शनिबार, साउन ९ २०८३

शनिबार, साउन ९ २०८३

विदेशी मुद्राको प्रिपेड कार्ड जारी गर्न राष्ट्र बैंकको अनुमति, सामाजिक सञ्जालको विज्ञापन भुक्तानी गर्न सहज

सोमबार, चैत्र ९ २०७७

काठमाडौं । नेपाल राष्ट्र बैंकले नेपालका बैंक तथा वित्तीय संस्थाले विदेशी मुद्रामा प्रिपेड कार्ड जारी गर्न सक्ने व्यवस्था गरेको छ । राष्ट्र बैंक विदेशी मुद्रा व्यवस्थापन विभागले अनलाइनमार्फत विदेशी वस्तु तथा सेवाको खरिदबापतको भुक्तानी गर्ने प्रयोजनाको लागि वाणिज्य बैंकहरु र राष्ट्रियस्तरका विकास बैंकहरुले परिवर्त्य विदेशी मुद्रामा प्रिपेड कार्ड जारी गर्न सक्ने व्यवस्था गरेको हो ।

वाणिज्य बैंक र राष्ट्रियस्तरका विकास बैंकहरुले परिवर्त्य विदेशी मुद्रामा ५०० डलरसम्मको प्रिपेड कार्ड जारी गर्न सक्ने व्यवस्था गरिएको राष्ट्र बैंकले जानकारी दिएको छ । परिवर्त्य विदेशी मुद्रामा प्रिपेड कार्ड लिन चाहने व्यक्ति, फर्म, कम्पनी वा संस्थाको बैंक खातामा रहेको नेपाली रुपैयाँलाई सटही गर्न प्रिपेड कार्ड जारी गर्न सक्ने व्यवस्था राष्ट्र बैंकले गरेको हो ।

प्रयोगकर्ताले एक वर्षमा एकैपटक वा पटक–पटक गरी ५०० डलर वा सो बराबरको परिवर्त्य विदेशी मुद्रामा उक्त सटही सुविधा पाउनेछन् । नेपालको प्रचलित कानुनले प्रतिबन्ध नलगाएको वस्तु तथा सेवा कार्ड प्रयोगकर्ताले विदेशबाट अनलाइन खरिद गर्न सक्नेछन् । कार्ड प्रयोगकर्ताले विदेशमा सेवा निर्यात गरेबापत आर्जन गरेको विदेशी मुद्रा पनि कार्डमा नै जम्मा हुनुपर्ने हुन्छ ।

राष्ट्र बैंको उक्त व्यवस्थाले सामाजिक सञ्जालमा गरिने विज्ञापनको भुक्तानी पनि अब वैधानिक च्यानलबाट नै गर्न सकिने भएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार