आइतबार, साउन १० २०८३

आइतबार, साउन १० २०८३

कोरोना त्रास : बिदामा रहेका स्वास्थ्यकर्मीलाई काममा फर्कन निर्देशन

सोमबार, बैशाख २० २०७८

थप एक हजार शय्या सञ्चालन
२७ जनाको मृत्यु, ७१३७ जनामा कोरोना पुष्टि
वीर अस्पतालको नयाँ भवनलाई कोभिड अस्पताल बनाउने तयारी

काठमाडौं(जस)–स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले अध्ययन बिदामा रहेका सबै स्वास्थ्यकर्मीलाई आआफ्नो दरबन्दी भएको स्वास्थ्य संस्थामा गएर काम गर्न निर्देशन दिएको छ । मन्त्रालयले कोभिड–१९ को दोस्रो लहरको सङ्क्रमण बढेपछि उपचारको व्यवस्थापन गर्न तिनलाई काम गर्न निर्देशन दिएको हो । मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीका अनुसार आइतबार मन्त्रालयमा बसेको बैठकले अध्ययन बिदामा रहेका र हाल अध्ययन नभएका अवस्थामा रहेका सबै स्वास्थ्यकर्मीलाई आआफ्नो दरबन्दीअनुसार स्वास्थ्य संस्थामा गई काम गर्न निर्देशन दिने निर्णय गरेको छ ।
मन्त्रालयले विभिन्न चिकित्सा विधामा अध्ययरत सबै विद्यार्थीलाई पनि कोभिड–१९ को रोकथाम र नियन्त्रणमा खटाउने निर्णय गरेको छ । ती विद्यार्थीलाई अध्ययन गराउने सम्बन्धित विश्वविद्यालय तथा कलेजले आवश्यकतानुसार आफ्नै वा अन्य अस्पतालमा खटाउने उनले जानकारी दिए ।
एक हजार शय्या आइतबारैदेखि सञ्चालन
सरकारले कोभिड–१९ को सङ्क्रमणको रोकथाम र नियन्त्रणका लागि करीब सात हजार शैय्या थप गर्ने भएको छ । तीमध्ये काठमाडौँ उपत्यकाका छ अस्पतालमा आइतबारैदेखि एक हजार शैय्या थप गरी सञ्चालनमा ल्याएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीले सरकारी र निजी अस्पतालमा थप सात हजार शैय्या थप्न थालिएको जानकारी दिए । शैय्या थप गरिएपछि सङ्क्रमितलाई उपचार गर्नका लागि सहज हुने छ ।
केही दिनयता लक्षणसहित सङ्क्रमित बढेपछि उपचारका लागि शैय्या पाउन समस्या भएको छ । उपत्यकाका सबै अस्पतालमा सङ्क्रमितको उपचारका लागि शैय्या भरिपछि थप व्यवस्थापन गर्न थालिएको हो । आइतबार मात्रै सात हजार २११ सङ्क्रमित भएको र २७ जनाको निधन भएको छ । उनका अनुसार नेपाल प्रहरी अस्पतालमा ३५०, राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालीम केन्द्र, पिपुल्स डेन्टल अस्पताल र सुरेश वाग्ले स्मृति क्यान्सर अस्पतालमा सय÷सय तथा काठमाडौँ मेडिकल कलेज र नेपाल मेडिकल कलेजमा १५०÷१५० शैय्या थप गरिने भएको छ ।
ती अस्पतालमा शैय्या थप गर्नका लागि मन्त्रालयले यसअघि नै सम्झौता गरिसकेको थियो । सहप्रवक्ता डा अधिकारीले काठमाडौं मेडिकल कलेज, नेपाल मेडिकल कलेज र किष्ट मेडिकल कलेजमा ४००÷४०० दरका एक हजार २०० शैय्या चाँडै बन्ने बताए । मनमोहन मेडिकल कलेजमा ३००, खरिपाटीमा २५०, पाटनस्थित मानसिक अस्पतालमा २५, पाटन अस्पतालमा ३५०, वीर अस्पताल र त्रिवि शिक्षण अस्पतालमा ५००– ५०० र जनमैत्री अस्पतालमा १२० शैय्या बन्नेछन् । उनले सम्झौतानुसार निजी अस्पतालले दुई हजार शैय्या बनाउने छन् । अहिले मुलुकभर १८ हजार ९१७ शैय्या छन् ।
आइतबार २७ जनाको मृत्यु, ७१३७ जनामा कोरोना पुष्टि
नेपालमा थप ७१३७ जनामा कोरोना पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयले पछिल्लो २४ घण्टामा देशभर कुल ७१३७ जना संक्रमित थपिएको जानकारी दिएको हो । त्यस्तै स्वास्थ्य मन्त्रालयले ७४ जनाको एन्टीजेन परिक्षण पोजेटिभ देखिएको जानकारी दिएको छ । अहिलेसम्म कुल ३ लाख ३६ हजार ३० संक्रमित पुगेका छन् । नेपालमा हाल सक्रिय कोरोना संक्रमितको संख्या ४८ हजार ७११ रहेको छ । त्यस्तै पछिल्लो २४ घण्टामा १६१२ जना संक्रमण मुक्त भएका छन् भने अहिलेसम्म २ लाख ८३ हजार ९४४ जना संक्रमण मुक्त भएका छन् । नेपालमा कोरोना निको हुने प्रतिशत ८४.५ रहेको मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा १६ हजार १४७ पिसिआर परिक्षण भएको छ भने नेपालमा अहिलेसम्म कुल पिसिआर २५ लाख ४ हजार ४७६ पुगेको छ ।
त्यस्तै क्वारेन्टाइनमा ६७ जना रहेका छन् । त्यस्तै अहिले देशभर संस्थागत आइसोलेसनमा ३ हजार ५३० जना रहेका छन् भने होम आइसोलेसनमा ४५ हजार १८१ रहेका छन् । त्यस्तै अहिले नेपालमा ४७७ जना कोरोना संक्रमित आइसीयुमा उपचारत रहेका छन् भने १३१ जनाको भेन्टिलेटरमा उपचार भइरहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा कोरोनाबाट २७ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । अहिलेसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ३३२५ रहेको छ ।यसरी नेपालमा अहिले कोरोना संक्रमणबाट मृत्यु हुनेको प्रतिशत ०.९९ रहेको मन्त्रालयले जानकारी दिएको छ ।
काठमाडौँ उपत्यकामा कोरोना संक्रमण चिन्ताजनक रुपमा बढिरहेको देखिएको छ । स्वास्थ्य मन्त्रालयले दिएको पछिल्लो २४ घण्टाको अपडेट अनुसार काठमाडौँ उपत्यकामा ३५९५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा काठमाडौँमा २७४४ जना, भक्तपुरमा ३०१ जना र ललितपुरमा ५५० जना कोरोनामा कोरोना पुष्टि भएको छ ।
वीर अस्पतालको नयाँ भवनलाई कोभिड अस्पताल बनाउने तयारी
उपप्रधानमन्त्री ईश्वर पोखरेलले काठमाडौँको वीर अस्पतालको नवनिर्मित भवनलाई ५०० शैय्याको कोभिड–१९ विशेष अस्पताल बनाउने विषयमा छलफल गरेका छन् । कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (सिसिएमसी)का संयोजकसमेत रहेका उपप्रधानमन्त्री पोखरेलले आइतबार सिंहदरबारस्थित आफ्नै कार्यकक्षमा मुख्य सचिव शङ्करदास बैरागी, सिसिएमसी हेर्ने प्रधानमन्त्री कार्यालयका सचिव खगराज बराल र वीर अस्पतालका प्रतिनिधिसँग अस्पतालको नवनिर्मित भवनलाई कोरोना भाइरसका बिरामी उपचार गर्ने गरी प्रयोग गर्ने विषयमा छलफल गरेका हुन् ।
सरकारले चाँडै नै उक्त भवनमा सङ्क्रमितको उपचारका लागि आइसोलेशन शैय्या सञ्चालनको तयारी थालेको छ । आइतबारै सरकारले काठमाडौँ उपत्यकामा रहेको निजी तथा सरकारी अस्पतालमा एक हजार शैय्या थप गरी सञ्चालनमा ल्याएको छ । काठमाडौँ उपत्यकामा कोरोना भाइरसका सङ्क्रमित बढिरहेकाले अस्पतालमा शैय्याको अभाव भएको गुनासो आएपछि सिसिएमसीले विभिन्न विकल्पको खोजी गरिरहेको छ । उपप्रधानमन्त्री पोखरेलले आइतबारै बाँकेका प्रमुख जिल्ला अधिकारी शिवराज गेलाललाई टेलिफोन गरी कोरोना भाइरसका कारण उत्पन्न परिस्थितिका विषयमा जानकारी लिएका थिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार