काठमाडौँ । रुसी राष्ट्रपति भ्लादमिर पुटिन २०३६ सम्म सत्तामा बस्ने सक्ने गरि कानुन बनेको छ ।
राष्ट्रपति पुटिनले संबैधानिक व्यवस्थामा परिवर्तन गर्न बनेको कानुनमा औपचारिक रुपमा हस्ताक्षर गरेपछि अब उनी २०३६ सालसम्म रुसको सत्तामा बस्न सक्ने भएका छन् । यो कानुनमा पुटिनले सोमबार हस्ताक्षर गरेका हुन् ।
नयाँ कानुन अनुसार अब उनी थप दुई कार्यकालका लागि राष्ट्रपति बन्न सक्ने छन् ।
यसपछि अब पुटिन रुसमा जोसेफ स्टालिनभन्दा पनि लामो समयसम्म सत्तामा रहने किर्तिमान बनाउने सम्भावना देखिएको छ । स्टालिनले करिब २५ बर्ष तत्कालिन सोभियत संघमा शासन गरेका थिए ।
यद्यपी पुटिनले भने आफ्नो अहिलेको कार्यकाल पुरा गरेपछि मात्रै यस बारेमा औपचारिक निर्णय लिने बताउदै आएका छन् ।
उनले गत बर्ष मात्र संबिधानमा रहेको व्यवस्था संशोधनका लागि जनमत संग्रह गराएका थिए । जसलाई रुसी जनताले व्यापक समर्थन गरेपछि संसदमा यस सम्बन्धि कानुन पारित भएको थियो ।
पुटिन पहिलो पटक सन २००० मा राष्ट्रपति बनेका थिए । उनी दुई कार्यकाल ४-४ बर्ष राष्ट्रपति बनेपछि २००८ मा उनका सहयोगी दिमित्री मेदेवदेव राष्ट्रपति बनेका थिए । तर २०१२ मा पुटिन फेरी एक पटक राष्ट्रपतिको रुपमा पुनरागमन गरे भने २०१८ को निर्वाचनमा फेरी जित हासिल गरेका थिए ।