काठमाडौं(जस)–राष्ट्रपति विद्यादेवी भण्डारीले आयोजना गरेको सर्वदलीय बैठकमा निर्वाचनमै जान प्रधानमन्त्रीले प्रस्ताव गरेका छन् । राष्ट्रपति निवास शीतल निवासमा बसेको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले यो संसद्ले निकास नदिए प्रतिनिधिसभा विघटन गरेर चुनावमा जानुपर्ने बताएका हुन् । बैठकमा सहभागी एक नेताका अनुसार प्रधानमन्त्री ओलीले पुष ५ गतेको प्रतिनिधि सभा विघटन सहि भएको भन्दै संसदले निकास नदिएका कारण विघटन गरिएको बताएका थिए । उनले फेरी पनि त्यस्तो अवस्था आएमा विघटन गर्नुपर्ने बताएका थिए ।
साथै बैठकमा प्रधानमन्त्री ओलीले संसदले निकास दिन नसक्ने भन्दै निर्वाचनमा गएर समस्याको समाधान खोज्न आग्रह गरेका थिए । बैठकमा नेताहरुले राष्ट्रपतिको भूमिकाका विषयमा प्रश्न उठाएको बताइएको छ । आफ्नो बारेमा प्रश्न उठेपछि राष्ट्रपति भण्डारीले आफुले संबिधानको अक्षरस पालना गरेको जवाफ फर्काएको सहभागी एक नेताले बताएका छन् । बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली, उपप्रधानमन्त्री ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापा बादल, अर्थमन्त्री विष्णु पौडेल सहभागी भएका थिए । त्यसैगरी प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसबाट सभापति शेरबहादुर देउवा, महामन्त्री शशांक कोइराला, वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति विमलेन्द्र निधि सहभागी थिए ।
त्यस्तै नेकपा माओवादी केन्द्रबाट अध्यक्ष पुष्पकमल दाहाल, नारायणकाजी श्रेष्ठ र देवप्रसाद गुरुङ सहभागी थिए । त्यस्तै जनता समाजवादी पार्टी (जसपा) बाट अध्यक्ष महन्थ ठाकुर र राजेन्द्र महतो सहभागी बह्येका छन् । त्यस्तै नेमकिपाबाट प्रेम सुवाल र राप्रपाबाट डा. प्रकाशचन्द्र लोहनी सहभागी भए भने अन्तरिम मन्त्रिपरिषदका पूर्व अध्यक्ष खिलराज रेग्मी पनि बैठकमा सहभागी भएका थिए । त्यस्तै पूर्वप्रधानमन्त्री एवं एमालेका नेताहरु माधवकुमार नेपाल र झलनाथ खनाल भएन बैठकमा अनुपस्थित रहे । उनीहरुले यस अघि नै आफुहरु सहभागी नहुने बताएका थिए ।
दलहरूबीच सहकार्य हुनुपर्नेमा राष्ट्रपतिको जोड
राष्ट्रपति विद्यादेवी भण्डारीले मुलुकको राजनीतिक सौन्दर्य आपसी संवाद र एकता रहिआएको परिवेशमा संविधानको प्रभावकारी कार्यान्वयन र लोकतन्त्रको सुदृढीकरणका लागि राजनीतिक दलहरूबीच सहकार्य हुनुपर्नेमा जोड दिएकी छन् । राष्ट्रपतिले भनिन, ‘हाम्रो समाज शालीन, सभ्य र सहिष्णु रहिआएको छ । यहाँको नेतृत्वले सधैँ उच्च राजनीतिक संस्कार कायम गर्दै आएको छ । यो असल संस्कार निरन्तर कायम रहनुपर्दछ ।’ राष्ट्रपति कार्यालय शीतलनिवासमा आज साँझ आयोजित राजनीतिक दलका शीर्ष नेता तथा पूर्वप्रधानमन्त्रीहरूसँग भेटघाटमा उहाँले नेपालको अतिक्रमित भू–भाग सामेल गरी गत जेठमा नयाँ राजनीतिक नक्सा प्रकाशन गर्न दलहरूले प्रदर्शन गरेको अभूतपूर्व राष्ट्रिय एकताका सन्दर्भमा यसैगरी सर्वपक्षीय भेटघाटको आयोजना गरेको स्मरण गर्दै सबै दलका नेताप्रति धन्यवाद प्रकट गरिन ।
राष्ट्रपतिले कोभिड–१९ को महामारीका कारण मुलुकको अर्थतन्त्र, शिक्षा, स्वास्थ्य, पर्यटनलगायत क्षेत्रमा परेको प्रतिकूल प्रभावका विषयमा चर्चा गर्नुका साथै यसको सामना गर्न अग्रमोर्चामा खट्ने स्वास्थ्यकर्मी, सुरक्षाकर्मी तथा राष्ट्रसेवकको योगदानको स्मरण गरे । उनले सो कार्यमा सबै राजनीतिक दलका नेता तथा कार्यकर्ताले नेपाल सरकारको अभियानमा पु¥याएको योगदानका लागि धन्यवाद दिएको राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । शिक्षा, स्वास्थ्य, अर्थतन्त्र, खानेपानी, जलवायु परिवर्तनजस्ता राष्ट्रिय जीवनका विभिन्न क्षेत्रसहित नागरिकका दैनिक समस्या र जनजीविकासम्बन्धी विषयमा आपसी संवाद र छलफललाई निरन्तरता दिन शीर्ष नेताहरूलाई राष्ट्रपतिले आग्रह गरेकी थिइन ।
सो अवसरमा राष्ट्रपतिले मित्रराष्ट्र बङ्गलादेशका राष्ट्रपतिबाट त्यहाँका राष्ट्रपिता बंगबन्धु शेख मुजिबुर रहमानको जन्म शतवार्षिकीका अवसरमा बङ्गलादेशको राजधानी ढाकामा आयोजना हुन लागिरहेको कार्यक्रममा सहभागी हुन मैत्रीपूर्ण निमन्त्रणा प्राप्त भएको र निकट भविष्यमा बङ्गलादेशको राजकीय भ्रमण गर्न लागेको उल्लेख गरेकी थिइन ।