काठमाडौं। बाँयाहाते अलराउन्डर हरप्रीत ब्रारले ब्याटिङ र बलिङमा महत्वपूर्ण योगदान दिएसँगै इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेटअन्तर्गत गएराति भएको खेलमा पञ्जाब किङ्सले शानदार जीत हासिल गरेको छ । पञ्जाबले रोयल च्यालेन्जर्स बैंगलोरलाई ३४ रनले पराजित गरेको हो ।
पञ्जाबले दिएको १८० रनको लक्ष्य पछ्याएको बैंगलोर पूरा २० ओभर खेल्दै ८ विकेट गुमाएर १४५ रनमा सीमित भयो । उसका लागि कप्तान विराट कोहलीले सर्वाधिक ३५ रन बनाए । रजत पाटिदार र हर्षल पटेलले समान ३१ रन बनाए ।
पञ्जाबका हरप्रीत ब्रारले उत्कृष्ट बलिङ गर्दै बैंगलोरका प्रमुख ३ ब्याट्सम्यानलाई आउट गरेका थिए । उनले कप्तान विराट कोहलीलाई ३२, ग्लेन म्याक्सवेललाई ० र एबी डिभिलियर्सलाई ३ रनमै पेभेलियन फर्काएका थिए । त्यसैगरी रवि विश्नोईले २ विकेट लिए भने राइले मेरेडिथ, मोहम्मद शामी र क्रिस जोर्डनले १-१ विकेट हात पारे ।
त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको पञ्जाबले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १७९ रनको योगफल तयार गरेको थियो । उसका लागि कप्तान एवम् ओपनर केएल राहुलले अविजित ९१ रनको पारी खेलेका थिए । क्रिस गेलले ४६ रन बनाउँदा हरप्रीत ब्रारले अविजित २५ रनको योगदान दिए । बैंगलोरका काइल जेमिसनले २ विकेट लिँदा युजुभेन्द्र चहल, डानियल साम्स र शाहबाज अहमदले १-१ विकेट लिए ।
जीतसँगै ७ खेलबाट ७ अंक जोडेको पञ्जाब अंकतालिकाको चौथो स्थानमा उक्लिएको छ भने पराजित बैंगलोर १० अंकसहित तेस्रो स्थानमा यथावत रहेको छ ।
प्रतियोगिता अन्तर्गत आज दुई चिरपरिचित प्रतिद्वन्द्वी मुम्बई इन्डियन्स र चेन्नई सुपर किङ्सबीच प्रतिस्पर्धा हुने छ ।