नमूना परीक्षण गर्दा उक्त संख्यामा कोरोना पोजेटिभ फेला परेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार कूल पाँच हजार ५५ जना निको भएका छन् भने २१४ जनाको निधन भएको छ । हाल कूल ७४ दशमलव ६ प्रतिशत बराबरको निको हुने दर देखिएको छ ।
यस्तै, हालसम्म चार हजार ४६६ जनाको कोरोनाका कारण निधन भएको छ । पछिल्लो विवरणसँगै देशभर कोरोना संक्रमितको संख्या चार लाख ३१ हजार १९१ पुगेको छ । यस्तै, तीन लाख २१ हजार ५१८ जना निको भएका छन् । मन्त्रालयका अनुसार कूल २७ लाख १२ हजार ५६२ जनाको रियल टाइम पिसिआर गरिएको छ । यस्तै मुलुकभर सक्रिय संक्रमितको संख्या एक लाख ५ हजार २०७ पुगेको मन्त्रालयले जानकारी दिएको छ । काठमाडौँ उपत्यकाका तीन जिल्ला मध्ये काठमाडौँमा सक्रिय संक्रमितको संख्या ३१ हजार ७३ जना छन् भने एक लाख २४ हजार ४५३ जना निको भएका छन् । यस्तै एक हजार सात जनाको निधन भएको छ ।
भक्तपुरमा कूल चार हजार ७५३ जना सक्रिय संक्रमित छन् भने १० हजार ६१४ जना निको भएका छन् भने २०१ जनाको निधन भएको छ । विवरण अनुसार ललितपुरमा कूल छ हजार ८४० जना सक्रिय संक्रमति रहँदा १९ हजार २१५ जना निको भएका छन् भने २७२ जनाको ज्यान गएको छ । यस्तै पछिल्लो २४ घण्टामा काठमाडौँमा दुई हजार ७३३, भक्तपुरमा ३४८ र ललितपुरमा ४८१ संक्रमित थपिएका छन् ।
काठमाडौं उपत्यकामा चार एकीकृत आइसोलेसन केन्द्र प्रस्ताव
उपप्रधानमन्त्री ईश्वर पोखरेलले कोरोनाविरुद्वको लडाईंमा जनतालाई राहत हुने गरी सङ्घीय सरकारले चालेका कदमलाई कार्यान्वयन गर्ने गरी साथ दिन काठमाडौं उपत्यका मेयर फोरमलाई आग्रह गरेका छन् । सिंहदरबारस्थित आफ्नै कार्यकक्षमा बिहीबार काठमाडौं मेयर फोरमका पदाधिकारीको बैठकमा कोभिड संकट व्यवस्थापन सञ्चालन केन्द्रका संयोजक पोखरेलले कोरोनाविरुद्वको लडाईंमा जनताको जीवन रक्षामा जुट्न आग्रह गरे ।
राज्यका सबै तहको एकीकृत प्रयास र नागरिकको सकारात्मक सहयोगबाट मात्रै यो लडाईंमा सफलता मिल्ने उनले बताए । शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठसमेतको सहभागिता रहेको बैठकमा उपत्यका मेयर फोरमका अध्यक्ष एवं काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य, मेयर फोरमका उपाध्यक्ष एवं ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जन तथा मेयर फोरमका सचिव समेत रहेका मध्यपुर थिमी नगरपालिकाका मेयर मदनसुन्दर श्रेष्ठको सहभागिता रहेको उपप्रधानमन्त्रीका प्रेस सल्लाहकार गणेश पाण्डेले जानकारी दिए । मेयर फोरमले उपत्यकाका चार ठाउँमा एकीकृत रुपमा आइसोलेशन केन्द्र संचालन गर्ने प्रस्ताव गरेको छ । यसैगरी, अक्सिजनको आपूर्तिमा अहिले देखिएको समस्या समाधानका लागि मेयर फोरमले पहलकदमी लिने भएको छ ।
निजी अस्पताललाई १५ दिनभित्र अक्सिजन प्लान्ट जडान गर्न पुनः निर्देशन
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले १०० बेड संचालन गरिरहेका निजी अस्पताललाई १५ दिनभित्र अक्सिजन प्लान्ट जडानका लागि निर्देशन दिएको छ । स्वास्थ्य मन्त्रलायले बुधबार कम्तिमा एक सय बेड सञ्चालन गरेका निजी अस्पताललाई अक्सिजन प्लान्ट जडानका लागि निर्देशन दिएको थियो । स्वास्थ्य मन्त्रालयले बिहीबार फेरी सूचना जारी गर्दै कोरोना संक्रमणका कारण अक्सिजन अभाव र आपूर्ति प्रक्रिया थप जटिल भएको भन्दै बिहीबारको मितिदेखि १५ दिनभित्र अक्सिजन प्लान जडान गरी मन्त्रालयमा जानकारी गराउन निर्देशन दिएको छ । मन्त्रालयले मन्त्रिपरिषद्को वैशाख १३ गतेको निर्णानुसार अक्सिजन प्लान्टका लागि भन्सार छुट हुने समेत बताएको छ ।
युरोपेली सङ्घद्वारा २८ अर्बको सहायता परिचालन
कोभिड–१९ विरुद्धको नेपालको लडाइँमा युरोपेली सङ्घ (इयु)ले रु २८ करोड २० बराबरको मानवीय सहायता परिचालन गरेको छ । महामारीविरुद्धको नेपालको सङ्घर्षमा ऐक्यबद्धता जनाउँदै इयुले कोरोनाविरुद्धका स्वास्थ्य उपकरण खरिद तथा आपूर्ति, आकस्मिक चिकित्सक टोली परिचालन, घरमै एकान्तबासमा रहेका बिरामी ‘टेलिहेल्थ÷टेलिमेडिसिन’ बिरामीलाई कुन अस्पतालमा लैजाने भन्नेबारेमा तत्काल सल्लाह दिनेलगायत सेवाका लागि उक्त रकम परिचालन गरिएको ब्रसेल्सस्थित सङ्घको प्रधान कार्यालयले जनाएको छ ।
सहयोगस्वरुप प्राप्त रकमबाट अक्सिजन सिलिण्डर, अक्सिजन सङ्केन्द्रक, घरेलु उपचार सामग्री, व्यक्तिगत सुरक्षा उपकरण, ‘एन्टिजेन’ परीक्षण साधन खरिद एवं आपूर्ति गरिनेछ । यसैगरी सङ्घको सदस्य राष्ट्र फिनल्याण्डले शल्यचिकित्सामा प्रयोग हुने २० लाखभन्दा बढी ‘मास्क’, तीन लाख ५० हजार एफएफपीटू मास्क, ५२ हजार ५०० जोर पञ्जा र ३० हजार थान एकान्तबास पोशाक नेपाललाई प्रदान गर्ने जनाइएको छ ।
अमेरिकासँग खोप र स्वास्थ्य सामग्री सहयोगको आग्रह
उपप्रधानमन्त्री ईश्वर पोखरेलले कोरोनाविरुद्वको खोप र स्वास्थ्य सामग्री सहयोगका लागि अमेरिकी सरकारसँग आग्रह गरेका छन् । कोभिड–१९ सङ्कट व्यवस्थापन सञ्चालन केन्द्रका संयोजक पोखरेल र नेपालका लागि अमेरिकी राजदूत ¥याण्डी बेरीबीच बिहीबार भएको टेलिफोन संवादमा नेपाललाई सक्दो छिटो खोप उपलब्ध गराइदिने वातावरण मिलाइदिन अमेरिकी राजदूत बेरीलाई आग्रह गरे । नेपालमा कोराना भाइरसको तीव्र फैलावट रोक्न खोप नै उपपुक्त माध्यम भएकाले त्यसका लागि नेपाल सरकारले अमेरिका सरकारको सहयोग चाहेको उहाँले बताए । अमेरिकी खोपको नेपालमा उत्सुकता र तीव्र प्रतिक्षा रहेको उपप्रधानमन्त्री पोखरेलले जानकारी गराए ।
यसैगरी, कोरोना रोकथाम तथा नियन्त्रणका लागि आवश्यक भेन्लिटेलर, पीपीई, अक्सिजन सिलिण्डर, अक्सिजन कन्सेन्ट्रेटर, मोबाइल अक्सिजन प्लान्ट, औषधि, खोप र खोपसँग सम्बन्धित सामग्री, अस्थायी अस्पताल स्थापनाका लागि आवश्यक पूर्वाधार र आवश्यक विज्ञ जनशक्ति लगायतका विषयमा नेपालले सहयोगको अपेक्षा गरेको उनले बताए । राजदूत बेरीले अर्को सातासम्म नेपालमा अमेरिकी सरकारका तर्फबाट स्वास्थ्य सामग्रीहरू सहयोग गरिने जानकारी दिए । सहयोगबारे आगामी आइतबारसम्म टुङ्गो लाग्ने उनले बताए ।
‘खोपबारे मैले पनि पहल गरिरहेको छु, टुङ्गो लाग्नासाथ तपाईंलाई जानकारी गराउँछु’, उपप्रधानमन्त्रीलाई राजदूत बेरीले भने । राजदूत बेरीले हप्तामा दुई वटा अन्तर्राष्ट्रिय उडान गर्ने वातावरण बनाइदिन पनि उपप्रधानमन्त्री पोखरेललाई आग्रह गरेका थिए । उपप्रधानमन्त्री पोखरेलले यसका विषयमा आफूहरूले पनि सोचिरहेको भन्दै सिसिएमसीको बैठकबाट आवश्यक निर्णय गरिने जानकारी दिए । उपप्रधानमन्त्री पोखरेलले यसअघि नेपालस्थित संयुक्त राष्ट्रसङ्घीय आवासीय संयोजक सारा बेस्लो न्यान्तीसँग पनि विश्व स्वास्थ्य सङ्गगठन (डब्ल्युएचओ)बाट पाउने कोभ्याक्सअन्तर्गत खोप सक्दो छिटो नेपाल ल्याउन सहजीकरण गरिदिन आग्रह गरेका उपप्रधानमन्त्रीका प्रेस सल्लाहकार गणेश पाण्डेले जानकारी दिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार