बिहिबार, बैशाख ९ २०७८
काठमाडौं। नेकपा (एमाले) का वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपालसहित १५ नेताले पार्टी एकता रक्षाको लागि अपिल गरेका छन्।
नेपाल कम्युनिष्ट पार्टीको ७२ औं स्थापना दिवसका सन्दर्भमा अपिल प्रकाशित गरी नेताहरुले फुट–विभाजनको विरुद्ध एकताको प्रक्रियालाई नेतृत्व गर्दै नेकपा (एमाले) एउटा विशाल आन्दोलनका रुपमा विकसित हुँदै आएको स्मरण गराएका छन्।
एक पछि अर्को गर्दै पार्टी नेताहरुलाई कारबाही गरेर अध्यक्ष केपी ओलीले एमालेमा फुट पार्न र कम्युनिष्ट आन्दोलनलाई समाप्त पार्न खोजेको आरोप लगाइएको छ।
‘नेकपा एमालेको एकता बचाउन र कम्युनिष्ट आन्दोलनको रक्षा गर्न हामीले लिएको पहलकदमीका विरुद्ध शत्रुवत आक्रमण गर्दै हुनुहुन्छ, पार्टीका नेता तथा सांसदहरूमाथि तथाकथित स्पष्टिकरण र कार्यवाहीको नाटक गरिँदै छ’ अपिलमा भनिएको छ, ‘एमालेको एकता जोगाउन सकियो भने नेपाली कम्युनिष्ट आन्दोलनको रक्षा गर्ने आधार जोगिन्छ। यही अठोटका साथ ७२ वर्षको मिहेनतले निर्माण भएको कम्युनिष्ट आन्दोलनको रक्षा र विकास गर्न सवैले आ आफ्नो ठाउँबाट प्रयाश गरौं।’
अपिलको पूर्णपाठः
सम्पूर्ण पार्टी पंक्तिमा एकताका लागि अपिल
आजभन्दा ७२ वर्ष पहिले आजकै दिन (२२ अप्रिल १९४९-२००६ वैशाख १०) महान लेनिनको जन्मदिन पारेर हाम्रो पार्टी नेपाल कम्युनिष्ट पार्टीको स्थापना भएको थियो। सामन्ती तथा साम्राज्यवादी शोषण दमनको अन्त्य गर्दै श्रमजीवी वर्गलाई राजनीतिक, आर्थिक, सामाजिक र सांस्कृतिक अधिकार सम्पन्न बनाउँदै नयाँ जनवादी राज्यसत्ता स्थापना गर्नु पार्टी स्थापनाको उद्देश्य थियो। त्यसका निम्ति पार्टीले स्थापना कालदेखि नै निरन्तर संघर्ष गर्दै आएको छ र त्यस क्रममा नेपाल आमाका हजारौँ सुयोग्य सन्तानहरूले बलिदान समेत गरेका छन्। क्रान्तिकारी संघर्षका सात दशकमा यो पार्टी अनेक उतारचढावबाट गुज्रिएको छ र मुलुकमा लोकतान्त्रिक गणतन्त्रको स्थापना भएको छ, जनवादी क्रान्ति सम्पन्न भएको छ। यस सन्दर्भमा सम्पूर्ण ज्ञात अज्ञात शहीदहरूप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्छाैं। साथै क. पुष्पलाललगायत पार्टीका संस्थापक नेताहरू र क. मनमोहन अधिकारी एवं जननेता क. मदन भण्डारीलगायत अग्रज नेताहरूप्रति श्रद्धासुमन अर्पण गर्छौँ।
शहिदका रगतले रञ्जित हाम्रो पार्टीको इतिहासको एउटा ज्वलन्त शिक्षा के छ भने जुन बेला हाम्रो आन्तरिक लोकतन्त्र बलियो भयो पार्टीले सहि नीति लियो, जुनबेला पार्टी एकताबद्ध भयो हामी सफल भयौँ। अर्थात व्यक्तिवाद र गुटबन्दीले आन्तरिक लोकतन्त्र कमजोर हुँदा पार्टीले सहि नीति लिन सकेन, पार्टी विभाजित हुँदा त्यसको मूल्य आन्दोलन र राष्ट्रले तिर्नु पर्यो। यो आन्दोलनसँग एकातिर एकपछि अर्को क्रान्तिकारी पहलकदमीको विरासत छ, साहस र वीरताको धरोहर छ भने अर्कोतिर नेतृत्वमा पुगेका कतिपय व्यक्तिका अयोग्ताका कारणले गर्दा सम्पूर्ण पार्टीको भविष्य विसर्जनका भूमरीमा फसेको छ। जस्तो कि २०१४ सालमा क. पुष्पलालद्वारा प्रस्तावित गणतन्त्रको नीति पारित गरेको दोश्रो महाधिवेशनले डा. केशरजङ्ग रायमाझीलाई नेतृत्व सुम्पिन पुग्यो। त्यसको परिणाम २०१७ सालमा राजा महेन्द्रले संसद विघटन गरेर सत्ता हत्याउँदासमेत रायमाझीले समर्थन गर्न पुगे। तर हाम्रा क्रान्तिकारी अग्रजहरूले घुँडा टेकेनन्, असाधारणरुपले कठीन परिस्थितिमा पनि पार्टी र क्रान्तिको रक्षा गर्न अगाडि बढे। त्यही घटना २०७१ असारमा सम्पन्न नवौं महाधिवेशनपछि दोहोरिएको छ। त्यस महाधिवेशनले नेपाली जनवादी क्रान्ति आधारभूत रुपमा सम्पन्न भएको निष्कर्षका साथ समाजवादका आधार निर्माण गर्ने कार्यदिशा तय गरेको थियो तर पार्टी अध्यक्षमा त्यस कार्यदिशाका विरोधी केपी शर्मा ओली चुनिनुभयो र उहाँले महाधिवेशनबाट पारित कार्यदिशा, विधान र विधि–पद्धति सबै लत्याएर स्वेच्छाचारी ढङ्गले चल्न थाल्नु भयो। त्यसले गर्दा नवौं महाधिवेशन लगत्तैदेखि पार्टीमा समस्या बल्झिँदै आयो।
फुट–विभाजनको विरुद्ध एकताको प्रक्रियालाई नेतृत्व गर्दै हाम्रो पार्टी नेकपा (एमाले) एउटा विशाल आन्दोलनका रुपमा विकसित हुँदै आएको थियो। विश्वव्यापीरुपमा समाजवादका विरुद्ध भयानक कठिनाई पूर्ण दिनहरूमा पनि यसले आफुलाई जोगाउँदै आयो। यसको आन्तरिक जीवनमा आएका ठूल्ठूला समस्यालाई पनि यसले आन्तरिक लोकतन्त्रको अभ्यासका क्रममा समाधान गर्दै आयो। र, नेकपा एमालेले मुलुकको राजनीतिमा मात्रै होइन दक्षिण एशियाली राजनीतिमा र अन्तर्राष्ट्रिय कम्युुनिष्ट आन्दोलनमा समेत विशिष्ठ पहिचान बनायो।
त्यस क्रममा साढे तीन वर्ष अगाडि हामीले सम्विधान निर्माणमा नेतृत्व गर्यौँ, झण्डै दुई तिहाई संसदीय क्षेत्रमा वाम गठबन्धनको विजय हासील गर्यौँ र दुई वटा प्रमुख कम्युनिष्ट पार्टीको एकता गरेर कम्युनिष्ट आन्दोलनलाई ऐतिहासिक उचाईमा पुर्यायौँ। तर गत एक वर्षमा हामीमाथि एकपछि अर्को संकट आइपरेका छन्। पार्टी अध्यक्ष तथा प्रधानमन्त्रीका व्यक्तिवादी तथा विसर्जनवादी कदमहरूले आफैँले निर्माण गरेको संविधानमाथि आक्रमण गरेर संसद विघटन गर्नु भयो, पार्टी एकतालाई भत्काउनु भयो र संसदको बहुमत गुमाउनु भयो। र, अदालतले न्यायिक दायरा नाघेर गरेको राजनीतिक निर्णयले एकीकृत पार्टीलाई विभाजन गरेपछि बाँकी रहेको नेकपा एमालेलाई समेत विभाजन गर्न र कम्युनिष्ट आन्दोलनलाई विसर्जन गर्न पार्टी अध्यक्ष स्वयं नै सुनियोजितरुपले अगाडि बढिरहनु भएको छ। राजनीतिक घटना र कारणलाई हेर्दा नवौँ महाधिवेशनले नीति र नेतृत्वमा गरेका विरोधाभाषपूर्ण निर्णयको परिणामका रुपमा आज पार्टीले यो दुर्भाग्य ब्यहोर्दैछ भन्ने स्पष्ट छ।
२०७७ फागुन २३ गते भएको सर्वोच्च अदालतको निर्णयले नेकपा एमाले र नेकपा माओवादी केन्द्रलाई एकीकरणपूर्वको अवस्थामा फर्काएपछि नेकपा एमालेको पार्टी जीवन २०७५ जेष्ठ २ गतेबाट शुरु गर्नु पर्छ भन्ने कुरा सामान्य चेतना भएको जोसुकैले बुझ्ने कुरा हो। तर पार्टी अध्यक्षले फागुन २८ गते करिब ठूलो सङ्ख्यामा रहेका केन्द्रीय पदाधिकारी तथा सदस्यहरूलाई थाहासमेत नदिई आफ्नो गुटको भेला गरेर स्वेच्छाचारी ढंगले निर्णय गर्दै त्यसैलाई केन्द्रीय कमिटीको बैठक भनेर वक्तव्य प्रकाशित गरेपछि अहिलेको संकट आएको छ। कमरेड केपी ओलीका उक्त क्रियाकलापले पार्टीको विधान, परम्परा, सामान्य लोकतान्त्रिक मूल्यहरूको समेत धज्जी उडाएको छ। र, सयौँ सहिद, लाखौँ पार्टी सदस्य, शुभचिन्तक तथा समर्थकहरूको भावनामाथि खेलबाड गरेको छ।
वैचारिकरुपमा समेत उहाँ कम्युनिष्ट आन्दोलन र इतिहासको वैज्ञानिक चेतना, श्रमजीवी वर्गका हितबाट झन् झन् टाढा पुग्दै हुुनुहुन्छ। नेकपा एमालेको एकता बचाउन र कम्युनिष्ट आन्दोलनको रक्षा गर्न हामीले लिएको पहलकदमीका विरुद्ध शत्रुवत आक्रमण गर्दै हुनुहुन्छ, पार्टीका नेता तथा सांसदहरूमाथि तथाकथित स्पष्टिकरण र कारबाहीको नाटक गरिँदै छ। यसरी तीन वर्ष अगाडि राष्ट्रिय तथा अन्तर्राष्ट्रि प्रतिष्ठाका साथ उपलब्धीको एकपछि अर्को मानक बनाउँदै अगाडि बढेको यो पार्टी आज अचानक विभाजन र विसर्जनको डिलमा पुगेको छ।
नेकपा एमालेका सम्पूर्ण सदस्य कमरेडहरू,
कम्युनिष्ट पार्टीका लागि सहि वैचारिक तथा सैद्धान्तिक दिशा र त्यसलाई लागू गर्न सक्ने संगठन सबै थोक हो। तर पार्टी अध्यक्षका कारण आज ती दुवै संकटग्रस्त छन्। कमरेड के पी ओलीले हाम्रो पार्टी नेकपा एमालेलाई जुन दिशामा लैजाँदै हुनुहुन्छ त्यो पार्टीको विभाजन र विघटनको दिशा र अन्त्यतः कम्युनिष्ट आन्दोलनकै विसर्जनको दिशा हो। यसरी पार्टी अध्यक्षका गलत वैचारिक तथा सैद्धान्तिक दिशा र उहाँको व्यक्तिवादी अहंकारका विरुद्ध उभिनु र त्यसको सामना गर्नु र पार्टी एकताको पक्षमा दृढतापूर्वक उभिनु हरेक पार्टी सदस्य, शुभचिन्तक र समर्थकको ऐतिहासिक कर्तव्य हुन गएको छ। हामीले चैत्र ४ र ५ गतेको राष्ट्रिय भेलाबाट पार्टीको एकता र कम्युुनिष्ट आन्दोलनको रक्षाका लागि संगठित अभियान शुरु गरेका छौँ। पार्टी अध्यक्षसँग अनेकौँ विषयमा हाम्रा असहमति छन् र हामीसँग उहाँका पनि अनेक असहमति हुन सक्छन्। जसका बारेमा पार्टी केन्द्रीय कमिटीको विधिवत बैठकबाट समाधान गर्न सकिन्छ। त्यसका लागि २०७५ जेष्ठ २ गतेको बिन्दुबाट पार्टी जीवन आरम्भ गर्नुपर्छ भन्ने हाम्रो माग हो, दाबी हो। यति सामान्य र न्यूनतम प्रस्तावलाई पनि स्वीकार गरिँदैन भने कमरेड केपी ओली पार्टी विभाजनतर्फ लाग्नु भएको तथ्य नै प्रमाणित हुन्छ। यस अवस्थामा हामी सम्पूर्ण पार्टी परिवार एकतावद्ध भएर पार्टी एकता जोगाउने काममा योगदान गर्न पार्टी स्थापना दिवसको यस गौरवपूर्ण दिनमा हामी नेकपा (एमाले) को सम्पूर्ण परिवारमा अपिल गर्दछौँ।
हामीलाई नेकपा (एमाले) मा रहन नदिन अनेक दाउपेचहरू गरिएका छन्। २८ फागुनको गुट भेलालाई नै पार्टी केन्द्रीय कमिटको बैठक मान्ने कुराले त्यही देखाउँछ। तर हामी पार्टी एकता जोगाउन चाहन्छौं। त्यसैले हामीले ‘नेकपा (एमाले) को एकतालाई बचाऔँ, कम्युुनिष्ट आन्दोलनको रक्षा गरौँ’ भनेका छौं। त्यसका निम्ति फागुन २८ र तत्पश्चात भएका कथित बैठक र तिनका अवैध निर्णय सबै रद्ध गरिनुपर्छ र २०७५ जेष्ठ २ गते जुन केन्द्रीय कमिटी थियो त्यसको पूर्ण बैठक बसेर अब कसरी अगाडि बढ्ने भन्ने सम्बन्धमा निर्णय गर्नुपर्दछ। यदि त्यसो भयो भने नेकपा (एमाले) को एकता जोगिन्छ। एमालेको एकता जोगाउन सकियो भने नेपाली कम्युनिष्ट आन्दोलनको रक्षा गर्ने आधार जोगिन्छ। यही अठोटका साथ ७२ वर्षको मिहेनतले निर्माण भएको कम्युनिष्ट आन्दोलनको रक्षा र विकास गर्न सबैले आ आफ्नो ठाउँबाट प्रयास गरौं। पार्टी स्थापना दिवसको सन्दर्भमा कम्युनिष्ट पार्टीका आम नेता तथा कार्यकर्ता र समर्थक सुभचिन्तक सबैमा हामी यही हार्दिक अपिल गर्दछौं।
१. झलनाथ खनाल
२. माधव कुमार नेपाल
३. युवराज ज्ञवाली
४. अष्टलक्ष्मी शाक्य
५. भीम रावल
६. घनश्याम भुसाल
७. भीम आचार्य
८. गोकर्ण बिष्ट
९. योगेश भट्टराई
१०. मुकुन्द न्यौपाने
११. सुरेन्द्र पाण्डे
१२. रघुजी पन्त
१३. बेदुराम भुसाल
१४. अमृतकुमार बोहरा
१५. प्रमेश हमाल
जनसवाल दैनिक
दर्ता प्रमाणपत्र नंः १४३८/०७६-७७
ठेगाना: दरबारमार्ग-1- काठमाडौँ, नेपाल
ईमेल: [email protected]
मोबाईल नम्बर: 9851095345
© 2026 All right reserved | Site By : sobij