आइतबार, साउन १० २०८३

आइतबार, साउन १० २०८३

कोरोना नियन्त्रणका लागि निषेधाज्ञादेखि परीक्षा स्थगनसम्म, यस्ता छन् सरकारी निर्णयहरु

सोमबार, बैशाख १३ २०७८

सबै परीक्षा स्थगित गर्न सीसीएमसीको सिफारिस, सार्वजनिक कार्यक्रममा सहभागी नहुन आग्रह, शहरी जिल्लामा पाँच सय र पहाडी जिल्लामा दुई सय सक्रिय संक्रमित भए निषेधाज्ञा, जिप्रका काठमाडौंद्धारा अत्यावश्यक बाहेकका सेवा स्थगित, कोरोनाबाट एकैदिन २८ जनाको मृत्यु

काठमाडौं(जस)–कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) को बैठकले कोरोनाको सक्रिय संक्रमितको संख्या शहरमा पाँच सय र पहाडमा दुई सय नाघेमा निषेधाज्ञा गर्न सिफारिस गरेको छ । आइतबार बसेको सीसीएमसीको बैठकले शहरी जिल्लामा पाँच सय र पहाडी जिल्लामा दुई सय सक्रिय संक्रमित भएमा प्रमुख जिल्ला अधिकारीले निषेधाज्ञाको आदेश जारी गर्न सक्ने गरी निर्णय गर्न मन्त्रिपरिषदलाई सिफारिस गरेको हो । त्यस्तै सीसीएमसीले सीमा नाकाबाट विदेशीहरुको नेपाल प्रवेशलाई रोक्न सरकारलाई सिफारिश गरेको छो । आइतबार मात्र देश भर ३०३२ संक्रमित र काठमाडौँमा १४९८ संक्रमित पुष्टि भएपछि सीसीएमसीले यस्तो सिफारिस गरेको हो ।
सोमबारदेखिका सबै परीक्षा स्थगित गर्न सीसीएमसीको सिफारिस
काठमाडौं । कोरोना संकट व्यवस्थापन केन्द्र सीसीएमसीले सोमबारदेखिका सबै परीक्षा स्थगित गर्न सिफारिस गरेको छ । आइतबार बसेको बैठकले सोमबारदेखि हुने सबै तहका परीक्षा स्थगित गर्न सरकारलाई सिफारिस गरेको हो । यो सिफारिस अनुसार अब विद्यालय र क्याम्पसका सबै परीक्षाहरु स्थगित हुने भएका छन् । यसअघि मन्त्रिपरिषद बैठकले चालु रहेको परीक्षा नरोक्ने निर्णय गरेको थियो । तर, परीक्षाका नाममा भिडभाड भएको र कक्षा सञ्चालन भएको भन्दै सीसीएमसीले सबै परीक्षा रोक्न सिफारिश गर्ने निर्णय गरेको बैठकमा सहभागी एक मन्त्रीले बताए । कोरोनाको दोस्रो लहर आएपछि बालबालिकामा बढी संक्रमण भएको देखिएपनि सरकारले समयमा विद्यालय बन्द गर्ने र परीक्षा बारे निर्णय नलिएको भन्दै व्यापक आलोचना भइरहेको बेला सीसीएमसीले परिक्षा स्थगित गर्न सिफारिश गरेको हो । स्वास्थ्य मन्त्रालयको आइतबार सार्बजनिक आँकडा अनुसार ९ बर्ष मुनिका ६२ जना र १० देखि १९ बर्षसम्मका २७८ जना संक्रमित भएका छन् ।
सार्वजनिक कार्यक्रममा सहभागी नहुन स्वास्थ्य मन्त्रालयको आग्रह
सरकारले सार्वजनिक समारोह र सार्वजनिकस्थलमा कार्यक्रम नगर्न तथा नगराउन तथा सहभागी नहुन आग्रह गरेको छ । सबै व्यक्तिलाई सामाजिक उत्तरदायित्व निर्वाह गरी संवेदनशील बनिदिन तथा सार्वजनिकस्थलमा कुनै गतिविधि भए खबरदारीसहित कारबाहीको दायरामा ल्याउन आग्रह गरिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आइतबार एक सूचना मार्फत व्यक्ति व्यक्तिबाट गर्न सक्ने भूमिकाबाट कसैलाई पनि विचलित हुन नदिन र खबरदारी गर्न अनुरोध गरेको छ ।
मन्त्रालयले आमसञ्चारमा समाचार पढ्दा, अन्तर्वार्ता लिँदा वा कुनै पनि कार्यक्रमका समाचार बनाउँदा मास्कको अनिवार्य प्रयोग गर्न, मास्कको प्रयोग नगर्ने व्यक्तिका समाचार वा सूचनालाई निरत्साहित गर्न मन्त्रालयले आग्रह गरेको छ । मन्त्रालयले विश्वव्यापी महामारीको रुपमा रहेको कोभिड–१९ ले हाल छिमेकी देशमा स्वास्थ्य सेवा प्रवाह प्रणाली तहसनहस पारी नियमित स्वास्थ्य सेवा उपलब्ध गराउन र सङ्क्रमितलाई अस्पतालमा राखेर हेरचाह गर्न नसकिएको सन्दर्भ पेश गर्दै सबैलाई भौतिक दूरी कायम गर्न र हातको सरसफाइमा ध्यान दिन भनेको छ ।
पछिल्लो सङ्क्रमण सबै वर्ग र उमेर समूहका लागि अत्यन्तै जोखिमपूर्ण रहेको र हालसम्म कोभिडको उपचार गर्न सक्ने कुनै पनि औषधि वा उपाय चिकित्सा विज्ञानले विकास गर्न नसकेको अवस्थामा आफूले अरु सबैलाई सङ्क्रमणको आशङ्का राखेर मास्क लगाउने, भौतिक दूरी कायम राख्ने एवं हातको सफाइमा ध्यान दिन जरुरी रहेको उल्लेख गरेको छ । मन्त्रालयले सूचनामा भनेको छ, ‘आइतबार जुन दुःखद दृश्य स्वास्थ्यकर्मीले दैनिक रुपमा देखिरहेका छन्, त्यो कसैको पनि परिवार आफन्तमा नघटोस् भन्नका लागि हामी बसैले सङ्क्रमणको फैलावटलाई रोक्ने गरी जिम्मेवार बन्न र बनाउन अत्यावश्यक छ ।’
अत्यावश्यक बाहेकका सेवा स्थगित
जिल्ला प्रशासन कार्यालय काठमाडौँले कोभिड–१९ को सङ्क्रमणका कारण एक हप्ताका लागि अत्यावश्यक बाहेकका सेवा स्थगन गरेको छ । कोरोनाको सङ्क्रमण बढ्दै गएको र कार्यालयका केही कर्मचारी समेत सङ्क्रमित भएकाले होम आइसोलेशनमा रहनुपर्ने तथा सम्पर्कमा रहेका अन्य कर्मचारीको पनि परीक्षण गर्नुपर्ने हुँदा सोमबारदेखि एक हप्ताका लागि सेवा स्थगन गरिएको जनाइएको छ । सो अवधिमा शान्ति सुरक्षासँग सम्बन्धित निवेदन, मुद्दासँग सम्बन्धित कार्य र अन्य अत्यावश्यक सिफारिस सेवा भने सञ्चालन हुने प्रशासन कार्यालयले आइतबार सूचना जारी गरी जनाएको छ । पछिल्लो समय काठमाडौँ उपत्यकामा कोरोना भाइरसको सङ्क्रमण बढ्दो छ । यसअघि प्रशासन कार्यालयले विभिन्न विषय समेटेर आवश्यक सावधानी अपनाउन सर्वसाधारणसँग अपिल गरिसकेको छ ।
नेपालमा कोरोनाबाट एकैदिन २८ जनाको मृत्यु
नेपालमा थप ३०३२ जनामा कोरोना पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयले पछिल्लो २४ घण्टामा देशभर कुल ३०३२ जना संक्रमित थपिएको जानकारी दिएको हो । त्यस्तै स्वास्थ्य मन्त्रालयले ९० जनाको एन्टीजेन परिक्षण पोजेटिभ देखिएको जानकारी दिएको छ । अहिलेसम्म कुल ३ लाख ११९ संक्रमित पुगेका छन् । नेपालमा हाल सक्रिय कोरोना संक्रमितको संख्या १९ हजार ३८२ रहेको छ । त्यस्तै पछिल्लो २४ घण्टामा ४५० जना संक्रमण मुक्त भएका छन् भने अहिलेसम्म २ लाख ७७ हजार ५७३ जना संक्रमण मुक्त भएका छन् ।
नेपालमा कोरोना निको हुने प्रतिशत ९२.५ रहेको मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा ९ हजार २९२ पिसिआर परिक्षण भएको छ भने नेपालमा अहिलेसम्म कुल पिसिआर २४ लाख ५ हजार १७ पुगेको छ । त्यस्तै क्वारेन्टाइनमा ६९ जना रहेका छन् । त्यस्तै आइसोलेसनमा १९ हजार ३८२ जना रहेका छन् । त्यस्तै अहिले नेपालमा २५२ जना कोरोना संक्रमित आइसीयुमा उपचारत रहेका छन् भने ६५ जनाको भेन्टिलेटरमा उपचार भइरहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा कोरोनाबाट २८ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । अहिलेसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ३१६४ रहेको छ । यसरी नेपालमा अहिले कोरोना संक्रमणबाट मृत्यु हुनेको प्रतिशत १.०५ रहेको मन्त्रालयले जानकारी दिएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार