कास्की(जस)–गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्धको अविश्वास प्रस्तावमा सोमबार मतदान हुने भएको छ । बिहीबार गण्डकी प्रदेश सचिवालयमा बसेको कार्य व्यवस्था परामर्श समितिको बैठकले प्रदेश सभाको बैठक सोमबारका लागि तय गरेको हो । सोही दिन सरकारविरुद्धको अविश्वास प्रस्तावमाथि मतदान हुने प्रदेशसभा सचिवालयले जानकारी दिएको छ । सभामुख नेत्रनाथ अधिकारीले परामर्श समितिको बैठकले सर्वसम्मत रुपमा विशेष अधिवेशनको मिति तय गरेको बताए । उनले सोही दिनमा पक्ष र विपक्षमा लिखित मत विभाजन हुने बताएका छन् ।
अहिले मुख्यमन्त्री गुरुङ कोरोना संक्रमित भएर आइसोलेसनमा रहेका छन् भएन राष्ट्रिय जनमोर्चाका सांसद खिमविक्रम शाही पनि कोरोना भएको भन्दै पोखराको चरक मेमोरियल अस्पतालमा उपचारत रहेका छन् । बैशाख १३ गतेदेखि शुरु भएको प्रदेशसभा बैठक वैशाख १५ देखि अनिश्चितकालका लागि स्थगित गरिएको थियो ।
अविश्वासको प्रस्ताव आउने भएपछि मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले वैशाख १ कै मध्यरातमा हिउँदे अधिवेशन अन्त्य गराएका थिए । वैशाख १ मा जनमोर्चा र २ मा माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि मुख्यमन्त्रीविरुद्ध कांग्रेस, माओवादी र जसपाका २८ सांसदले वैशाख २ मा अविश्वासको प्रस्ताव दर्ता गराएका थिए । वैशाख २ मै तीन दलले विशेष अधिवेशनको माग गर्दै तत्कालीन प्रदेश प्रमुख अमिक शेरचनसमक्ष निवेदन बुझाएका थिए । सो अनुसार प्रदेश प्रमुख शेरचनले वैशाख १३ मा विशेष अधिवेशन आह्वान गरेका हुन् ।