काठमाडौं(जस)–नेकपा (एमाले) मा पछिल्लो समय चर्किदो विवादका बीच वरिष्ठ नेता झलनाथ खनाल–माधव नेपाल समूहले आज र भोलि (चैत ४ र ५ गते) राजधानीमा राष्ट्रिय कार्यकर्ता भेला हुँदैछ । राजधानीमा आयोजित पत्रकार सम्मेलनमा बदलिँदो परिस्थितिमा छलफल गर्न, एकीकृत धारणा बनाउन र देशव्यापीरुपमा पार्टी पङ्क्तिलाई त्यस आधारमा अघि बढाउनका लागि राष्ट्रिय कार्यकर्ता भेला गर्न लागेको जानकारी दिइएको हो । भेलाकोे सम्पूर्ण तयारी पूरा भएको जनाइएको छ ।
उक्त समूहका प्रचार विभाग प्रमुख योगेश भट्टराईले पार्टी कठिन अवस्थाबाट गुज्रिरहेको घडीमा धैर्य र संयमताका साथ पार्टीको सुदृढ एकता र विधानसम्मत सञ्चालनका लागि आ–आफ्नो ठाउँबाट योगदान गर्न पार्टीका सबै नेता, कार्यकर्ता, समर्थक र शुभेच्छुकमा आग्रह गरे । राष्ट्रिय कार्यकर्ता भेलामा पार्टीलाई सुदृढ, एकताबद्ध, क्रियाशील र विधान सम्मतरुपमा अघि बढाउने सम्बन्धमा व्यापक छलफल गर्न गइरहेका उनले जानकारी दिए ।
नेता भट्टराईले जारी गरेको प्रेस विज्ञप्तिमा भेलामा केन्द्रीय कमिटीका तर्फबाट एक अवधारणात्र प्रस्तुत गरिने, टोली विभाजन गरी सबै सहभागीले आफ्ना मत राख्न पाउने गरी छलफल र पारित गरिने उल्लेख छ । भेलामा पार्टी केन्द्रीय कमिटी, केन्द्रीय निकाय र केन्द्रीय विभागका सदस्य, प्रदेश कमिटीका सदस्य, केन्द्रीय कमिटीका पूर्वसदस्य, सङ्घ तथा प्रदेशका सांसदलगायत दुई हजारभन्दा बढी अगुवा कार्यकर्ताको उपस्थिति रहनेछ ।
पार्टी एकता विरोधी, विधान प्रतिकूल र एकलौटी कदमले सिर्जना गरेका पार्टी एकताका चुनौतीलाई एकताबद्धरुपमा प्रतिवाद गर्दै असफल पार्न आम पार्टी पंत्तिलाई आह्वान समेत गरिएको छ । विज्ञप्तिमा जनताको बहुदलीय जनवादको मूल्य र मान्यताको रक्षा गर्दै पार्टीलाई एकाधिकारवाद, गुटवाद र विभाजनबाट बचाउँदै लोकप्रिय, क्रान्तिकारी र लोकतान्त्रिक शक्तिका रुपमा विकास गर्नका लागि सबै नेता, कार्यकर्ता र आम जनमुदायको एकताबद्ध प्रयास यसबेला थप खड्किएको उल्लेख छ ।
सर्वोच्च अदालतको आदेशबाट नेकपा (एमाले) पुनःस्थापना हुनुको अर्थ कुनै व्यक्ति विशेषको मात्र पुनःस्थापना नभई सिङ्गो पार्टीको पुनःस्थापना भएकाले त्यसअनुसार पार्टी पंक्तिलाई परिचालन गरेर मात्र पाटी बलियो हुने उक्त समूहको ठहर छ । एमाले पूर्ववत अवस्थामा फर्किनु भनेको नवौं राष्ट्रिय महाधिवेशनबाट पारित दस्तावेज, विधान र त्यस विधानका आधारमा टोलदेखि केन्द्रसम्म निर्माण भएका कमिटीको स्वतः पुनःस्थापना भएको र सर्वोच्च अदालतको फैसलालाई कार्यान्वयन गर्न अस्वीकार गर्ने र पार्टीलाई विभाजनतर्फ लैजाने प्रयास भइरहेका समेत विज्ञप्तिमा छ ।
ओलीलाई नेपाल समूहले दियो प्रमुख अतिथिको निम्तो
राष्ट्रिय भेलामा नेकपा अध्यक्ष एवम् प्रधानमन्त्रीलाई प्रमुख अतिथिको निम्तो दिएको छ । पत्रकार सम्मेलनमा नेता योगेश भट्टराईले प्रधानमन्त्री ओलीलाई भेलामा प्रमुख अतिथि भएर सहभागी हुन आग्रह गरेका हुन् । बालुवाटारमा आज (मंगलबार) नेकपा एमालेले आयोजना गरेको चियापान कार्यक्रममा प्रधानमन्त्री ओलीले भोलिको माधव नेपाल समूहको भेलामा नजर रहने बताएका थिए । ओलीको सोही भनाइको जवाफ दिँदै नेता भट्टराईले भोलिको भेलामा आउने नेता कार्यकर्ताहरु एमालेकै भएका कारण भेलामा सहभागी हुन आग्रह गरेका हुन् । ओलीले माधव नेपाल समूहको भोलिको भेलामा कोही गए कारबाही गर्ने चेतावनी समेत दिएका थिए । उनले आजको चियापानमा अनुपस्थित नेपाल–खनाल समूहका एमाले नेताहरुमाथि कारवाहीको संकेत समेत गरेका थिए ।
एकता अभियान थप सशक्त बनाउने बामदेवको उद्घोष
नेपाल कम्युनिष्ट पार्टी एकता राष्ट्रिय अभियानका संयोजक बामदेव गौतमले कम्युनिष्ट आन्दोलन विभाजित भएर छिन्नभिन्न हुन गइरहेको अवस्थामा एकता अभियानलाई थप सशक्त र प्रभावकारीरुपमा अगाडि बढाइने बताएका छन् । अभियानको कार्यसम्पादन समितिको दोस्रो बैठकको मंगलबार शुुभारम्भ गर्दै संयोजक गौतमले भर्खरै पुनःस्थापित नेकपा (एमाले) मा खुशी साथ एकताबद्ध हुने अवस्था नरहेकाले एकता अभियान अरू बढी सक्रिय हुनुपर्नेमा जोड दिए ।
सर्वोच्च अदालतको निर्णयका आधारमा अहिले नेपाल कम्युनिष्ट पार्टी (एमाले) र नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) विसं २०७५ जेठ ३ गते पूर्वको अवस्थामा पुनःस्थापित भएका छन् । प्रतिनिधिसभाको विघटनपछि विभाजन उन्मुख भएका दुवै समूहमा नलागी पार्टीमा पुनः एकता गराउने उद्देश्य राखेर एकता राष्ट्रिय अभियान निर्माण गरिएको उनको भनाइ थियो ।
संयोजक गौतमले प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान विपरित प्रतिनिधिसभा विघटन गरेको तथा तथा तत्कालिन नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्रीलाई हटाउन अविश्वास प्रस्ताव ल्याउन हतार गरेका कारण पार्टी एकतामा समस्या उत्पन्न भई मुुलुकमा अस्थिरता शुरु भएकोमा चिन्ता व्यक्त गरे ।
उनले भने, “पार्टीका अध्यक्ष रहेका प्रधानमन्त्रीक विरुद्ध पार्टी विधानलाई बेवास्ता गर्दै अविश्वास प्रस्ताव राख्ने काम पनि गलत र हानिकारक थियो । अब त्यसलाई मित्रतापूर्णरुपमा आपसी समझदारी विकास गरेर पार्टीभित्र छलफल गरी समाधान गर्नुपर्छ । सकारात्मक प्रयत्न गर्ने हो भने समाधान गर्न सकिने अवस्था पनि विकसित हुनसक्छ । यस सम्बन्धमा अविश्वास प्रस्ताव प्रस्तुत गर्न सहमत पक्षलाई पार्टीसमक्ष आत्मालोचना गर्न एकता राष्ट्रिय अभियान अनुरोध गर्दछ ।” सो बैठकमा अभियानका गतिविधि, पार्टी एकता, वामपन्थी सरकार पुनर्निर्माण लगायतका विषयबारे छलफल गरिने जनाइएको छ ।
‘भेलामा सहभागी भए कारवाही’
नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले मंगलबार साँझ एक विज्ञप्ति जारी गर्दै पार्टीका तर्फबाट चैत्र ४ र ५ गते कुनै भेला आयोजना नभएको बताएका छन् । महासचिव पोखरेलले एमालेको नाममा भेला आयोजना गर्ने भनि प्रचारित सूचनाप्रति आफुहरुको गम्भीर ध्यानाकर्षण भएको भन्दै अनाधिकृत गुटगत भेला नगर्न, भेला आयोजनाको भ्रम नफैलाउन र त्यस्तो भेलामा सहभागी नहुन एमालेका सबै नेता तथा कार्यकर्ताहरुलाई विशेष निर्देशन दिएका छन् । साथै भेलामा सहभागी भएमा संबिधान, पार्टी र संसदीय दलको विधान अनुसार कारवाही हुने विज्ञप्तिमा उल्लेख गरिएको छ ।