काठमाडौं(जस)–गण्डकी प्रदेशसभामा मुख्यमन्त्री पृथ्वीसुब्बा विरुद्धको अविश्वासको कार्यक्रम स्थगित भएको छ । राष्ट्रिय जनमोर्चाका सांसद खिमबिक्रम शाही सम्पर्कविहीन भएपछि बैठक स्थगित गरिएको हो । राजमोले आफ्ना सांसद सम्पर्कविहिन भएको भन्दै जीवनरक्षाका लागि प्रदेशसभामा निवेदन दिएको थियो । राष्ट्रिय जनमोर्चाले आफ्ना एक सांसद हराएको जनाएको छ । हराएका सांसद खिमविक्रम शाहीलाई खोज्न जनमोर्चाले गण्डकी प्रदेशसभामा निवेदन दिएको छ । बुधबार अपरान्ह जनमोर्चाकी सचेतक पियारी थापाले आफ्नो पार्टीका सांसद शाहीको अवस्था अज्ञात रहेकाले संसद रोक्न सभामुखसमक्ष निवेदन दिएकी हुन् । प्रदेश सभामुखले उक्त विषय सम्बोधन नगरी बैठक बस्नु उपयुक्त नहुने भन्दै अनिश्चितकालका लागि बैठक स्थगित गरेका हुन् ।
देशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्धको अविश्वास प्रस्तावमा बुधबार निर्णय हुने कार्यसूची तय भएको थियो । सोमबारदेखि शुरु भएको प्रदेशसभाको विशेष अधिवेशनअन्तर्गत बुधबारको बैठकमा प्रस्ताव सम्बन्धमा छलफल भई मुख्यमन्त्री गुरुङले जवाफ दिने र मुख्यमन्त्रीले जवाफ दिएपछि सो प्रस्तावमाथि निर्णय गरिने कार्यसूची थियो । मङ्गलबारको बैठकमा नेकपा(एमाले)का प्रदेशसभासद्ले कोरोना परीक्षण नगरी बैठक बस्न नहुने जनाई अवरोध गरेपछि बैठक स्थगन भएको थियो । परीक्षण सम्बन्धमा सहमति जुटेपछि प्रदेशसभा सदस्य एवम् कर्मचारीको पिसिआर परीक्षणपछि आजको बैठक शुरु भएको थियो । गण्डकी प्रदेशसभाका तीन प्रदेशसभा सदस्यसहित एकजना कर्मचारीमा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।
प्रदेशसभामा मङ्गलबार प्रदेशसभा सदस्यसहित १५३ जनाको कोरोना परीक्षण गरिएको प्रदेश जनस्वास्थ्य प्रयोगशालाका निर्देशक सपना सुवेदीले जानकारी दिइन । मङ्गलबारको बैठकको शुरुमै नेकपा एमालेका तर्फबाट प्रदेशसभा सदस्य राजीव पहारीले कोरोना परीक्षण गरेर मात्र बैठक चलाउन माग गरेसँगै सत्तापक्षीय सदस्यहरूले बैठक अवरुद्ध गरेका थिए । प्रदेशसभाको विशेष अधिवेशन अन्तर्गतको बैठकको कार्यसूचीमा मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ विरुद्धको अविश्वासको प्रस्तावमाथि छलफल गर्ने कार्यक्रम रहेको थियो । बैठक अवरुद्ध भएपछि बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकमा पिसिआर परीक्षण गरेपछि मात्रै बैठक चलाउने सहमतिबमोजिम मङ्गलबार प्रदेशसभा सदस्य एवम् कर्मचारीको पिसिआर परीक्षण गरी बुधबार १ बजेका लागि बैठक बोलाइएको थियो । पिसिआर परीक्षणमा कोरोना सङ्क्रमण देखिएमा उक्त सदस्यले छलफलमा भाग लिन नपाउने तर मतदानमा भने भाग लिने गरी सहमति भएको थियो ।
यसैबीच, जनमोर्चाका सांसद खिमविक्रम शाही चरक मेमोरियल हस्पिटलको आइसियुमा भर्ना भएका छन् । उनका स्वकीय सचिव मिलन हमाका अनुसार दिउँसो १२ बजे अचानक बिरामी भएपछि उनलाई उपचारका लागि अस्पताल लगिएको हो । तर, उनको पीसीआर रिपोर्ट भने नेगेटिभ आएको छ ।
गण्डकी प्रदेशमा सत्ता संरक्षित गुण्डागर्दी
काठमाडौं । नेपाली काँग्रेसले गण्डकी प्रदेशमा सत्ताको आडमा गुण्डागर्दी भएको टिप्पणी गरेको छ । बुधबार मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुंग विरुद्धको अविश्वास प्रस्तावमाथि मतदानको कार्यक्रम थियो । तर, राष्ट्रिय जनमोर्चाका एकजना सांसद नआएपछि बैठक स्थगित भएको छ। सो घटनाबारे काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले सामाजिक सञ्जालमा अविश्वासको प्रस्तावमा मत दिन रोकेर सरकारले गुण्डागर्दी गरेकोेआरोप लगाएका हुन् । शर्माले ट्वीट गर्दै भनेका छन्, ‘स्वस्थ, तन्दुरुस्त मान्छेलाई पृथ्वी चोकको चरक अस्पतालको आईसीयूमा कसैलाई भेट्न नदिएर किन राखिएको छ ? उपचारका नाममा बन्दी ? अविश्वासमा मत दिन रोक्ने नाममा सत्ता संरक्षित गुण्डागर्दी?’