आइतबार, साउन १० २०८३

आइतबार, साउन १० २०८३

सभापति देउवाको नेतृत्वमा सरकार : महामन्त्री कोइराला

आइतबार, चैत्र २९ २०७७

चितवन(जस)–नेपाली कांग्रेसका महामन्त्री डा शशाङ्क कोइरालाले कांग्रेसको नेतृत्वमा छिटै नयाँ सरकार बन्ने बताएका छन् । शनिबार यहाँ पत्रकारसँग कुराकानी गर्दै उनले कांग्रेस सभापति शेरबहादुर देउवाको नेतृत्वमा सरकार बन्ने बताएका हुन् । उनले भने, “शेरबहादुरजी संसदीय दलको नेता छन् । उनकै नेतृत्वमा अब सरकार बन्छ । यस विषयमा अन्य दलसँग छलफल जारी छ ।”
जनता समाजवादी पाटीसँग सरकारका विषयमा छलफल भइरहेको र केही दिनमा नै टुङ्गो लाग्ने उनको भनाइ थियो । उनले थपे, “जसपासँग छलफल भइरहेको छ । उनहरू पनि आन्तरिक छलफलमा छन् ।” जसपाको निर्णय आएलगत्तै सरकार परिवर्तन हुने उनले बताए । फरक प्रसङ्गमा उनले कांग्रेसको महाधिवेशनलाई असर नगर्ने गरी सरकारमा जानुपर्ने बताए । उनले भने, “समयमा नै महाधिवेशन गर्नुपर्छ भन्ने हाम्रो धारणा हो । सरकारमा जाँदा महाधिवेशनलाई कुनै असर पर्नु हुँदैन ।”
कांग्रेसभित्र कुनै विवाद छैन : प्रवक्ता शर्मा
नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले कांग्रेसभित्र कुनै विवाद नभएको बताएका छन् । नेपाली कांग्रेस तथा नेविसङ्घ लमजुङ–काठमाडौँ सम्पर्क समितिले शनिबार यहाँ आयोजना गरेको नयाँ वर्ष २०७८ को शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रममा उनले वर्तमान सरकारको विकल्प खोज्नेबारे कांग्रेसभित्र कुनै विवाद नभएको बताएका हुन् ।
“कांग्रेसभित्र वर्तमान सरकारको विकल्प खोज्नेबारे सबै नेताहरूको एकमत रहेको छ, कांग्रेस सरकारको नेतृत्वमा निर्वाचनमा जानेबारे पार्टीभित्र एउटै धारणा छ”, उनले भने । बाहिर सञ्चारमाध्यममा आएजस्तो कांग्रेसभित्र कुनै विवाद नभएको उनको भनाइ छ । कांग्रेस प्रचारप्रसार विभाग प्रमुखसमेत रहनुभएका प्रवक्ता शर्माले नेपाली कांग्रेस राजनीति दल मात्र नभएर समाजको प्रतिनिधित्व भएको बताउँदै कांग्रेसले मात्र मुलुकलाई सही बाटोमा लैजाने बताए । कांग्रेसको छवि बदलेर सङ्गठनात्मक स्वरुप बदल्नुपर्ने प्रवक्ता शर्माको भनाइ छ । उनले कांग्रेसभित्र सबैले आफ्नो जिम्मेवारीलाई सही ढङ्गले निभाउन सकेमात्र कांग्रेस रुपान्तरण हुने बताए ।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य दिलबहादुर घर्तीले कांग्रेसलाई मजबुद र एकताबद्ध बनाए मात्र आगामी निर्वाचनमा जीत हासिल गर्न सकिने बताए । विगतका अनुभवलाई विचार गरेर नयाँ पिंढीलाई कांग्रेसबारे प्रशिक्षण गर्नुपर्ने उनको भनाइ थियो । कांग्रेस लमजुङका सभापति भेषबहादुर पौडेलले पार्टीभित्र देखिएको गुट, उपगुटलाई अन्त्य गरेमात्र कांग्रेस बलियो हुने बताए । पूर्वसहायकमन्त्री डा रामचन्द्र अधिकारीले कांग्रेसभित्र साझा नेतृत्व आवश्यक रहेको उल्लेख गरे । सम्पर्क समितिका अध्यक्ष प्रदीप अधिकारीले लमजुङमा कांग्रेसको सङ्गठन बलियो बनाउनका लागि एकजुट भएर लाग्नुपर्ने अवस्था आएको बताए ।
लोकतान्त्रिक मूल्यमान्यता बचाउन कांग्रेस भूमिका आवश्यक : नेता सिंह
नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले लोकतान्त्रिक मूल्यमान्यतालाई बचाउन कांग्रेसको भूमिका आवश्यक रहेको बताएका छन् । भगवती क्लबले गणेशमान सिंहको स्मृतिमा टोखामा निर्माण गरिएको पोखरीको शनिबार उद्घाटन तथा नयाँ वर्षको शुभकामना आदानप्रदान कार्यक्रममा उनले लोकतान्त्रिक मूल्यमान्यतालाई बचाउन कांग्रेसको भूमिका प्रभावकारी रहेको बताएका हुन् ।
“जनताले कांग्रेसलाई प्रतिपक्षमा बस्न निर्देश दिए पनि कम्युनिष्ट पार्टीले देश सञ्चालन गर्न नसकेका कारण कांग्रेस सरकार निर्माणमा अग्रसर देखिनुपरेको हो”, उनले भने । पूर्वउपप्रधानमन्त्री सिंहले सरकार सञ्चालनमा कांग्रेस एक्लैको बहुमत नपुग्ने भएकाले अरु दलसँग सहकार्यका लागि सरकार निर्माणमा ढिलाइ भएको बताए । वर्तमान प्रधानमन्त्रीमा नैतिकता नभएको उनको भनाइ थियो । नेता सिंहले वर्तमान सरकारले जनताले दिएको अधिकारको दुरुपयोग गरी जनताको जनमतको अपमान गरेको बताए ।
नयाँ विकल्प प्रस्तुत गर्ने प्रयत्नमा छौँ : वरिष्ठ नेता पौडेल
नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले देशमा नयाँ विकल्प प्रस्तुत गर्ने प्रयत्नमा कांग्रेस रहेको बताएका छन् । गृहजिल्ला तनहुँको दमौलीमा शनिबार पत्रकारसँग कुरा गर्दै वरिष्ठ नेता पौडेलले वर्तमान सरकारले जनभावनाअनुसार काम गर्न नसकेकाले कांग्रेसको नेतृत्वमा नयाँ सरकार गठनको पहल थालिएको बताए । शुक्रबार मात्रै नेपाली कांग्रेसको नेतृत्वमा तीन दलबीच भएको छलफल सकारात्मक दिशामा अगाडि बढेको वरिष्ठ नेता पौडेलले जानकारी दिए । जनता समाजवादी पार्टी (जसपा) को नेतृत्वमा सरकार बनाउन कांग्रेस तयार छ ? भन्ने प्रश्नमा वरिष्ठ नेता पौडेलले त्यस विषयमा आफूले अहिल्यै नबोल्ने बताए ।
नेकपा पार्टी एक हुँदा विगतमा केन्द्र र दुई वटा प्रदेश सरकारमा अविश्वास प्रस्ताव आउँदा कांग्रेसले उक्त मौका गुमाएको बताउँदै पौडेलले भने, “कांग्रेसले त्यो बेला ठूलो मौका गुमायो, अब आउने मौका पनि गुमाउने हो भने टाउकामा हात राखेर बस्नुको विकल्प हुँदैन ।” वरिष्ठ नेता पौडेलले प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेसकै केही नेताले चुनाव भनिरहेका सन्दर्भमा जनतालाई भोटकै लागि मात्र प्रयोग गर्न नहुने धारणा राखे । “जनताले भोट हालेपछि त्यसको परिणाम निस्कनुपर्छ, त्यसले उपलब्धि प्राप्त गर्नुपर्छ”, नेता पौडेलले भने, “केबल जनता भोट मात्रै हालिराख्ने मेसिन हुन् ?”

प्रतिक्रिया
सम्बन्धित समाचार