काठमाडौं(जस)–नेकपा (एमाले)का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा निवास पुगेर सहयोगको आग्रह गरेका छन् । प्रधानमन्त्री ओलीले नेताहरु उपप्रधानमन्त्री ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापा, अर्थमन्त्री विष्णु पौडेल र संसदीय दलका नेता उपनेता सुवास नेम्बाङ लिएर देउवा निवास पुगेका थिए ।
बैठकपछि नेपाली कांग्रेसका सह–महामन्त्री डा. प्रकाशशरण महतले प्रधानमन्त्रीले विश्वासको मत लिने प्रक्रियामा सहयोग गर्न आग्रह गरेको जानकारी दिएका छन् । प्रधानमन्त्री ओलीले लोकतन्त्रका लागि सँगै लडेका दलबीच सहकार्य गर्नुपर्ने भन्दै संसद्मा आफूलाई विश्वास मत दिन आग्रह गरेका दिएका थिए । जवाफमा कांग्रेस सभापति शेरबहादुर देउवाले प्रमुख प्रतिपक्षी दल भएकाले कांग्रेसले विश्वासको मत दिन नसक्ने स्पष्ट पारेको महतले बताए ।
महतले भने, ‘प्रधानमन्त्रीले विश्वासको मतका लागि सहयोग मागे । प्रतिपक्ष भएकाले हामीले सहयोग गर्न नसक्ने कुरा स्पष्ट पा¥यौं ।’ यस्तै सभापति देउवाले कोराना भाइरसको संक्रमण भयावह भएकाले रोकथाम तथा नियन्त्रणका लागि प्रभावकारी कदम चाल्न सरकारको ध्यानाकर्षण गराएका थिए । सभापति देउवाले संसद्को बजेट अधिवेशन बोलाउन ढिला भइरहेका अवस्थामा संसद्लाई छलेर सरकारले अध्यादेश ल्याएको भन्दै आपत्तिसमेत जनाएका थिए ।
प्रधानमन्त्रीले लोकतान्त्रिक मूल्य र मान्यताका कुरा गरे पनि व्यवहारमा नदेखिएको जवाफ कांग्रेसले दिएको महतले जानकारी दिए । भने, ‘लोकतन्त्रका लागि लडेका हौं हामी मिलेर जाउँ भन्ने प्रस्ताव प्रधानमन्त्रीले गर्नुभएको थियो तर लोकतान्त्रिक संस्थाहरूलाई कमजोर पार्ने काम तपाईंले गर्नुभएको छ भन्ने जवाफ दियौं ।’ कांग्रेसको तर्फबाट सभापति देउवाका साथै वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति विमलेन्द्र निधि, महामन्त्रीद्धय डा शशांक कोइराला, पुर्णबहादुर खड्का र सहमहामन्त्री प्रकाशशरण महत सहभागी भएका थिए । कांग्रेसका पदाधिकारी र पूर्वपदाधिकारीको मंगलबार बसेको बैठकले प्रधानमन्त्री ओलीले संसदमा लिने विश्वासको मतलाई असफल बनाउन निर्णय गरेको थियो । यही वैशाख २७ गते विश्वासको मत प्रयोजनका लागि प्रतिनिधिसभा बैठक बस्दै छ ।