आइतबार, साउन १० २०८३

आइतबार, साउन १० २०८३

निषेधाज्ञाको समयमा वैदेशिक रोजगारीका विभिन्न प्रक्रिया सुचारु रहने

विभागको सेवा जारी रहने, संघले सहजीकरण गर्ने, बोर्डका सेवा अनलाइनमार्फत

बिहिबार, बैशाख १६ २०७८

काठमाडौं(जस)–कोरोना महामारी रोकथाम तथा नियन्त्रणका लागि शुरु भएको निषेधाज्ञाका कारण वैदेशिक रोजगार क्षेत्र प्रभावित हुने भएको छ । वैदेशिक रोजगार क्षेत्र प्रभावित भएपनि निषेधाज्ञाको समयमा वैदेशिक रोजगारीका विभिन्न प्रक्रिया सुचारु हुनेछन् । नेपाल वैदेशिक रोजगार व्यवसायी संघका अनुसार अन्तिम श्रम स्वीकृति लिएर श्रमिक विदेश पठाउने प्रक्रिया सम्पन्न गर्न लागेको अवस्थामा निषेधाज्ञा लागू भएकोले मेनपावर व्यवसायीहरुलाई आवश्यक सहयोग गर्न कार्यालय खुल्ला रहने छ । संघका महासचिव सुजितकुमार श्रेष्ठका अनुसार लकडाउन सुरु हुनु अगाडी नै मेडिकल गराउन, अभिमुखिकरण तालिम लिन, पुलिस रिर्पोट प्रमाणीकरण गर्नका लागि तथा अन्य सम्वधित कामका लागि काठमाडौ आईसकेका व्यक्तिहरुलाई विदेश पठाउन संघले व्यवसायीलाई सहजीकरण गर्नेछ ।
‘व्यवसायी र कामदारलाई आवश्यक पर्न जाने सहयोग गर्न, पास आवश्यक भए वैदेशिक रोजगार विभागमा सिफारिस पठाउने सहमति भए अनुसार संघले संघकै पदाधिकारी तथा सदस्यहरुलाई जिम्मेवारी तोकेको छ, समस्या परेमा व्यवसायीले उहाँहरुलाई सम्पर्क गर्न सक्नुहुनेछ’ महासचिव श्रेष्ठले भने ।
यस्तै निषेधाज्ञाका समयमा वैदेशिक रोजगार वोर्ड र वैदेशिक रोजगार विभागले पनि आफ्नो सेवा सञ्चालन गर्नेछन् । निषेधाज्ञाका समयमा वोर्डले आफना सेवा सेवा अनलाइनमार्फत प्रदान गर्ने भएको छ । वोर्डले निवेदन लिने, आर्थिक सहायता दिने काम अनलाइनमार्फत संचालन गर्ने वोर्डका कार्यकारी निर्देशक राजनप्रसाद श्रेष्ठले बताए । वैदेशिक रोजगारीका क्रममा मृत्यु भएकाहरुको शव ढुवानी पूर्ववत रुपमै संचालन हुने उनले बताए । यस्तै वैदेशिक रोजगार विभागले आफ्ना कर्मचारीलाई आलोपालो प्रणालीमा राखेर सेवा प्रवाह नियमित गर्ने विभागका महानिर्देशक कृष्णप्रसाद दवाडीले जानकारी दिए । ‘विभाग र विभाग माताहतका कार्यालयबाट साविकमा जे जे काम हुँदै आएका थिए ति सबै सुचारु नै हुन्छ’ महानिर्देशक दवाडीले भने–‘प्राथमिकताका आधारमा काम सुचारु हुनेछन् ।’
बिहीबारदेखि काठमाडौं उपत्यकामा लगाइने निषेधाज्ञाका कारण अत्यावश्यक बाहेकका सेवा र यातायात बन्द भएपनि अन्तर्राष्ट्रिय उडानबाट विदेश जाने यात्रुले हवाई टिकट, पासपोर्ट, भिसा देखाएमा एयरपोर्ट जाने गाडी चलाउन पाइनेछ । नेपाल सरकारले निर्णय अनुसार काठमाडौं उपत्यकामा वैशाख १६ गते बिहान ६ बजेदेखि १५ दिनको लागि अत्यावश्यक बाहेकका सेवा र यातायात बन्द हुनेछन् । वैशाख १६ देखि काठमाडौं उपत्यकामा सबै प्रकारका सभा सम्मेलन, गोष्ठी, सेमिनार, सिनेमा हल, पार्टी प्यालेस, स्वीमिङ पुल, सपिङ मल, मनोरञ्जनस्थल, सैलुन, ब्युटी पार्लर, जिमखाना, समूहमा खेलिने खेल, पुस्तकालय, संग्रहालय, चिडियाखाना बन्द गर्ने निर्णय गरिएको छ । अत्यावश्यक बाहेकका सेवा र यातायात बन्द हुने हुँदा यसको प्रभाव वैदेशिक रोजगारीका लागि गरिने पुर्व तयारीमा समेत पर्ने देखिएको छ ।
तर, निषेधाज्ञाका कारण मेनपावर कम्पनीहरुले लिने डिमाण्डको पुर्व स्वीकृति, छनौट प्रक्रियाको लागि लिने अन्तर्वार्ता लगायत प्रक्रिया प्रभावित हुने भएको छ । काठमाडौं उपत्यकामा निषेधाज्ञा लगाइएकै अवस्थामा मेनपावर कम्पनीले वैदेशिक रोजगार विभागबाट पुर्व स्वीकृति लिएर गरिने श्रमिक छनौट प्रक्रिया प्रभावित हुनेछ । वैदेशिक रोजगार वोर्ड मार्फत हुने सीप तालिम, सीप परीक्षण लगायतका काम रोकिने छ । अन्तराष्ट्रिय उडान बन्द नभएको र श्रम स्वीकृति बन्द नभएसम्म अभिमुखीकरण तालिम बन्द गर्न नमिल्ने श्रेष्ठले बताए । जिल्ला प्रशासनको निर्देशन बमोजिम काम गर्नका लागि सम्बन्धित संस्थालाई वोर्डले अनुरोध गरेको उनले बताए ।

प्रतिक्रिया
सम्बन्धित समाचार