कतार(जस)– कतारस्थित नासर अल अली कम्पनीद्धारा नौ नेपाली कामदारलाई जनही १५ हजार रियाल पुरस्कार प्रदान गरेको छ । आइओएस प्रमाणित उक्त कम्पनीले आफ्ना नौ नेपाली कामदार चन्द्र धिमाल, चन्द्र महतो, गरीब दास, गोरे श्रेष्ठ, बेलबहादुर कामी, माहिकार चौधरी, राजकिशोर सिंह, राम बाबु दास र महेन्द्र मण्डल धानुकलाई रमजानको पवित्र महिनाको अवसरमा सो रकम प्रदान गरेको हो । कम्पनीमा १० वर्षभन्दा बढी आफ्नो समर्पण इमान्दारिता र उत्कृष्ट काम गरेवापत् जनही १५ हजार रियाल पुरस्कार प्रदान गरी नासर अली अल अली, कम्पनीका मालिक नासर अल अलीले एक कार्यक्रमकाबीच ती कामदारहरुलाई सो नगद हस्तान्तरण गर्दै सम्मानित गरेका थिए ।

प्राप्तकर्तामध्ये एक महेन्द्र मण्डल धानुक नेपालको सुदूर पूर्वी पहाडका हुन् । कतारको आम्दानीबाट उनी देशको पूर्वी पहाडमा रहेको शहरी क्षेत्रमा जमिन किन्न सफल भए र त्यहाँ नयाँ घर बनाए । अर्को पुरस्कार विजेता चन्द्र धिमाल आफ्ना बच्चाहरूलाई शिक्षित गर्न सक्षम भएका छन् । यस्तै चन्द्र महतो नेपालको गरिब परिवारबाट आएका कम्पनीमा सिकर्मीको रूपमा कार्यरत छन् । उनका अनुसार उनका मालिक अलीले उनलाई शिक्षामा लगानी गर्न प्रोत्साहित गरे र उनले आफ्नो तलब आफ्ना बच्चाहरूको शिक्षामा प्रयोग गरे ।

अर्को कामदार गोरे श्रेष्ठ कन्स्ट्रक्सन कामदारको रुपमा आएका निम्न पारिवारिक पृष्ठभुमिका श्रेष्ठ अहिले ट्रेडमा काम गर्नसक्ने दक्ष कामदार भइसकेका छन् । यस्तै बेलबहादुर कामी आफ्नो काम, पारिश्रमिक र घरेलु वातावरणमा सन्तुष्ट छन् । २०१० मा कतार अवतरित भएका माहिकार चौधरी नेपालको गरिब परिवारका हुन् । नासर अल अली इन्टरप्राइजेजमा आफुले काम गरेर आफनो आर्थिक सुधार गर्न सकेको बताउने चौधरी कम्पनीको मालिक आफुहरुको अविभावक भएको बताउँछन् । राज किशोर सिंह पनि आफ्नो पुरस्कारको पैसा आफ्ना बच्चाहरूको शिक्षाको लागि प्रयोग गर्न चाहन्छन् । रामबाबु दास पुरस्कार पाउँदा खुसी भएका उनले भविष्यमा राम्रो जीवनको लागि यो पैसा बचाउन चाहेको बताए । अर्का कर्मचारी गरीब दासले आफ्नो कम्पनीका मालिक नासर अल अलीले सधै परिवारका सदस्यहरू झैं व्यवहार गर्ने गरेको बताउँदै उनको प्रशंसा गरे ।

कम्पनीका मालिक नासर अली अल अलीले आफनो कम्पनीमा काम गरिरहेका कामदारहरुलाई उनीहरुको इमान्दारिता, लगनशीलता र योगदानको मुल्यांकन गर्दै पुरस्कार दिन पाउँदा आफुलाई खुशी लागेको बताए । ‘उनीहरुको योगदान आफनो कम्पनीमा प्रशंसनीय रहेको छ । कम्पनीले आर्जन गरेको रकमबाट यसरी कामदारहरुलाई समयसमयमा पुरस्कृत गर्न पाउदा कम्पनी र कामदारको वीचमा सम्बन्ध गाढा हुने र कामदारहरुपनि प्रोत्साहित हुन्छन’, अलीले भने । आफ्ना कामदारहरुले वफादारी र कडा परिश्रमले कम्पनीको सफलतामा समेत ठुलो योगदान पुर्याएको बताउँदै उनले सबै कामदारहरुको कामको सराहना गरे । ‘यो सबै कामदारहरुको उत्साहको टोकनस्वरुप हो । सबै कामदार तथा कर्मचारीहरूले आगामी दिनमा अझ बढी योगदान दिने र उनीहरुले पनि सफलताहरू प्राप्त गर्दै जाने छन् भन्ने कुरामा म विश्वस्त छु’, अलीले बताए ।
