आइतबार, साउन १० २०८३

आइतबार, साउन १० २०८३

एमाले विवाद नयाँ मोडमा : ओली कारवाहीमा केन्द्रित, नेपाल–खनाल समानान्तर कमिटी बिस्तारमा

शुक्रबार, चैत्र २० २०७७

काठमाडौं(जस)–नेपाल कम्युनिष्ट पार्टी(नेकपा) को विवादले नयाँ मोड लिएको छ । एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली आफु इतर समूहलाई धमाधम कारवाहीको डण्डा चलाइरहेकै समयमा वरिष्ठ नेता माधवकुमार नेपाल र झलनाथ खनालले समूहले देशभर पार्टीको समानान्तर कमिटी गठन गरेसँगै विवाद नयाँ मोडमा पुगेको छ । अध्यक्ष ओलीले नेताद्वय सुरेन्द्र पाण्डे र घनश्याम भुषाललाई पार्टीबाट निलम्बन गरेकै दिन बिहीबार एमालेको खनाल–नेपाल समूहले गण्डकी प्रदेशका नौ जिल्लामा समानान्तर जिल्ला कमिटी सचिवालय घोषणा गरेको छ । अध्यक्ष ओलीले दुवै नेताले दिएको स्पष्टीकरण चित्तबुझ्दो नभएको भन्दै ६ महिनाको लागि निलम्बन गरेका हुन् । एमालेले चैत ९ गते चार नेतामाथि स्पष्टीकरण सोधेकोमा नेता भुसाल र पाण्डेले समयमा जवाफ नदिएपछि चैत्र १६ गते दोस्रोपटक स्पष्टीकरण सोधिएको थियो ।
एमालेले चैत ९ गते चार नेतामाथि स्पष्टीकरण सोधेकोमा नेता भुसाल र पाण्डेले समयमा जवाफ नदिएपछि चैत्र १६ गते दोस्रोपटक स्पष्टीकरण सोधिएको थियो । दुवैले त्यसको जवाफ चैत्र १७ गते दिएका थिए । अध्यक्ष ओलीले स्पष्टीकरण चित्तबुझ्दो नभएको भन्दै विहिबार कारवाही गरेका छन् । अध्यक्ष ओलीले दुवै नेतालाई अहिलेकै गतिविधि जारी राखेमा थप कडा कारवाही हुन सक्ने चेतवानी दिदै सच्चिनका लागि यो अन्तिम मौका भएको पत्रमा उल्लेख गरेका छन् ।
पत्रमा भनिएको छ– ‘तपाईलाई सच्चिनको लागि यो अन्तिम मौका हो । आफ्ना विचार र क्रियाकलापहरु सच्याई पार्टीका पक्षमा आएमा पार्टीले निलम्बन अवधिको बिचैमा पनि निलम्बनको अवधि घटाउने निर्णय गर्ने सकिने र यस सच्चिन दिइएको मौकालाई पार्टीको कमजोरी ठानी पार्टी विरोधी गतिविधिहरु कायमै राखेमा निलम्बनको अवधि बीचमै थप कारवाही गर्ने सकिने व्यहोरा समेत जानकारी गराइन्छ ।’ एमाले अध्यक्ष ओलीले स्पष्टिकरण लिएका अन्य दुई नेता माधवकुमार नेपाल र भीम रावललाई यस अघि नै ६ महिनाका लागि निलम्बन गरिसकेका छन् ।
बिहीबार खनाल–नेपाल समूहले गण्डकी प्रदेशका नौ जिल्लामा समानान्तर जिल्ला कमिटी सचिवालय घोषणा गरेको छ । बिहीबार बरिष्ठ नेता माधवकुमार नेपालको उपस्थितिमा पोखरामा भएको कार्यक्रममा संयोजक सुरेन्द्र पाण्डेले सातवटा जिल्लामा जिल्ला अध्यक्ष र सचिव चयन गर्दै जिल्ला सचिवालय घोषणा गरेका हुन् । २ जिल्ला लमजुङ र नवलपुरका अध्यक्ष र सचिव भने गोप्य राखिएको छ । त्यस्तै मनाङ र मुस्ताङमा कमिटी गठन बाँकी रहेको छ ।
पोखरामा भएको कार्यक्रममा नेता पाण्डेले कास्कीमा धनराज अचार्य अध्यक्ष र सचिवमा होमबहादुर नेपाली,स्याङ्जाको अध्यक्ष रामचन्द्र भट्टराई र सचिव भुपराज अधिकारी, म्याग्दी अध्यक्ष बालकृष्ण सुवेदी, बागलुङमा इन्द्रलाल सापकोटा अध्यक्ष र लालबहादुर थापा सचिव, पर्वतमा भक्त कुँवर अध्यक्ष र पदमपाणी शर्मा सचिव रहेको घोषणा गरेका हुन् । त्यसैगरी तनहुँमा शंकनारायण श्रेष्ठ अध्यक्ष र श्रीराम कार्की सचिव तथा गोरखामा यादव बस्नेत अध्यक्ष र सानुमैया बस्नेतलाई सचिव घोषणा गरेका हुन् । नेता नेपाललेसमानान्तर कमिटी घोषणा गर्दै जिल्लापछि केन्द्रमा पनि समानान्तर कमिटी गठन गर्ने बताए । उनले जिल्लामा सबै संगठित हुन निर्देशन दिदै ओलीले गरेको कारवाहीबाट आफु नभाग्ने बताएका हुन् । हालै सम्पन्न आफु पक्षको भेलाले आफुलाई अगाडी बढ्न निर्देशन दिएको दाबी गर्दै नेता नेपालले स्थानीय तहदेखि केन्द्रसम्म कमिटी घोषणा गर्ने बताएका छन् ।
ओलीले गुटलाई गिरोहमा बदले : भुसाल
नेकपा एमालेका नेता घनश्याम भुसालले अध्यक्ष केपी शर्मा ओलीले ६ महिनाका लागि निलम्बन गरेपछि पहिलो प्रतिक्रिया दिएका छन् । नेता भुसालले ओलीलाई असीमित सत्ताभोगको अतृप्त तृष्णाले ‘म’र ‘मेरो’ बाहेक केहि नदेख्ने बनाएको आरोप लगाएका छन् । सामाजिक सञ्जालमा टिप्पणी गर्दै नेता भुसालले ओलीले पार्टीलाई गुटमा बदलेको आरोप लगाउदै अहिले सो गुट गिरोहमा परिणत भएको बताएका छन् । उनले ‘म बस्न नपाउने कुर्ची भाँची दिन्छु’ भन्ने ओलीले कबुल गरेको जीवन दर्शन भएको टिप्पणी गरेका छन् । नेता भुसालले आफ्नो पार्टीको अध्यक्ष भएर ओलीले गरेका बर्बादीका लागि माफी माग्छु भन्दै ओलीको व्यक्तिवादी, अवसरवादी, दक्षिणपन्थी तथा विसर्जनवादी ताण्डवलाई पराजित गरेर हामीले लोकतन्त्र र वामपन्थको ऋण तिर्ने बताएका छन् ।
उनले भनेका छन–असीमित सत्ताभोगको अतृप्त तृष्णाले कमरेड ओलीलाई ‘म’ र ‘मेरो’ बाहेक केहि नदेख्ने बनाएको छ । ‘म बस्न नपाउने कुर्ची भाँची दिन्छु’, यो उनी आफैले कबुल गरेको जीवन दर्शन हो । एउटा धरै राम्रो पार्टीलाई उनले गुटमा बदलेका थिए, अहिले त्यो गुट राज्य दोहनमा लागेको गिरोहमा परिणत भएको छ । उनको व्यक्तिवादी, अवसरवादी, दक्षिणपन्थी तथा विसर्जनवादी ताण्डवलाई पराजित गरेर हामीले लोकतन्त्र र वामपन्थको ऋण तिर्नेछौँ । मेरो पार्टीको अध्यक्ष भएर उनले गरेका बर्बादिका लागि मैले दुनियाँसँग माफी माग्छु ।’
ओली कम्युनिस्ट आन्दोलन नै समाप्त पार्ने दिशामा : नेता पाण्डे
नेकपा (एमाले)का नेता सुरेन्द्र पाण्डेले पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली नेपालको कम्युनिस्ट आन्दोलन नै समाप्त पार्ने दिशामा अघि बढेको टिप्पणी गरेका छन् । बिहीबार एमाले नेता पाण्डे र घनश्याम भुसाललाई ओलीले पार्टी सदस्यबाट ६ महिनाका लागि निलम्बन गरेपछि सामाजिक सञ्जालमार्फत् प्रतिक्रिया जनाउँदै पाण्डेले यसलाई पूर्वनियोजित र अपेक्षित नै रहेको बताएका छन् । उनले ओली लामो समयदेखि गुटपरस्त रहेको दाबी समेत गरेका छन् । गुटबन्दी गर्दागर्दै ओलीले नवौं महाधिवेशनबाट पार्टी कब्जा गरेको पाण्डेको आरोप छ ।
‘गुटद्वारा कब्जा गर्दै पार्टीका मानिस निकाल्ने, गुटद्वारा शासन गर्ने सिलसिलाकै जारी रूप हो । यसले आन्दोलनलाई नोक्सानी गर्छ नै । एमाले र मुलुकको कम्युनिस्ट आन्दोलन नै समाप्त गर्ने दिशातिर लाग्नु भएको छ’, पाण्डेले लेखेका छन् । उनले आफूहरूले कम्युनिस्ट आन्दोलनको झण्डालाई झुक्न नदिने उल्लेख गरेका छन् । ‘यसलाई अघि बढाउने कुरामा कुनै कसर बाँकी राख्दैनौं। घोषणा पत्रमार्फत् गरिएको वाचाहरू, समृद्ध नेपाल निर्माण गर्ने अभिभाराहरू हामी पुरा गर्नेछौं’, पाण्डेले लेखेका छन्, ‘थप सशक्त, अझ जुझारू र गम्भीर भएर अघि बढ्छौ ं।’
कारवाही भद्धा मजाक : योगेश भट्टराई
नेकपा एमालेका नेता योगेश भट्टराईले घनश्याम भुसाल र सुरेन्द्र पाण्डेमाथिको कारवाहीलाई भद्धा मजाकको संज्ञा दिएका छन् । अध्यक्ष केपी शर्मा ओलीले भुसाल र पाण्डेलाई ६ महिनाका लागि निलम्बन गर्दै कारवाही गरेपछि सामाजिक सञ्जालमा टिप्पणी गर्दै नेता भट्टराईले यस्तो बताएका हुन् । उनले ऋृषिमुनी र वुद्धको ज्ञान भूमी अनि माक्र्सवादको उर्वर भूमी नेपालमा आजकाल विद्वान, ईमान्दार र नैतिकवनहरुमाथि कार्वाही हुन्छ भन्दै मुर्ख, भ्रस्ट र अनैतिकहरु पुरस्कृत हुने गरेको बताएका छन् । उनले भनेका छन्– ऋृषिमुनी र वुद्धको ज्ञान भूमी अनि मार्क्सवादको उर्वर भूमी नेपालमा आजकाल ः विद्वान, ईमान्दार र नैतिकवनहरुमाथि कार्वाही हुन्छ । मुर्ख, भ्रस्ट र अनैतिकहरु पुरस्क्रित हुन्छन । कमरेड धनश्याम र सुरेन्द्रजी माथि त्यस्तै भद्धा मजाक गरिएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार