आइतबार, साउन १० २०८३

आइतबार, साउन १० २०८३

मन्त्रिपरिषदको निर्णय : गृहमन्त्री थापाको संयोजकत्वमा थरुहट आन्दोलनकारीसँग वार्ता गर्न समिति गठन

सोमबार, चैत्र १६ २०७७

काठमाडौं । सरकारले थरुहट–थारुवान संघर्ष समितिसँग वार्ता गर्न गृहमन्त्री रामबहादुर थापा ‘बादल’ को संयोजकत्वमा वार्ता समिति गठन गरेको छ ।

मन्त्रिपरिषदको बैठकले गृहमन्त्री थापाको संयोजकत्वमा प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार राजन भट्टराई र पूर्व सभाषद भगवती चौधरी सदस्य रहेको वार्ता समिति गठन गरेको हो ।
जनता समाजवादी पार्टीले आफ्ना माग पूरा भए सरकारलाई समर्थन दिने स्पस्ट पारेपछि सरकारले पनि थारु कल्याणकारी सभासँग वार्ता गर्न टोली गठन गरेको हो ।

सोमबार मन्त्रिपरिषदका निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले थरुहट–थारुवान आन्दोलनका मागका सम्बन्धमा थारु कल्याणकारी सभासँग वार्ता गर्न उच्चस्तरीय समिति गठन गरिएको जानकारी दिए ।

थरुहट–थारुवान संघर्ष समितिले निलम्बित सांसद रेशम चौधरीको रिहाई, कैलालीको टीकापुर घटनामा मुद्दा लागेका आफ्ना नेता कार्यकर्ताको मुद्दा फिर्तालगायतका माग राखेर आन्दोलन गरिरहेको छ । केही दिनअघि गृहमन्त्री रामबहादुर थापा माइतीघर मण्डलास्थित थरुहट–थारुवान संघर्ष समितिको धर्नास्थलमा उपस्थित भएर माग सम्बोधन गर्न तत्काल वार्ता समिति बनाउने प्रतिवद्धता जनाएका थिए ।

प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकारमा सहभागी हुन जनता समाजवादी दल (जसपा) ले पनि आफ्ना सांसद रेशम चौधरीको रिहाईलाई सर्त बनाएको छ । टीकापुर घटनामा दोषी ठहर निलम्बित सांसद चौधरी हाल डिल्लीबजार कारागारमा छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार