काठमाडौं(जस)–राष्ट्रपति विद्यादेवी भण्डारीले बैशाख २७मा प्रतिनिधि सभा अधिवेशन आह्वान गरेकी छन् । प्रधानमन्त्रीले केपी शर्मा ओलीको अध्यक्षतामा बालुवाटारमा आइतबार बसेको मन्त्रिपरिषद् बैठकले बैशाख २७ गते संसद अधिवेशन बोलाउन सिफारिस गरेको थियो । मन्त्रिपरिषद्को सिफारिस बमोजिम नै राष्ट्रपतिले बैठक आह्वान गरेकी हुन । सो दिन प्रधानमन्त्री ओलीले विश्वासको मत लिने छन् ।
राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेले निकालेको विज्ञप्तिमा प्रधानमन्त्री केपी शर्मा ओलीले आफूमाथि प्रतिनिधिसभाको विश्वास छ भन्ने कुरा स्पष्ट पार्न आवश्यक ठानेकाले सोही प्रयोजनका लागि वैशाख २७ गते सोमबार दिउँसो १ बजेका लागि प्रतिनिधिसभाको बैठक आह्वान गरिएको उल्लेख छ ।
आइतबार सरकारले प्रतिनिधिसभाको अधिवेशन बोलाउने निर्णय गरेको थियो । आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले वैशाख २७ मा प्रतिनिधिसभाको अधिवेशन बोलाउने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए । यसअघि सरकारले बिजनेस नभएको भन्दै सभामुखसँग समेत परामर्श नगरी हिउँदे अधिवेशन अन्त्य गरेको थियो ।