सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

गण्डकी प्रदेश खेलकूद परिषद्को प्रशासनिक भवन युवा तथा खेलकूदमन्त्री मनाङेद्धारा शिलान्यास

बिहिबार, बैशाख २३ २०७८

पोखरा(जस)–गण्डकी प्रदेश खेलकूद परिषद्को प्रशासनिक भवन निर्माण गरिने भएको छ । पोखरा रङ्गशालाभित्र निर्माण गरिने भवनको बिहीबार गण्डकी प्रदेशका युवा तथा खेलकूदमन्त्री राजीव गुरुङ(दीपक मनाङे)ले शिलान्यास गरे । प्रदेश सरकारको रु ४० लाख लागतमा स्टिल संरचनामा सभाहल सहित ११ कोठाको भवन आगामी तीन महिनाभित्रमा निर्माण गरिसकिने प्रदेश खेलकूद परिषद्का सदस्य सचिव तेजबहादुर गुरुङले जानकारी दिए ।
गत फागुनमा प्रदेश सदस्य सचिव सहित परिषद्का पदाधिकारी र सदस्यहरु नियुक्त भएपनि पूर्वाधार अभावमा उनहरुको पदस्थापन हुन सकेको छैन । कार्यक्रममा युवा तथा खेलकूदमन्त्री गुरुङले खेलाडीहरुका लागि छात्राबास र मार्सल आर्टकोे सुविधासम्पन्न भवन निर्माणको योजना आफूले बनाएको बताए । विगतमा सामाजिक विकास मन्त्रालयभित्र खेलकूद रहेपनि अहिले खेलकूद मन्त्रालय छुट्टै भएकाले खेल क्षेत्रलाई व्यवस्थित विकासका लागि काम गर्ने उनले प्रतिवद्धता व्यक्त गरे ।

मन्त्री गुरुङले गण्डकीका ११ वटै जिल्लामा रहेका खेलकूदको सम्पत्ति तथा पूर्वाधारहरुको यकिन विवरण खोजी गर्ने काम अघि बढाइने जानकारी दिए । उनले भने, ‘हामी नियुक्त भएर आएको एक साता मात्र भएको छ । अब हामी प्रदेशको ११ वटै जिल्लामा कहाँ कहाँ खेलकूदको सम्पत्ति त्यसको खोजीनीतिमा लाग्ने छौँ । त्यस सम्पत्तिलाई खेलाडी र युवाको उपयोगमा लगाउने योजना छ ।’
कोरोना महामारीमा पनि आवश्यक स्वास्थ्य सुरक्षा सावधानी अपनाएर खेल पूर्वाधार निर्माणलाई अघि बढाइने मन्त्री गुरुङले जानकारी दिनुभयो । खेलकूद परिषद्का सदस्य सचिव गुरुङले कोरोना महामारीका कारण सीमित व्यक्तिहरुको उपस्थितिमा शिलान्यासको कार्यक्रम आयोजना गरिएको बताए । ‘खेलकूद परिषद्को प्रशासनीक भवनको आज शिलान्यास हुनु हाम्रा लागि खुःशीको दिन हो । अत्यावश्यक भवन निर्माणपछि परिषद्को काम कारवाहीलाई थप व्यवस्थित बनाउन सहज हुनेछ,’उनले भने ।

प्रतिक्रिया
सम्बन्धित समाचार