काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संवैधानिक परिषद्का सदस्यहरुलाई बैठकमा सहभागी नहुन अनुरोध गरेका छन् ।
उनले शनिबार एक विज्ञप्ति जारी गर्दै संवैधानिक संरचनाको गरिमा समाप्त पार्ने मनसायका साथै बैठक डाकिएको भन्दै बैठकमा सहभागी नहुन आग्रह गरेका हुन् ।
“प्रमुख प्रतिपक्षका नेता तथा सभामुखसमेतले भाग नलिने निर्णय सार्वजनिक गरिसकेको स्थितिमा बैठक स्थगित गर्न सरकारसँग आग्रह गर्दै संवैधानिक संरचनाको गरिमा समाप्त पार्ने मनसायको त्यस्तो बैठकमा सहभागी नहुन संवैधानिक परिषद्का सबै सदस्यहरुसँग हाम्रो पार्टी हार्दिक अनुरोध गर्दछ,” विज्ञप्तिमा भनिएको छ ।
संविधानको मर्म र भावनाविपरीत संवैधानिक निकायहरुलाई निरंकुशताको मतियार बनाउने गलत मनसायसहित प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारले अध्यादेशको दुरुपयोग गर्दै आएको उनको आरोप छ । लोकतान्त्रिक अभ्यास छलेर सरकारले एकपटक पुनः संवैधानिक परिषद्को बैठकमार्फत आफ्नो स्वेच्छाचारी चरित्र प्रदर्शन गरेको विज्ञप्तिमा उल्लेख छ । प्रधानमन्त्री ओलीले आइतबार बिहान ९ बजेका लागि संवैधानिक परिषद्को बैठक बोलाएका छन् ।