काठमाडौं(जस)–सरकारले देशव्यापी लकडाउन नगर्ने जनाएको छ । शनिबार बालुवाटारमा कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)को बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले आवश्यक भए स्थानीय तहले लकडाउन गर्न सक्ने तर देशव्यापी लकडाउन नहुने बताएका छन् । आजको बैठकमा प्रधानमन्त्री ओलीले सरकारले जारी गरेका आदेश पालना नभएको भन्दै असन्तुष्टि व्यक्त गरे ।
निर्णय विपरीत रंगशालमा धेरै दर्शक राखेर खेल खेलाएको र भीडभाड भइरहेको गुनासो आएको भन्दै यसलाई रोक्न कडाइ गर्न सम्बन्धित पक्षलाई सचेत गराउन प्रधानमन्त्री ओलीले निर्देशन दिएका छन् । कोरोनाविरुद्ध सरकारले जारी गरेको मापदण्ड पालना नगर्नेलाई कारबाही गर्न पनि प्रधानमन्त्रीले निर्देशन दिएका छन् । आदेशको पालना गर्न, सामग्री अभाव हुन नदिन र सीमानामा कडाइ गर्न प्रधानमन्त्री ओलीको निर्देशन छ । शनिबारको बैठकले आदेश पालना नभइरहेको भन्दै लकडाउन गर्नुपर्ने हुन सक्छ भन्ने निष्कर्ष निकाले पनि त्यसबारे कुनै निर्णय नगरेको बताइएको छ ।
प्रधानमन्त्री ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिए । पछिल्ला दिनमा कोरोनाको दोस्रो लहर बढ्दै गएको र दैनिक संक्रमितको सङ्ख्यामा उल्लेख्य वृद्धि भएपछि शनिबा प्रधानमन्त्रीले स्वास्थ्य मापदण्डको पालनामा कडाइ गर्न आग्रह गरेका हुन् । सिसिएमसीले गरेको ब्रिफिङपछि प्रधानमन्त्रीले केही दिन अघि जारी भएको स्वास्थ्यमा मापदण्डको कडाइका साथ पालना गर्नुपर्नेमा जोड दिएका थिए । ब्रिफिङमा सहभागी प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव खगराज बरालका अनुसार कोरोनाको संक्रमण रोक्न स्थानीय तहले नै कडाइका साथ स्वास्थ्य मापदण्ड लागू गर्नुपर्नेमा प्रधानमन्त्रीले जोड दिएका थिए ।
सिसिएमसीले यही वैशाख ६ मा सरकारले जारी गरेको स्वास्थ्य सुरक्षा मापदण्डको पालना, संक्रमणको अवस्था तथा सरकारको तयारीबारे जानकारी गराएको थियो । यस्तै, सरकारको तर्फबाट आगामी दिनमा चाल्नुपर्ने कदमलगायत विषयमा आवश्यक छलफल गरी खाका ल्याउन प्रधानमन्त्रीले सिसिएमसीलाई निर्देशन दिएका छन् । सरकारले काठमाडौँ उपत्यकालगायतका जिल्लामा शैक्षिक संस्थालाई वैकल्पिक माध्यमबाट सञ्चालन गर्ने व्यवसथा मिलाएको छ । यस्तै, सवारी साधनमा मास्क तथा स्यानीटाइजरलगायतको व्यवस्था गएिको छ । मनोरञ्जन स्थल तथा भीडभाड हुने स्थानमा २५ जना बढी भेला हुन नपाउने व्यवस्था गरेको छ ।
थप दुई हजार ६१९ मा कोरोना भाइरस संक्रमण पुष्टि
देशभर शनिबार थप दुई हजार ६१९ जनामा कोभिड–१९ संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार आठ हजार ६६८ जनाको स्वास्थ्य परीक्षण गर्दा सो सङ्ख्यामा संक्रमण पुष्टि भएको हो । जसमा सात हजार ५२५ जनाको पिसिआर र एक हजार १४३ जनाको एन्टिजेन परीक्षण गर्दा क्रमशः दुई हजार ४८६ र १३३ जनामा संक्रमण पुष्टि भएको हो । शनिबारसम्म नेपालमा कोरोना भाइरस संक्रमितको सङ्ख्या दुई लाख ९७ हजार ८६ पुगेको छ । त्यस्तै पछिल्लो समय थप ३६८ जना निको भएका छन् । यससँगै निको हुनेको सङ्ख्या दुई लाख ७७ हजार १२३ रहेको छ । निको हुने दर भने ९३ दशमलब तीन प्रतिशत रहेको छ ।
अहिले देशभर १६ हजार ८२८ सक्रिय संक्रमित छन् । उनीहरूमध्ये ७१ क्वारेन्टिनमा रहेका छन् । अन्य आइसोलेसनमा रहेका छन् । हालसम्म नेपालमा २३ लाख ९५ हजार ७२५ को पिसिआर परीक्षण भएको छ । त्यस्तै कोरोनाका कारण १४ जनाको मृत्यु पुष्टि भएको छ । हालसम्मा तीन हजार १३६ जनाले कोरोनाको कारण ज्यान गुमाएको मन्त्रालयले जनाएको छ । काठमाडौँमा ६४४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यस्तै बाँकेका ३५२, रुपन्देहीका २६८, दाङका १७२ र ललितपुरका १४१ जनामा संक्रमण देखिएको छ । काठमाडौँ उपत्यकाका तीनवटै जिल्ला काठमाडौँ, भक्तपुर, ललितपुरका साथै पर्सा, कास्की, दाङ, बाँके र रुपन्देहीमा सक्रिय संक्रमितको सङ्ख्या ५०० नाघिसकेको छ ।