आइतबार, साउन १० २०८३

आइतबार, साउन १० २०८३

ओलीलाई प्रचण्डको मतियार भएको नेपालको आरोप (स्पष्टीकरणको पूर्णपाठ)

एमालेमा नेपालसहित चारै जनाले दिए स्पष्टीकरणको जवाफ

बिहिबार, चैत्र १२ २०७७

काठमाडौं(जस)– नेपाल कम्युनिस्ट पार्टी (एमाले)का वरिष्ठ नेता माधवकुमार नेपालसहित चार नेताले पार्टीले सोधेको स्पष्टीकरणको जवाफ दिएका छन् । एमाले नेता नेपालसहित भीमबहादुर रावल, सुरेन्द्र पाण्डे र घनश्याम भुसालले पार्टीद्वारा सोधिएको स्पष्टीकरणको जवाफ आज दिएको पार्टी मुख्यालयका कार्यालय सचिव ईश्वरी रिजालले जानकारी दिए । यही चैत ७ गते बसेको पार्टीको केन्द्रीय कमिटी बैठकले पार्टीविपरीतका गतिविधि गरेको भन्दै उनीहरूलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो ।
नेकपा (एमाले) का वरिष्ठ नेता माधवकुमार नेपालले पार्टी अध्यक्ष केपी शर्मा ओलीसमक्ष १३ बुँदे लिखित स्पष्टीकरण दिंदैं ओलीसँग पनि जवाफ मागेका छन् । स्पष्टीकरणमा नेपालले पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीलाई नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको मतियार भएको संज्ञा दिएका छन् । आफूमाथि अध्यक्ष ओलीले तेस्र्याएका १० बुँदे प्रश्नको १३ बुँदामा प्रतिवाद गरेका हुन् । अध्यक्ष ओलीका तर्फबाट मागिएको १० बुँदे प्रश्नको जवाफसँगै नेपालले ओलीमाथि १३ बुँदे प्रतिप्रश्न बिहीबार पार्टी कार्यालय धुम्बाराहीमा पठाएका हुन् । उक्त स्पष्टीकरणपत्रको ८ औं बुँदामा नेता नेपालले ओलीलाई नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को मतियारको संज्ञा दिएका हुन् ।
ओलीले आफूलाई प्रचण्डको मतियार भनेको विषयलाई लिएर उनले पार्टी एकताको पूर्वसन्ध्यादेखि प्रतिनिधि सभाको विघटनसम्मको अवधिमा ओलीले प्रचण्डसँग गरेका सम्झौता, निरन्तर गर्ने गरेको गोप्य बैठक र सहकार्यको आधारमा ओली नै प्रचण्डको सबभन्दा ठूलो ‘मतियार’ भएको भन्न सकिन्न र ? भन्ने प्रश्न गर्दै यस्तो दृष्टिकोण आफूमा भने नरहेको स्पष्ट पारेका छन् । नेता नेपालले पार्टीले स्पष्टीकरणमा सोधेका प्रश्नको जवाफ भन्दा बढी उल्टै अध्यक्ष ओलीलाई प्रतिप्रश्न गरेका छन् । नेपालले ओलीमाथि विभिन्न आरोप लगाउँदै स्पष्ट पार्न माग समेत गरेका छन् । उनले आफूले नभई पार्टी अध्यक्ष ओलीले विधान उल्लंघन गरेको जिकिर गरेका छन् । केन्द्रीय समिति बैठक विधिवत बोलाएर किन छलफल नगरेको भन्ने ओलीलाई पत्रमा नेपालको प्रश्न छ ।
‘पार्टीलाई एकताबद्ध रुपमा अगाडि बढाउन गरिएको आग्रहलाई किन अस्वीकार गर्नुभयो ?’ नेपालको प्रश्न छ । सर्वोच्च अदालतको आदेशको अवज्ञा गरेको आरोप लगाउँदै नेपालले कम्युनिष्ट आन्दोलनलाई विभाजित बनाई राख्ने ओलीले गलत मनासाय बोकेको बताएका छन् । ‘नेकपा एमाले पुनःस्थापित भएपछि म समेत नेकपा एमाले र देश तथा जनताको उज्यालो भविष्य चाहने नेता र कार्यकर्ताहरुबाट तपाईं समेतका नेताहरुसँग विगतको तथ्यसंगत समीक्षा गर्दै कमी कमजोरी सच्च्याउँदै पार्टीलाई एकताबद्ध रुपमा अगाडि बढाउन गरिएको आग्रहलाई किन अस्वीकार गर्नुभयो ?’
प्रतिप्रश्न गर्दै भनिएको छ, ‘त्यस्तै यही चैत्र २ गते नेकपा एमाले, केन्द्रीय कार्यालय, धुम्बाराहीमा तपाईं समेत तपाईं निकटका नेताहरुसंग भएको म समेत सहभागी छलफलमा पार्टी एकता र मेलमिलाप कायम गर्दै विगतका कमी कमजोरी हटाएर सशक्त नेकपा एमाले निर्माण गर्न सर्वोच्च अदालतको फैसलालाई स्वीकार गर्दै पार्टी तथा जनसंगठनहरुको संरचना पार्टी एकीकरण पूर्वको स्थितिमा रहेको स्वीकार गरौं र तपाईबाट फागुन २८ गते अवैधानिक रुपमा गरिएको निर्णय बदर गरौं भन्दा तपाईंले किन मान्नु भएन रु यसको तात्पर्य तपाईमा पार्टी विभाजनको दुराशय रहेको देखियो किन नभन्ने ?’
१५ पेज लामो १३ बुँदे पत्रमा पार्टीलाई एकताबद्ध रूपमा राख्न ओलीले बेवास्ता गरेको नेपालको आरोप छ । नेपालले ओलीलाई कारवाही हुनुपर्ने पनि माग गरेका छन् । नेपालले ओलीमाथि पार्टी निर्णय अनेक पटक उल्लंघन गरेको, राष्ट्रिय हित, अस्मिता र स्वाभिमानमा आघात पु¥याएको, जनताको, विशेषतः श्रमजीवी जनताका हितमा कुठाराघात गरेको, गुटबन्दी गर्दै पार्टीविरुद्ध षड्यन्त्र गरेको, पार्टीको सिद्धान्त, नीति र कार्यक्रमप्रति विश्वास र निष्ठा कायम नराखेको आरोप लगाएका छन् ।
त्यस्तै पार्टीको मात्र होइन देशको संविधान र देशकै प्रतिष्ठा र मर्यादामा आँच पु¥याएको, सिद्धान्त, नीति र अनुशासनबाट च्युत भएको, पार्टी र देशको गोपनियता भंग गरेको विधान उल्लंघन गरेको समेत आरोप लगाएका छन् । पार्टी नीति र स्थापित राजनीतिक मूल्य–मान्यताविपरीत मन्त्रिपरिषद्को पुनर्गठन गर्ने, विभिन्न राजनीतिक नियुक्ति गर्ने, यसरी नियुक्ति पार्टीका नेतामाथि सार्वजनिक रुपमा गाली बेइज्जती गर्ने व्यक्तिहरुलाई प्रश्रय दिने ओलीलाई नै कारवाही हुनुपर्ने नेपालको भनाइ छ । चैत ९ गते केन्द्रीय कार्यसमितिको निर्णय अनुसार महासचिव ईश्वर पोखरेलले सोधेको स्पष्टीकरणको जवाफ नेता नेपालले बिहीबार पठाएका हुन् ।
महासचिव पोखरेलले पत्र लेख्दै उनीहरूले पार्टी हितविपरीत गतिविधि गरेको भन्दै एमालेको विधानको दफा ४९ को १, २, ३, ४, ५, ६, ७, ९ र १४ अनुसार कारवाही किन नगर्ने भन्दै स्पष्टीकरण सोधेका थिए । स्पष्टीकरणको जवाफमा उनीहरूले आफूहरू पार्टी विरोधी गतिविधि नगरेको र नवौँ राष्ट्रिय महाधिवेशनको निर्णय र निर्देशन तथा पार्टी विधान र पद्धतिमा रहेको जवाफ पठाएका छन् ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा)लाई सर्वोच्च अदालतले मान्यता नदिएपछि र एमाले र नेकपा (माओवादी केन्द्र) लाई पहिल्यैकै अवस्थामा ब्युताएपछि एमालेमा अध्यक्ष केपी शर्मा ओली र अर्का नेता नेपालबीच तिक्तता पैदा भएको छ ।
नेता नेपालले प्रधानमन्त्री तथा पार्टी अध्यक्ष ओलीले संसद् विघटन गर्ने निर्णयविरुद्ध उभिएका थिए । एमाले ब्युँतिएपछि गत फागुन २८ गते बसेको एमालेको केन्द्रीय कमिटी बैठकमा माओवादी केन्द्रका नेता रामबहादुर थापा, टोपबहादुर रायमाझी, प्रभु साह, मणि थापालगायत २३ जनालाई केन्द्रीय सदस्यमा आफ्नो सहभागिताविना मनोनीत गरेको भन्दै नेपाल समूह असन्तुष्ट हुँदै आएको छ । नेता नेपाल समूहले पार्टीमा सामानान्तर गतिविधि सञ्चालन गर्दै आएका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार