काठमाडौं(जस)–नेपाली कांग्रेसले आफ्नो नेतृत्वमा सरकार निर्माणको पहल गर्ने भएको छ । मंगलबार बसेको पदाधिकारी र पूर्व पदाधिकारी बैठकले सभापति शेरबहादुर देउवाको नेतृत्वमा सरकारमा जाने निर्णय गरेको हो । बैठकपछि पत्रकारहरुसँग कुरा गर्दै सहमहामन्त्री प्रकाश शरण महतले बहुमत जुटाएर सभापति देउवाको नेतृत्वमा सरकार निर्माण गर्ने जानकारी दिए ।
कांग्रेस सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बसेको पदाधिकारी बैठकले राष्ट्रपतिले दिएको समय सीमाभित्र देउवाको नेतृत्वमा सरकार बनाउन बहुमत पुग्ने विश्वास लिएको छ । आफूहरुसँग बहुमत पुग्ने दाबी गर्दै सहमहामन्त्री महतले माओवादी केन्द्र र जनता समाजवादी पार्टीको समर्थनमा सरकारमा जाने बताएका छन् । त्यस्तै बैठकले जसपालाई एक ठाउँमा ल्याउन अधिकतम प्रयास गर्ने निर्णय गरेको छ ।
जसपामा महन्थ ठाकुर र उपेन्द्र यादव समूह नयाँ सरकारका विषयमा विभाजित भएको छ । यस्तै एमालेकै माधवकुमार नेपाल समूहले तोकिएको समयभित्र एउटा निकास दिने भएकाले पार्टीको नेतत्वमा सरकार बन्ने पर्याप्त आधार रहेको दावी गरे । ठाकुर समूहले वर्तमान केपी ओली नेतृत्वको सरकारलाई निरन्तरता दिनुपर्ने स्पष्ट पारेको छ भने यादव समूहले कांग्रेसको नेतृत्वमा सरकारमा जानुपर्ने बताएको छ ।
नेकपा एमालेका केही सांसद र जसपाले पनि साथ दिने भएकोले नयाँ सरकार बनाउन सकिने कांग्रेस पदाधिकारी बैठकको निष्कर्ष छ । कांग्रेस पदाधिकारी बैठकअघि सभापति देउवाले प्रचण्ड र उपेन्द्र यादवसँग छलफल गरेका थिए । राष्ट्रपतिले संविधानको धारा ७६ (२) अनुसार बहुमतको सरकार बनाउन दलहरुलाई दिएको समय बिहीबारसम्म छ ।
सोमबार नै कांग्रेस सभापति देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र जसपाका अध्यक्ष उपेन्द्र यादवले संयुक्त वक्तव्यमार्फत बहुमतको सरकार गठनका लागि आह्वान गर्न राष्ट्रपतिसँग आग्रह गरेका थिए । प्रतिनिधिसभामा नेकपा (एमाले) का १२१, कांग्रेसका ६३ (दुई निलम्बित), माओवादी केन्द्रका ५३ (चार निलम्बित), जसपाका ३४ (दुई निलम्बित) तथा राष्ट्रिय जनमोर्चा, नेपाल मजदूर किसान पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टीका एक÷एक र स्वतन्त्र एक सांसद छन् ।
अपवित्र गठबन्धन नबनाउन थापाको सुझाव
राप्रपा अध्यक्ष कमल थापाले काँग्रेस सभापति शेरबहादुर देउवालाई सत्ताको लागि अपवित्र गठबन्धन नबनाउन सल्लाह दिएका छन् । बरु ६ महिनाभित्र नयाँ चुनावमा देशलाई लैजाने गरी वातावरण बनाउनतिर काँग्रेस लाग्नुपर्ने उनको भनाइ छ । सांसद किनबेच गरेर सरकार बनाउने गलत संस्कार र अभ्यासले काँग्रेस पार्टीकै पनि भलो नहुने बताउँदै उनले यसले प्रजातन्त्र नै विकृत हुने दावी गरेका छन् ।
‘अपवित्र गठबन्धन बनाएर, पार्टी फुटाएर, सांसद किनबेच गरेर सरकार बनाउने गलत संस्कार÷अभ्यासले काँग्रेसको भलो गर्दैन,प्रजातन्त्र विकृत हुन्छ’ थापाले मंगलबार ट्वीटरमा लेखेका छन्, ‘निष्पक्ष चुनावको वातावरण सुनिश्चित गरी ६ महिना भित्र नयाँ चुनावमा गरौं । विगतका त्रुटि कमजोरी हटाऔँ । चुनाव मात्र विद्यमान संकटको समाधान हो ।’ उनले सम्पूर्ण राष्ट्रिय शक्ति र श्रोत अहिले कोरोना महामारी विरुद्ध केन्द्रित गर्न पनि आह्वान गरेका छन् ।