आइतबार, साउन १० २०८३

आइतबार, साउन १० २०८३

देश क्रमशः पूर्ण लकडाउनतर्फ, १५ मा पूर्ण र तीन जिल्लामा आंशिक निषेधाज्ञा

शुक्रबार, बैशाख १७ २०७८

काठमाडौं(जस)–नेपाल भारत सीमा जोडिएको बाँके जिल्ला शुरुमै कोभिड–१९ संक्रमणबाट नराम्ररी प्रभावित भयो । प्राप्त विवरणअनुसार उक्त जिल्लामा संक्रमितलाई भूइँमा राखेरसमेत उपचार गराइएको छ भने बिरामीले सघन उपचार कक्षसमेत पाउन नसक्दा जनजीवन थप प्रभावित बन्दै गएको छ । यो अवस्था काठमाडौँ उपत्यकामा समेत देखिएको छ । भारतबाट आएका व्यक्तिको परीक्षण गरी उचित व्यवस्थापन नभई खुलमखुला नेपाल प्रवेश गर्दा समस्या जटिल भएको जनस्वास्थ्य विज्ञको अनुमान छ । हुन पनि विगत वर्षमा भारतमा भयावहस्थिति भएकोमा त्यहाँबाट आएका व्यक्तिका कारण त्यसको केही हप्तामै नेपालमा पनि महामारी फैलिएको थियो ।
यसपाली पनि भारतमा विश्वमै उच्च गतिमा महामारी फैलिएको केही हप्तामै नेपाल प्रभावित हुन पुगेको तथ्य स्पष्ट छ । यसको मुख्य समस्या भनेको खुला सिमाना हो । भारतमा अक्सिजन नपाएर कोरोना संक्रमितको मृत्यु भएको समाचार बाहिर आइरहेकै छ । भारत कै अवस्था नेपालमा हुने हो की भन्ने चिन्ताका बीच सरकारको निर्देशनबमोजिम प्रभावित जिल्लामा अहिले निषेधको आदेश जारी गरेर संक्रमण नियन्त्रणको प्रयास भइरहेको छ । गृहमन्त्रालयबाट प्राप्त विवरणमा बिहीबारसम्म १५ जिल्लामा पूर्ण र तीन जिल्लामा आंशिक निषेधाज्ञको घोषणा भएको छ । सरकारले सङ्क्रामक रोग नियन्त्रण ऐन २०२० को उपदफा २ बमोजिम पहाडी र हिमाली जिल्लामा २०० र काठमाडौँ उपत्यका तथा तराईमा ५०० सक्रिय संक्रमित रहेका जिल्लामा जिल्लाभर वा निश्चित क्षेत्रमा प्रमुख जिल्ला अधिकारीले निषेधाज्ञा तथा आवश्यक आदेश जारी गर्नसक्ने अधिकार दिएको थियो ।
सोही अधिकार प्रयोग गर्दै बाँके लगायतका केही जिल्लाले यसअघि नै आदेश जारी गरेका थिए भने धेरै जिल्लाले बिहीबारबाट लागू हुनेगरी एक हप्ताका लागि अत्यावयक बाहेकका गतिविधि गर्न नपाउने गरी निषेधाज्ञ जारी गरेका छन् । सबैभन्दा बढी प्रभावित भएको बाँके जिल्लाले वैशाख १३ गतेबाट निषेधको आदेश जारी गरेको थियो । उक्त आदेश २० गतेसम्म जारी रहने छ । त्यसपछि थप्ने अधिकारसमेत प्रजिअलाई नै रहेको छ । सुर्खेत जिल्लाले वैशाख १४ गतेबाट लागू हुनेगरी आदेश जारी गरेको थियो । आदेश यही वैशाख २१ गते राति १२ बजेसम्म जारी रहने छ । काठमाडौँ उपत्यका लगायतका ११ जिल्लाले बिहीबार बिहानदेखि लागू हुनेगरी आदेश जारी गरेको छ । कुनै जिल्लाले बिहान ६ बजेदेखि नै लागू गरेका छ भने कुनै जिल्लाले राति १२ बजे (भोलि बिहान) बाट आदेश कार्यान्वयनमा लैजाँदै छ ।
मन्त्रालयबाट प्राप्त विवरण अनुसार बिहीबार काठमाडौँका तीनै जिल्ला (काठमाडौँ, ललितपुर, भक्तपुर) ले बिहान ६ बजेदेखि नै निषेधाज्ञा जारी गरेको छ । उक्त आदेश यही वैशाख २२ गते राति १२ बजेसम्म कायम रहने काठमाडौँका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुली बताउँछन् । यसरी आदेश जारी गर्ने अन्य जिल्लामा कास्की, कैलाली, पर्सा, कञ्चनपुर, दाङ, पाल्पा, चितवन, रुपन्देही, सल्यान र सुनसरी रहेका छन् । त्यसमध्य पाल्पा र चितवनमा बिहीबार राति १२ बजेबाट र सल्यानमा १९ गते बिहान ६ बजेबाट आदेश कार्यान्वयनमा जाँदैछ । अन्य जिल्लामा भने बिहीबार बिहानैदेखि लागू भएको छ ।
यस्तै तीन जिल्लामा आंशिक निषेधाज्ञ जारी गरिएको गृह प्रवक्ता जनकराज दाहालले जानकारी दिए । उनका अनुसार कालिकोट, बाग्लुङ र बर्दियामा आंशिक आदेश जारी भएको छ । कालिकोटमा १० गतेबाट, बाग्लुङमा ७ गतेबाट र बर्दियामा १३ गतेबाटै लागू गरिएको हो । बाग्लुङको बाग्लुङ नगरपालिका १२, १३, १४ वडा तथा साविक अमलाचौर, पैयूँपाटा र नारायणस्थान क्षेत्रमा लागू गरिएको छ । उक्त क्षेत्रमा यसअघि नै लागू गरिएको थियो । त्यस्तै कालिकोटमा खाँडाचक्र नगरपालिका ११ को रेङ्गिलमा लागू गरिएको छ । बर्दियाको गुलरिया नगरपालिका–५ र ६ को सम्पूर्ण क्षेत्र, बाँसगढी बजार क्षेत्र, बारबर्दिया नगरपालिकाको जयनगर, कतर्निया बजार, मधुवन नगरपालिकाको लाली बजार ओराली बजार, ठाकुरबाबा नगरपालिकाको बगनाहा, भूरी गाउँ र ठाकुरद्वारा बजार, राजपुर नगरपालिकाको बजार क्षेत्र, बढैयाताल गाउँपालिकाका बजार क्षेत्र तथा गेरुवा गाउँपालिकाको शान्तिबजार र पशुपतिनगर बजार क्षेत्रमा निषेधाज्ञ जारी गरिएको मन्त्रालयले जनाएको छ ।
के गर्न पाइन्छ, के गर्न पाइन्छ ?
आदेशानुसार सबै प्रकारका सभा, सम्मेलन, गोष्ठी, तालिम, सेमिनार, सिनेमा हल, पार्टी प्यालेस, स्विमिङ पुल, शपिङ मल, मनोरञ्जनस्थल, सैलुन, ब्युटी पार्लर, जिमखाना, समूहमा खेलिने खेलकुद, पुस्तकालय, सङ्ग्रहालय, चिडियाखाना आदि सञ्चालन गर्न पाइने छैन । विवाह व्रतबन्धको हकमा बढीमा १५ जनासम्म स्वास्थ्य मापदण्ड पालना गर्ने गरी जिल्ला प्रशासन कार्यालयबाट अनुमति लिनुपर्ने हुन्छ । विवाहमा जाँदा व्यानरसहित दुई वटा मात्रै गाडी प्रयोग गर्नुपर्ने छ । विवाहमा जाँदा जिल्ला वा अन्तर जिल्लाका लागि पास नचाहिने तर पार्टी प्यालेस प्रयोग गर्दा भने अनिवार्य पास चाहिने छ ।
उक्त अवधिमा अत्यावश्यक सामग्री बोकेका ढुवानीका सवारी साधन, बिरामी तथा कुरुवा बोकेका एम्बुलेन्स, स्वास्थ्यकर्मी तथा सुरक्षा निकायले प्रयोग गर्ने सवारी साधनबाहेक अन्य सवारी साधन चल्न पाउने छैन । सरकारी कार्यालय लगायतका सार्वजनिक सेवा प्रदायक संस्थाको हकमा सम्बन्धित मन्त्रालय वा विभागबाट जारी भएको सवारी पास लिई सवारी साधन प्रयोग गर्न पाइने छ । विकास निर्माण कार्यमा चाहिने मजदुर र सामग्री ढुवानीका साधनको हकमा सम्बन्धित आयोजना वा कार्यालय प्रमुखको सिफारिसका आधारमा पास लिएर चलाउनुपर्ने छ ।
खाद्य सामग्री र औषधि तथा स्वास्थ्य सामग्री सम्बन्धी पसल व्यवसाय बाहेकका व्यवसाय बन्द गरिएको छ । उपत्यकामा खाद्य सामग्री पसल, ग्रोसरी कक्ष बिहान १० बजेसम्म र साँझ ५ देखि ७ बजेसम्म चल्न पाइने छ तर तोकेको स्वास्थ्य मापदण्ड पालना गर्नुपर्ने हुन्छ । सरकारी कर्मचारी, बैंक तथा वित्तीय संस्था बीमा र सहकारीलगायत राष्ट्र बैँकबाट इजाजत प्राप्त वित्तीय कारोबार गर्ने संस्थामा कार्यरत कर्मचारीको हकमा कार्यालयले जारी गरेको परिचयपत्रका आधारमा आवतजावत गर्न पाइने छ । काठमाडौँ उपत्यका प्रवेश गर्ने व्यक्तिको अनिवार्य रुपमा स्थानीय तहले तोकेको क्वारेन्टिन र होम आइसोलेसनमा बस्नुपर्ने काठमाडौँका प्रमुख जिल्ला अधिकारी पराजुलीले जानकारी दिए । पत्रकारको हकमा सूचना विभाग, पत्रकार महासंघ र स्वयं सञ्चार संस्थाले जारी गरेको प्रेस परिचयपत्रका आधारमा आवतजावत गर्न पाइने छ ।
यसैबीच सरकारले नेपाल सिमाना जोडिएका छिमेकी मुलुकका नागरिकबाहेक अन्य देशका नागरिकलाई स्थलमार्गबाट हुने आवागमन स्थगन गरेको छ । स्थलमार्गबाट नेपाल आउनुपर्ने भारतीय र चिनियाँ नागरिकलाई निजले यात्रा गर्नुअघि स्वाब सङ्कलन भएको ७२ घन्टाभित्रको कोभिड–१९ नेगेटिभ तथा १० दिन अनिवार्य रुपमा होटेल क्वारेन्टिनमा बस्ने गरी होटेल बुक गरेको प्रमाण पेश गरेको आधारमा स्थानीय प्रशासनको अनुमतिमा नेपाल प्रवेश गर्न दिने निर्णय गरेको छ । हवाई मार्गबाट नेपाल प्रवेश गर्ने नागरिकले पनि उक्त मापदण्ड पालना गर्नुपर्नेछ । उनीहरुले १० दिन अनिवार्य होटेल वा होम क्वारेन्टिनममा बस्नुपर्नेछ ।
थप ४९२८ कोरोना संक्रमण पुष्टि
देशभर बिहीबार थप चार हजार ९२८ जनामा कोभिड–१९ को संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो समय १३ हजार ५६० जनाको स्वास्थ्य परीक्षण गर्दा सो संख्यामा संक्रमण पुष्टि भएको हो । यसमा १२ हजार ५९७ जनाको पीसीआर र ९६३ जनाको एन्टीजेन परीक्षण गर्दा क्रमशः चार हजार ८३१ र ९७ जनामा संक्रमण पुष्टि भएको हो ।
बिहीबारसम्म नेपालमा संक्रमितको संख्या तीन लाख १७ हजार ५३० पुगेको छ । त्यस्तै पछिल्लो समय थप ८८८ जना निको भएका छन् । योसँगै निको हुनेको संख्या दुई लाख ८७ हजार १६७ रहेको छ । निको हुने दर भने ८८ दशमलव दुई प्रतिशत रहेको छ । अहिले देशभर ३४ हजार ११७ सक्रिय संक्रमित छन् । हालसम्म नेपालमा २४ लाख ५८ हजार ५६५ को पीसीआर परीक्षण भएको छ ।
त्यस्तै पछिल्लो समय कोरोनाका कारण ३५ जनाको मृत्यु भएको छ । हालसम्म कोरोनाका कारण तीन हजार २४६ जनाले ज्यान गुमाएको मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा एक हजार ५६१ संक्रमित थपिएका छन् । यसमध्ये काठमाडौँ जिल्लामा एक हजार १२७, ललितपुरमा २५२ र भक्तपुरमा १८२ संक्रमित थपिएका हुन् । उपत्यका बाहिर ५२८ र बाँकेमा ४८९ संक्रमित थपिएका छन् । त्यस्तै, कैलालीमा ३३९, मोरङमा १३७, पर्सामा १५० र दाङमा १८१ संक्रमित थपिएका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार